+
+
Shares

सब-इन्जिनियर हत्या घटना : कर्मचारीको सुरक्षा माग्दै सर्लाही अदालतको सेवा अवरुद्ध

पूर्वाधार विकास कार्यालयमा कार्यरत सब-इन्जिनियर प्रमोदकुमार यादवको आइतबार राति हत्या भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १७:१६

४ फागुन, मलंगला (सर्लाही) । आइतबार राति अज्ञात व्यक्तिको गोलीबाट सब-इन्जिनियरको हत्या भएपछि त्यसको विरोधमा सोमबार सर्लाही जिल्ला अदालतका कर्मचारीले सेवा अवरुद्ध गरेका छन् ।

जिल्ला अदालतको मूलद्वारमा धर्ना दिँदै कर्मचारीहरूले कर्मचारी सुरक्षाको ज्ञारेन्टी माग्दै सेवा अवरुद्ध गरेका छन् ।

पूर्वाधार विकास कार्यालयमा कार्यरत सिरहा सुखीपुर नगरपालिका-६ वैशाखाका सब-इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवको आइतबार राति हत्या भएको थियो । मलंगवा नगरपालिका-१० स्थित डेरामा बाहिर बोलाएर अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए । उपचारका लागि अस्पताल पुर्‍याउँदा उनको मृत्यु भएको थियो ।

सब–इन्जिनियर यादव आइतबार दिउँसो मात्र बुबाको काजकिरिया सकेर मलंगवा फर्किएको सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काले बताए । घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनले बताए ।

मोटरसाइकलमा आएका व्यक्तिले सब-इन्जिनियर यादवलाई कोठाबाहिर बोलाएर गोली प्रहार गरेको मृतककी श्रीमती पुनम यादवले बताइन् । उनको देब्रे छातीमा गोली लागेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा हत्यामा सानो हतियार (पेस्तोल) प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ ।  हालसम्म गोली प्रहारको कारण खुल्न सकेको छैन ।

मलंगवामा सब-इन्जिनियर यादव श्रीमती र दुई वर्षीया छोरीसँगै बस्दै आएका थिए । -रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?