+
+
Shares

फिल्मको ‘डिजिटल राइट्स’मा धोकाधडी : एड्भान्स रकम लिएर टाप कस्छन् निर्माता

डिजिटल अधिकार केवल एउटा व्यापारिक सम्झौता मात्र होइन, यो विश्वासको सम्बन्ध हो । निर्माताको सपना र डिजिटल कम्पनीको लगानीबीचको पुल हो ।

रामजी ज्ञवाली रामजी ज्ञवाली
२०८२ फागुन ५ गते १८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डिजिटल कम्पनीहरूले नेपाली फिल्मको डिजिटल अधिकार किन्ने क्रममा निर्मातालाई एडभान्स रकम दिन्छन् तर प्रोजेक्ट अधुरो छाड्ने समस्या बढेको छ।

नेपालमा डिजिटल अधिकार किन्ने ठूला कम्पनीहरूमा ओएसआर डिजिटल, बुढासुब्बा डिजिटल र हाइलाइट्स नेपाल लगायत छन् । यी कम्पनीहरूले नेपाली फिल्मलाई विश्वव्यापी दर्शकमाझ पुर्‍याउन पुलको भूमिका खेल्ने गर्छन् ।

उनीहरूले नेपाली फिल्मलाई केवल हलभित्र सीमित राखेनन्, बरु विश्वभर रहेका नेपाली र अन्तर्राष्ट्रिय दर्शकसम्म पुर्‍याउन ढोका खोले । आज नेपाली फिल्म युट्युबमा करोडौं दर्शकले हेर्न थालेका छन्, जुन पहिले कल्पना गर्न पनि गाह्रो थियो । यसको प्रत्यक्ष फाइदा निर्मातालाई दीर्घकालीन आम्दानीको रूपमा प्राप्त भएको छ ।

तर, यही प्रणालीभित्र अहिले एउटा गम्भीर संकट चुपचाप गहिरिँदै गएको छ । डिजिटल कम्पनीहरूले फिल्म तयार नहुँदै विश्वासका आधारमा निर्मातालाई एडभान्स रकम दिने गर्छन् । त्यो रकम फिल्म निर्माणलाई सहज बनाउने, आर्थिक अभाव कम गर्ने र प्रोजेक्टलाई पूर्णता दिने उद्देश्यले दिइन्छ । तर, पछिल्लो समय ‘एडभान्स रकम’ लिएर फिल्म नदिने, प्रोजेक्ट अधुरै छाड्ने वा सम्पर्कविहीन हुने प्रवृत्ति बढ्दै गएको डिजिटल कम्पनीहरूले गुनासो गरेका छन् ।

ओएसआर डिजिटलका व्यवस्थापक रुपेन्द्र खड्कीका अनुसार डिजिटल अधिकारको सम्झौता पूर्णरूपमा सहमतिका आधारमा हुने गर्छ । कहिलेकाहीँ प्रचार प्रसारको सामग्री मात्र, कहिलेकाहीँ सम्पूर्ण फिल्म, त कहिलेकाहीँ निश्चित अवधिका लागि अधिकार किन्ने गरिन्छ । तर, सम्झौतापछि उत्पन्न हुने व्यावहारिक समस्याले चिन्तित बनाएको छ ।

‘धेरै निर्माताहरूले फिल्मको काम सकिनु अगाडि नै एडभान्स रकम लैजान्छन्–१० लाख, २० लाख, ३० लाखसम्म एडभान्स जाने गर्छ’ उनले भने, ‘तर, वर्षौसम्म पनि प्रोजेक्ट नआउने समस्या छ । कतिपय सम्पर्कविहीन हुने, कतिपय धेरै ढिलो गरेर फिल्म बुझाउने अवस्था छ’

ओएसआर डिजिटलसँग ५०० भन्दा बढी फिल्महरू छन् । जुन आफैंमा ठूलो उपलब्धि हो । यसका लागि ओएसआरले ठूलो जोखिम पनि उठाएको छ । तर, त्यही अनुपातमा आर्थिक जोखिम पनि बढेको छ । खड्कीका अनुसार, विभिन्न निर्माताहरूलाई एडभान्समा दिएको झण्डै डेढ करोड रुपैयाँ हाराहारी रकम अझै फसेको अवस्थामा छ ।

‘फिल्म नबनाउने, काम नसक्ने, वा सम्पर्कविहीन हुने समस्याले आर्थिक जोखिम बढाएको छ । हामी आशा गर्छौं, पाउनुपर्ने प्रोजेक्टहरू छिट्टै प्राप्त हुनेछन्, सम्पर्कविहीन निर्माताहरू पनि सम्पर्कमा आउनेछन्’ उनले भने ।

