+
+
Shares

बुर्तिबाङ–ढोरपाटन सडक निर्माणले लियो गति

रासस रासस
२०८२ फागुन ५ गते १७:०५

५ फागुन,  बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडक निर्माणले गति लिएको छ । लामो समयदेखि रोकिएको उक्त सडक निर्माणको काम गत मंसिरदेखि धमाधम भइरहेको छ ।

बुर्तिबाङ बजारदेखि ढोरपाटन देउरालीसम्मको २५ किलोमिटर सडक निर्माण दुई खण्डमा भइरहेको छ । रुपन्देहीको सालझण्डीदेखि ढोरपाटन जोड्ने गरी २०७८ सालमा निर्माण थालिएको उक्त सडकले तराई र पहाडलाई जोडेको छ ।

बुर्तिङबाङदेखि फल्लेघरसम्मको २२ किलोमिटर (पहिलो खण्ड) हाल ग्राभेल भइरहेको छ भने फल्लेघरदेखि देउरालीसम्मको (दोस्रो खण्ड) मा कालोपत्रको तयारी छ ।

पहिलो खण्ड २०८० वैशाखसम्म ग्राभेल गरिसक्नुपर्ने भए पनि हालसम्म ६५ प्रतिशत मात्र सम्पन्न भएको काम सकिएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर परीक्षा पौडेलले जानकारी दिए ।

पहिलो खण्ड ग्राभेल गर्न चार वर्ष अगाडि स्वच्छन्द र ओम/बुद्ध जेबीले जिम्मा पाएको थियो । समयमै काम गर्न नसक्दा चार पटक म्याद थप गरिएको छ ।

तीस महिनामा सक्ने गरी २०७८ कात्तिकमा सम्झौता भएको इन्जिनियर पौडेलले बताए । अहिले सडक फराकिलो बनाउने, कल्भर्ट निर्माणलगायत काम भइरहेको छ । २५ करोड ६१ लाख रुपैयाँको लागतमा सो सडक स्तरोन्नति भइरहेको छ ।

‘पहिलो खण्डको काम यसअघिदेखि नै सुस्तरुपमा भएको थियो, अहिले निमाण कम्पनीले गति बढाएको छ,’ इन्जिनियर पौडेलले भने ।

दोस्रो खण्ड कालोपत्र गर्न गत असारमा सम्झौता भएकामा हाल धमाधम भइरहेको छ । उक्त खण्ड कालोपत्र गर्न ‘पिटीआर अधिकारी कन्स्ट्रक्सन’सँग १६ करोड ४८ लाख रुपैयाँमा सम्झौता भएको इन्जिनियर पौडेलले बताए ।

अहिले सडक फराकिलो बनाउने, नाला निर्माणलगायत काम भइरहेको छ । आगामी २०८४ असारसम्म सक्नुपर्ने काम हालसम्म १२ प्रतिशत मात्र सम्पन्न भएको उनले बताए ।

२०६८ मा रूपन्देहीदेखि सुरु भएको उक्त सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पा हुँदै ढोरपाटनसँग जोडिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?