+
+
Shares

निष्ठा एवं सत्यको ‘विगुल’

आमनिर्वाचनको पूर्वसन्ध्या फाल्गुन ०१ गते ‘रिलिज’ भएको यस चलचित्र दर्शक मतदाताका लागि एक उपहार हुनेछ ।

चरण प्रसाई चरण प्रसाई
२०८२ फागुन ५ गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विगुलले भदौ २३ र २४ को जेनजी विद्रोहका भावनालाई समेटेर राजनीतिक पीडाका कथाहरू प्रस्तुत गरेको छ।
  • चलचित्रले भ्रष्टाचार, कुशासन र राजनीतिक अत्याचारका कारण भोगिएका दु:खहरू उजागर गर्दै युवामा विद्रोहको उत्पत्ति देखाएको छ।

म त्यतिको चलचित्रप्रेमी होइन । मानव अधिकार, समाजिक न्याय तथा राजनीतिक परिघटना मेरो चासो र रुचिका विषय हुन् । यिनकै परिधिमा रहेर यदाकदा आफ्ना विचार राख्ने गर्छु । तथापि ‘हेनुपर्ने’ भनेर सिफारिस भएका चुने गिनेका, कहिलेकाहीँ मनले इच्छाएका वा परिवारको जोडबलमा सिनेमा घरमा गएर चलचित्र हेर्ने गरेको छु । बस्तुगत राजनीतिक आधार बनाएर प्रदर्शन भएको ‘विगुल’ हेरेपछि मनमा लागेका केही कुरा लेख्ने जमर्को गरेको हुँ ।

‘विगुल’ एक राजनीतिक चलचित्र हो । भदौ २३ र २४ को जेनजी विद्रोहका भावनालाई यसले समेटेको छ । राजनीतिमा एक निष्ठावान परिवारका लुकेका कथाव्यथा यसमा भेटिन्छ । एक राजनीतिक परिवारले भोगेका दु:ख, कष्ट एवं अपमानका कहानीमा प्रतिबिम्बित गरेको छ ।

हिंसाको राजनीतिले कलिला मस्तिकमा उत्पन्न घृणालाई प्रभावकरी रूपमा प्रस्तुत गरेको छ । विचारको वकालत गरेको छ । युवाहरूमा उत्पन्न राजनीतिक वितृष्ण तथा विद्रोह कसरी जागृत हुन्छ, देखाइएको छ । भ्रष्टचार तथा कुशासनले जकडिएको प्रशासनबाट भुइँसमाजले खेप्नुपरेका सास्तीलाई उजागर गरेको छ । पत्रकारका इमानदारितामाथि प्रश्न समेत चलचित्रले उठाएको छ । राजनीतिमा व्याप्त सामान्तवाद तथा अत्यचारलाई यसले उदाङ्गो पारेको छ ।

चुनावी गठबन्धन ‘राजनीतिक पीडा’लाई कथाको केन्द्रमा राखिएको छ । सैद्धान्तिक विचलन देखाएको छ । एक निष्ठावान व्यक्तिको राजनीतिक जीवन कसरी समाप्त पारिन्छ ? भन्ने यसमा देखाइएको छ । निरंकुश शासन एवं हिंसात्मक द्वन्द्व समेतका पीडित परिवारको हृदयस्पर्शी कथानक चलचित्र बनेको छ । अभिनेत्री केन्द्रित यस चलचित्रले दण्डहीनता क्षम्य नहुँने सन्देश दिएको छ । जस्तोसुकै पीडादायी परिणाम भोग्नु परेपनि राजनीतिमा ‘प्रश्न सोध्ने अधिकार’ नछोड्न प्रेरणा दिएको छ ।

