News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक निक पोथसले विश्वकपमा साना गल्तीले ठूलो असर पार्ने बताए।
- पोथसले इंग्ल्यान्डविरुद्ध योजना कार्यान्वयन गरेर सफलता पाएको र निरन्तर राम्रो प्रदर्शन आवश्यक रहेको उल्लेख गरे।
- उनले दीर्घकालीन संरचना बलियो बनाउनुपर्ने र खेलाडीमाथि प्रदर्शनको दबाब हुनुपर्ने धारणा राखे।
४ फागुन, मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक निक पोथसले नेपाली टोलीले गल्तीबाट छिटो सिक्न नसकेको स्वीकार गरेका छन्।
खेलअघि आयोजित प्रि–म्याच प्रेस कन्फेरेन्समा बोल्दै पोथसले नेपालसँग पर्याप्त क्षमता भए पनि त्यसलाई निरन्तरता दिन नसकेको बताए।
‘हामीसँग ड्रेसिङ रुममा धेरै सीप छ। तर दुर्भाग्यवश हामी छिटो सिकिरहेका छैनौं। स्कटल्यान्डविरुद्धको खेलमा खेलाडीहरूले प्रतिस्पर्धात्मक खेल देखाउनुपर्छ र एउटै गल्ती पटक–पटक दोहोर्याउनु हुँदैन’ उनले भने।
उनले विश्वकपजस्तो ठूलो प्रतियोगितामा साना गल्तीले पनि ठूलो असर पार्ने बताए। ‘नेपालमा धेरै खेल घरेलु अवस्थामै खेलिन्छ, जहाँ शैलीअनुसार विकेट मिल्छ र कहिलेकाहीँ पूर्ण कार्यान्वयन नगर्दा पनि चल्छ। तर विश्वकपमा त्यस्तो छुट पाइँदैन’ पोथसले स्पष्ट पारे।
इंग्ल्यान्डविरुद्धको प्रतिस्पर्धात्मक खेलको स्मरण गर्दै उनले योजना कार्यान्वयन गरे सफलता मिल्ने उदाहरण रहेको बताए। ‘इंग्ल्यान्डविरुद्ध हामीले योजना राम्रोसँग कार्यान्वयन गर्यौं। तर इटलीविरुद्ध त्यही कुरा दोहोर्याउन सकेनौं। एउटै राम्रो खेलले टोली महान् हुँदैन। महान् टोली भनेको निरन्तर राम्रो प्रदर्शन गर्ने टोली हो’ उनले भने।
नेपाल सुपर–८ मा पुग्न नसके पनि स्कटल्याण्डविरुद्ध जित निकाल्दै सकारात्मक सन्देशसहित प्रतियोगिता टुंग्याउने लक्ष्य रहेको उनले बताए। ‘विश्वकप राम्रो अनुभूति र केही सकारात्मक पक्षसहित सकाउन चाहन्छौं। अगाडि एकदिवसीय क्रिकेट सुरु हुँदैछ, त्यसका लागि पनि लय आवश्यक छ’ उनले थपे।
टोली संरचना र प्राविधिक पक्ष सुदृढीकरणबारे सोधिएको प्रश्नमा पोथासले दीर्घकालीन संरचना बलियो बनाउनुपर्ने धारणा राखे। ‘यदि नेपाली क्रिकेट सुधार गर्न चाहन्छौं भने तलदेखि बलियो संरचना चाहिन्छ। खेलाडीमाथि प्रदर्शनको दबाब हुनुपर्छ। बाहिरबाट मानिस ल्याएर टोलीमा राख्ने हो भने उनीहरूले मूल्य थप्नैपर्छ’ उनले भने।
लगातार तीन हारपछि खेलाडीको आत्मविश्वासबारे बोल्दै उनले हरेक खेलाडी फरक स्वभावको हुने बताए। ‘गुल्शनजस्तो युवा खेलाडीका लागि यो विश्वकपबाट सिकाइ महत्वपूर्ण हुन्छ। केही सिनियर खेलाडीले यसलाई फरक ढंगले हेर्छन्। आत्मविश्वास कसरी आउँछ भन्ने कुरा खेलाडीअनुसार फरक हुन्छ’ उनले भने। साथै प्रशिक्षक र खेलाडीबीच खुला संवाद आवश्यक रहेको उनले जोड दिए।
प्रतिक्रिया 4