+
+
Shares

सलमानका पिता सलीम अस्पताल भर्ना, परिवारका सदस्य लीलावती पुगे

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेता सलमान खानका बुबा सलीम खानलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ।
  • सलीम खान २४ नोभेम्बर १९३५ मा जन्मेका हिन्दी सिनेमाका चर्चित पटकथा लेखक हुन्।
  • सलीम-जावेद जोडीले ‘जंजीर’, ‘दीवार’, ‘शोले’, ‘डन’ जस्ता सुपरहिट फिल्मका कथा लेखेका छन्।

मुम्बई । बलिउड अभिनेता सलमान खानका बुबा सलीम खानलाई अस्पतालमा भर्ना गरिएको छ । उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

कुन स्वास्थ्य समस्याको कारण, उनलाई अस्पताल भर्ना गरिएको हो भन्ने औपचारिक जानकारी अहिलेसम्म दिइएको छैन । परिवारका सदस्यहरू भने अस्पताल पुगिरहेका छन् ।

मंगलबार बिहान सलमान अस्पतालमा देखिएका थिए । उनी अस्पतालबाट बाहिर निस्कँदै गर्दा साथमा केही सुरक्षाकर्मी पनि थिए ।

सलमान बाहेक अस्पताल बाहिर सलीमका ज्वाइँ अतुल अग्निहोत्री र आयुष शर्मा पनि देखिएका थिए । बुबालाई भेट्न छोरी अलवीरा पनि अस्पताल पुगेकी छन् ।

सलीमको अवस्थाबारे अहिलेसम्म परिवारका तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । तर उनको अस्पताल भर्ना भएको खबरपछि फ्यान र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।

को हुन् सलीम खान ?

उनको जन्म २४ नोभेम्बर १९३५ मा भएको हो र हालै उनी ९० वर्ष पुगेका छन् । उनी हिन्दी सिनेमाका चर्चित पटकथा लेखकहरूमध्ये एक मानिन्छन् ।

सलीमले आफ्नो करियर अभिनयबाट सुरु गरेका थिए । सन् १९६० को दशकमा ‘बारात’ फिल्मबाट यात्रा सुरु भए पनि उनलाई मुख्यतया साना र सीमित भूमिकाहरू मात्रै मिल्थे । करिब दुई दर्जन फिल्ममा काम गरेपछि उनले अभिनय आफ्नो वास्तविक बल होइन भन्ने महसुस गरे । त्यसपछि उनले लेखनतर्फ मोडिए र पटकथा लेखनमा प्रवेश गरे ।

इन्दौरमा जन्मिएका सलीमले ‘जंजीर’, ‘शोले’ र ‘डन’ जस्ता ब्लकबस्टर फिल्मका कथा लेखेका छन् । २४ नोभेम्बर २०२५ मा उनले आफ्नो ९०औँ जन्मदिन मनाएका थिए ।

फिल्मी दुनियाँमा सलीम-जावेदको जोडी सुपरहिट जोडीमध्ये एक मानिन्छ । भनिन्छ, सलीम विशेषगरी कथा र पात्रको विकासमा केन्द्रित हुन्थे भने जावेद अख्तर संवाद र स्क्रिप्ट लेखनमा ध्यान दिन्थे ।

जावेद अख्तरसँग उनको जोडी ‘सलीम-जावेद’ नामले निकै चर्चित भयो । यस जोडीले ‘जंजीर’, ‘दीवार’, ‘शोले’, ‘डन’ र ‘सीता और गीता’ जस्ता धेरै सुपरहिट र कल्ट क्लासिक फिल्म दिएका छन् । उनीहरूको कथा र संवादले हिन्दी सिनेमाको दिशा नै बदलिदियो र लेखकलाई नयाँ पहिचान र सम्मान दिलायो ।

सलीम-जावेदलाई भारतीय सिनेमाका पहिलो ‘स्टार स्टेटस’ पाएका लेखक मानिन्छ । अमिताभ बच्चनको ‘एंग्री यंग म्यान’ छवि स्थापित गर्न पनि उनीहरूको ठूलो भूमिका रहेको मानिन्छ ।

व्यक्तिगत जीवनतर्फ हेर्दा सलीमले दुई विवाह गरेका छन् । पहिलो विवाह १८ नोभेम्बर १९६४ मा सलमा खान (पहिलेको नाम सुशिला चरक) सँग भएको थियो, जो हिन्दू परिवारबाट हुन् ।

यस विवाहबाट सलमान खान, अरबाज खान, सोहेल खान र अलवीरा खान गरी चार सन्तान छन् । पछि सन् १९८१ मा सलीम खानले अभिनेत्री हेलेन रिचर्डसनसँग विवाह गरे । केही वर्षपछि सलीम र हेलेनले अर्पितालाई धर्मपुत्रीको रुपमा ग्रहण गरे ।

उनका जेठो छोरा सलमान खान हिन्दी सिनेमाका शीर्ष कलाकारमध्ये पर्छन्, भने अरबाज र सोहेल पनि फिल्म उद्योगमा सक्रिय छन् । उनकी छोरी अलवीराको विवाह अतुल अग्निहोत्रीसँग भएको छ, भने अर्पिताको विवाह आयुष शर्मासँग भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?