फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि अछाम जिल्ला निर्वाचन क्षेत्र १ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार भीम रावल अछामबाट लखेटिएको भन्दै एउटा भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएको छ । तर हामीले गरेको तथ्य जाँचमा भीम रावल लखेटिएको दाबी पुष्टि हुने देखिएन ।
के हो दाबी ?
नेकपा एमालेको समर्थनमा निरन्तर फेसबुक पोष्ट सार्वजनिक गरिरहने लक्ष्मण धामी नाम गरेका ३६ हजार फलोअर्स रहेको फेसबुक प्रयोगकर्ताले फेब्रुअरी ८ को दिन अछाममा भीम रावल लखेटिएको दाबीसहितको १० सेकेन्डको भिडियो सार्वजनिक गरेका छन् ।
भिडियोमा व्यक्तिहरू हुलहुज्जत गरिरहेको देखिन्छ । भिरालो ठाउँबाट हुलहुज्जत गर्दै तलतिर झर्दै गरिरहेको दृश्यमा धूलो उडेको देखिन्छ भने अलि तल केही भौतिक संरचना र पारिपट्टि पहाडसमेत देखिन्छ ।
भिडियोमा दाबी गरिएजस्तो अछाम १ का उम्मेदवार भीम रावललाई भने देख्न सकिँदैन । यो तथ्य जाँचको समयसम्म भिडियो क्लिपले ९ हजार ७ सय पटक रियाक्ट पाएको छ भने ६ सय ९३ पटक कमेन्ट पाएको छ । पोष्टले ६३४ पटक सेयर पाएको छ भने १३ लाख पटक भिडियोलाई हेरिएको छ ।
हेर्नुहोस् लक्ष्मण धामी नाम गरेका फेसबुक प्रयोगकर्ताले गरेको पोष्टको स्क्रिन सट

लक्ष्मण धामीको पोष्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
२६ हजार फलोअर्स रहेको रोशन क्षेत्री नाम गरेका फेसबुक प्रयोगकर्ताले पनि यही दाबीसहित १० सेकेन्डको भिडियो क्लिप सार्वजनिक गरेका छन् । भिडियो पोस्टमा ४०९ पटक रियाक्ट भएको छ भने ४८ पटक कमेन्ट भएको छ । ५६ हजार पटक हेरिएको यो पोष्टलाई १०२ पटक सेयर गरिएको छ ।

भिडियोको ओरिजिनल लिंक यहाँ छ भने अर्काईभ लिंक यहाँ छ ।
के हो तथ्य ?
यो भिडियोको तथ्य जाँच गर्नका लागि हामीले भिडियोबाट थुप्रै फ्रेम निकालेर पटक-पटक गुगल रिभर्स ईमेज सर्च गरेर हेर्यौँ । यसको नतिजामा पछिल्ला दिनका पोष्टहरु मात्रै भेटिए । पुराना पोष्ट भेट्न सकेनौँ । ‘भीम रावल’, ‘अछामबाट लखेटिए’ लगायत किवर्ड प्रयोग गरेर गुगलमा एडभान्स सर्च पनि गरेर हेर्यौँ । यसबाट पनि पछिल्ला दिनका भाइरल पोष्टहरु मात्रै भेटिए ।
भीम रावल लखेटिएको समाचार कुनै पनि आधिकारिक सञ्चारमाध्यममा प्रकाशित/प्रसारित भएको फेला पर्न सकिएन ।
त्यसपछि हामीले यो भिडियो एआईमार्फत बनेको हो कि होइन भनेर जाँच गरेर हेर्यौँ । गुगलको synth ID परीक्षण गर्दा नतिजामा यो भिडियोमा एआईको प्रयोग नगरिएको देखियो ।
हेर्नुहोस् गुगलको synth ID परीक्षण गर्दा प्राप्त नतिजा

त्यसपछि हामीले यो विषयमा बुझ्न नेपाल पत्रकार महासंघ अछामका उपाध्यक्ष टेकबहादुर थापा लाई सम्पर्क गर्यौँ । उपाध्यक्ष थापाले अछाममा भीम रावल लखेटिएको कुरामा सत्यता नरहेको बताए । भिडियोमा देखिएको भूगोल अछाम जिल्लासँग सम्बन्धित नरहेको भन्दै उनले अरू कतै ठाउँको पुरानो भिडियो प्रयोग गरेर मिथ्या सूचना फैल्याउने प्रयास भएको बताए ।
भाइरल भिडियोबारे हामीले अछामका फोटो पत्रकार एवम् नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा अछामका महासचिव पूर्णबहादुर खड्का लाई पनि सम्पर्क गर्यौँ । उनले पनि अछाममा भीम रावल लखेटिएको दाबीमा सत्यता नरहेको र भिडियो पनि कुनै मेला या पर्वको हुन सक्ने बताए ।
अछाममा कुनै घटना भएको छ कि छैन भनेर हामीले जिल्ला प्रहरी कार्यालय अछामलाई पनि सम्पर्क गर्यौँ । नेपाल तथ्य जाँचसँग कुरा गर्दै जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालले अछाममा त्यस्तो कुनै घटना नभएको र भीम रावल लखेटिएको दाबीसहितको फेसबुक पोष्टमा पनि सत्यता नरहेको बताए ।
डीएसपी खनालको भनाइ अनुसार उनले पनि भीम रावल लखेटिएको दाबीसहितको भाइरल भिडियो हेरेका रहेछन् । त्यो भिडियो कुनै मेला पर्वको हुन सक्ने भन्दै उनले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार भीम रावल लखेटिएको भनेर गरिएको दाबीमा कुनै सत्यता नरहेको बताए ।
तथ्य जाँच
दाबी : भीम रावल अछामबाट लखेटिएको भन्दै भाइरल भिडियो
दाबीकर्ता : लक्ष्मण धामी, रोशन क्षेत्रीलगायत सामाजिक सञ्जाल प्रयोगकर्ता
तथ्य : अपुष्ट दाबी । अछामबाट भीम रावल लखेटिएको दाबी पुष्टि हुन सकेन। जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ओमप्रकाश खनाल, फोटो पत्रकार एवम् नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा अछामका महासचिव पूर्ण बहादुर खड्का र नेपाल पत्रकार महासंघ अछामका उपाध्यक्ष टेकबहादुर थापाले यो घटना नै नभएको बताएका छन् । भाइरल भिडियो कहाँको हो भनेर हामीले पत्ता लगाउन सकेनौँ ।
–अनलाइनखबर र नेपालफ्याक्टचेकको सहकार्य
(सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौं।)
प्रतिक्रिया 4