आमनिर्वाचनको पूर्वसन्ध्या फाल्गुन ०१ गते ‘रिलिज’ भएको यस चलचित्र दर्शक मतदाताका लागि एक उपहार हुनेछ । ‘मतदाता’ शिक्षाको काम पनि यसले गर्ने देखिन्छ । चलचित्रको प्रदर्शनबाट प्राविधिक मतदानको पक्षभन्दा आफ्नो प्रतिनिधि रोज्न नागरिकलाई विवेक पुर्‍याउँन सचेत गराएको छ । मुलुकको भविष्य कोर्न कस्ता दल वा नेताका हातमा शासनको वागडोर सुम्पने हो, त्यसबारे झक्झक्याएको छ । भेडाचालन र अँधा अनुयायी समाजको आँखा खोल्न यो सहयोगी बन्ने विश्वास गर्न सकिन्छ ।

असल राजनीतिक अभ्यासको चेतना फैलाउन एक सकारात्मक चलचित्र ‘विगुल’ बनेको छ । युवाहरूलाई जस्तोसुकै कठिन परिस्थितिमा पनि सत्यबाट विचलित नहुन प्रोत्साहित गरेको छ । यो चलचित्र निर्माता तथा लेखक दिनेश कोइरालाको राजनीतिक जीवनसँग मिल्दोजुल्दो भएको भनिएको छ ।

चुनावी भागवण्डाको राजनीतिले एक इमान्दार राजनीतिक परिवार कसरी तहसनहस हुन्छ, चुनाको टिकट पार्टीले खोसेपछि एक परिवारले समाजमा भोग्नुपरेका बेइज्जतीबाट संवेदनहीन राजनीतिको चित्रण गरेको छ । चुनावी टिकट खोसेको दु:खभन्दा पार्टीको सदस्यता खारेज अझ पीडादायी भएको देखाइएको छ । यसको असह्य पीडाबाट मृत्युसम्म भएको घटना दर्दनाक छ । युवामा विद्रोहको विजारोपण कसरी हुन्छ ? भनेर सत्ताधारीलाई सचेत गराएको छ ।

चलचित्रले उम्मेदवारलाई ‘प्रश्न’ गर्न वकलात गरेको छ । युवाका आवाज बन्द गर्न खोज्दा राजनीतिक विद्रोहले कस्तो हुन सक्छ भनेर सशक्त ढंगबाट प्रस्तुत गर्नु चलचित्रको सवल पक्ष हो । नायिकाको विद्रोहको लडाइँमा साथदिने सहनायकले आफ्नो भूमिकामाथि पूर्णरूपमा न्याय गरेका छन् । कुनै सम्झौताबिना सत्यको साथ दिएका छन् । चलचित्रको भावना र मर्मको केन्द्रमा रहेर कुसल अभिनय गरेका छन् । एक विद्रोही युवाको सशक्त भूमिका निर्वाह गरेका छन् ।

नायिकाका दाजुले हिंसाको विरोध तथा वैचारिक राजनीतिको वकालत गर्दा सशस्त्र समूहको गोलीबाट मृत्यु भएको घट्ना हृदयविदारक छ । त्यसले एक कलिली बालिकाको मनमा गहिरो छाप छोडेको छ । राजनीतिप्रति घृणा जगाएको छ ।

राजनीतमा लागेका बाबुलाई ‘नेताजी’ मात्र देख्ने मानसिकता बनेको छ । छोरा गुमाएका बाबुले छोरीको सान्निध्य नपाउँदाको दृश्यले मार्मिक अनुभूति हुन्छ । हिंसाको राजनीति निषेध गर्न संदेश दिएको छ । बाबु–छोरीबीचको ‘ल्यान्ड लाइन’ टेलिफोन संवादले दर्शकलाई भावुक बनाउँछ । विचारको राजनीतिमा विश्वास राख्ने छोराको हत्या, पार्टीको कारवाहीमा पर्दा पतिको मृत्यु र छोरीले विद्रोहको बाटो लिएबाट नायिकाकी आमामाथि परेको बज्रपात मर्मस्पर्शी छ ।

चलचित्रले ‘सत्य र न्याय’को पक्षमा विगुल फुकेको छ । राजनीतिक परिवर्तनका संवाहक ‘युवा शक्ति’ भएको स्वीकारेको छ । व्यापक जनचेतनाका लागि आधुनिक युगमा समाजिक सञ्जाल प्रभावकारी भएको देखिन्छ । जेनजी पुस्ताको आन्दोलनमा देश–विदेशमा छरिएका नेपालीलाई सञ्चार प्रवाह गर्न उपयोगी भएको देखाइएको छ ।

सेवाग्राहीले नागरिकता, पासपोर्ट जस्ता अत्यावश्यक सेवा लिन सरकारी कार्यलयबाट पाएका दु:ख–सास्तीलाई राजनीतिक परिवर्तनको ‘एजेण्डा’ बनाएको छ । भ्रष्टचारमुक्त तथा सुशासनयुक्त देश बनाउने अभियान यही विन्दुबाट सुरु गरिएको छ । कुशासनको जगमा राजनीति नचल्ने निस्कर्ष यस चलचित्रले दिएको छ ।

चलचित्रको मध्यान्तरसम्म ‘एक्सन’ले भरिएका दृश्यले समय बितेको चाल पाइँदैन । छायांकन शसक्त छ । कौतुहलता सिर्जना गरिएको छ । दर्शकलाई बलियो पकडमा राख्न सफल देखिन्छ । मध्यान्तरपछि राजनीतिक दलगत समस्या सुधारको खोजीमा चलचित्र केन्द्रित छ । विद्रोहका आवाज एवं दबाबले गलत राजनीतिक प्रवृत्ति बदल्न खासगरी एक दलका नेता तयार भएको देखिएको छ । पार्टीभित्रको संघर्षभन्दा बाहिरी राजनीतिक दबाबबाट परिवर्तन ल्याएको छ ।

कार्यकर्ताले चाहेका उम्मेदवार चयन गर्ने प्रणाली बनाउन सन्देश दिन नसक्नु (डायरीको सूची थमाउनु) यसको कमजोर पक्ष हो । अदालती दृश्यको छायांकन दर्शकले अपेक्षा अनुरुप पाएनन् ।

मध्यान्तरअधिको पकडले निरन्तरता दिन त्यति सफल देखिएन। तथापि एक सिद्धान्तनिष्ठ तथा असल नेतालाई देशको राजनीतिक बागडोर सम्हाल्ने जिम्मेवारी निर्वाचनमार्फत दिएबाट चलचित्रको सुखद् अन्त्य भएको छ । दर्शक मनखुस भएर चलचित्र हलबाट बाहिरिने वातावरण बनाएको छ ।

लेखक तथा निर्माता दिनेश कोइरालालाई २०७४ सालको स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरको टिकट दिइएको थियो । स्थानीय कार्यकर्ताको सिफारिसमा उनले टिकट पाएका थिए । तर नेपाली कांग्रेसका तत्कालीन सभापतिले माओवादी पार्टीसँग चुनावी तालमेल गरे । त्यसपछि उनको टिकट खोसिएको थियो । यही कुराको प्रभाव फिल्ममा देख्न सकिन्छ ।

यस घटनासँगै सुरु भएको विद्रोहका आवाजलाई नेतृत्वले अहिलेसम्म मनन नगर्दा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले ‘विशेष महाधिवेसन’ मार्फत नेतृत्व आफ्नो हातमा लिने अवस्था आएको बुझ्न सकिन्छ ।

जेनजी आन्दोलनको मर्म र भावनालाई समेत अंगीकार गरेर गगन थापा सभापतिमा चयन भएसँगै पार्टीमा संस्थागत पुस्तान्तरण भएको छ । नयाँरक्त सञ्चार भएको छ ।  राजनीतिक शुद्धिकरणको सकारात्मक कदम चालेको छ ।

भविष्यमा यसले कतिको निरन्तरता पाउँने हो, त्यो भने हेर्न बाँकी छ ।

लेखक
चरण प्रसाई

जवाफदेहिता निगरानी समितिका लेखक एमनेस्टी इन्टरनेशनलमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?