यो समस्या ओएसआरमा मात्र सीमित छैन । बुढासुब्बा डिजिटलका सञ्चालक नवराज गिरीले पनि त्यस्तै कुरा सुनाए । ‘फटाहाहरू जुन क्षेत्रमा पनि हुन्छन्, हाम्रो क्षेत्रमा पनि छन्’ गिरीले भने, ‘कति रकम फसेको छ भनेर अहिले नखुलाऔं, तर एडभान्स रकम राम्रै गएको छ र धेरै प्रोजेक्ट आउन बाँकी छन् ।’

डिजिटल राइट्सका लागि दिइएको रकम फस्दै जानुको यसको एउटा प्रमुख कारण हो, फिल्म निर्माणमा बढ्दो अव्यवसायिकता । फिल्म निर्माण सिर्जनात्मक प्रक्रिया मात्र होइन, यो आर्थिक जिम्मेवारी पनि हो । तर, कतिपय निर्माताहरूले डिजिटल अधिकारलाई सजिलोगरी पैसा उठाउने माध्यमको रूपमा प्रयोग गर्न थालेको फिल्मवृत्तमा विश्लेषण हुने गरेको छ । फिल्म निर्माणको स्पष्ट योजना नहुँदा, प्रोजेक्ट अधुरै रहने वा पूर्णरुपमा बन्द हुने अवस्था आउँछ । तर, एडभान्स रकम भने फिर्ता हुँदैन । यसले डिजिटल कम्पनीहरूलाई मात्र होइन, सम्पूर्ण उद्योगलाई दीर्घकालीन रूपमा असर गर्न सक्छ ।

यदि डिजिटल कम्पनीहरूले जोखिमका कारण फिल्मको अधिकार किन्ने क्रम घटाए भने के होला ? त्यसले प्रत्यक्ष असर नयाँ र इमानदार निर्माताहरूमा पार्नेछ । किनभने, धेरै निर्माताका लागि डिजिटल अधिकार नै फिल्म निर्माण सुरु गर्ने आधार बन्ने गरेको छ । डिजिटल कम्पनीहरूको लगानीले धेरै फिल्मलाई जन्म दिएको छ । यदि यही लगानी रोकिन थाल्यो भने, नयाँ फिल्म बन्ने क्रम नै प्रभावित हुन सक्छ ।

साइराम पिक्चरका सञ्चालक समशेर श्रेष्ठको अनुभवले यो संकटको गहिराइ अझ स्पष्ट पार्छ । उनको कम्पनीले अहिलेसम्म करिब डेढ सय फिल्मको डिजिटल अधिकार किनिसकेको छ । तर, एडभान्समा गएको झण्डै ३५ लाख रुपैयाँ बराबरको प्रोजेक्ट अझै प्राप्त भएको छैन । ‘पैसा फस्दै गएपछि अहिले फिल्मका राइट्स एकदमै कम मात्रामा किन्ने गरेको उनी बताउँछन् । कतिपय निर्माताहरू एग्रिमेन्ट अनुसार न भ्याट बिल दिन्छन्, न कलाकारहरूले टिडिएस काट्न मान्छन् । ‘पैसा लैजाने र हराउने क्रम बढेपछि जोखिम बढेको छ,’ श्रेष्ठले भने, ‘जब हामी अनुशासित हुँदैनौं, यसले समस्या त जहाँ पनि पार्छ । हामीले पनि त्यस्तै भोग्नुपरेको छ ।’

डिजिटल अधिकार केवल एउटा व्यापारिक सम्झौता मात्र होइन, यो विश्वासको सम्बन्ध हो । निर्माताको सपना र डिजिटल कम्पनीको लगानीबीचको पुल हो । ‘जब यही पुल कमजोर हुन्छ, उद्योगको आधार नै कमजोर हुने एक फिल्म निर्माता बताउँछन् । ‘डिजिटल राइट्स जसरी किनिरहेका छन्, त्यसैगरी हामीले पनि राम्रो प्रोजेक्ट बनाएर दिन सक्यौं भने व्यवसायिकता कायम हुन सक्छ’ ती निर्माता भन्छन्, ‘तर, ठगठागकै शैलीमा प्रोजेक्ट बनाउने र डिजिटल राइट्स बेच्दा एक क्षणका लागि त आम्दानी राम्रो होला तर भविष्यमा हाम्रो भ्यालु घट्दै जान सक्छ ।’ डिजिटल राइट्स बिक्री गरेका फिल्म निर्माताले समयमै प्रोजेक्ट बुझाएमा सबै निर्माताहरू त्यही घानमा नपर्ने उनको भनाइ छ ।

आज नेपाली फिल्म उद्योग विस्तारको चरणमा छ । डिजिटल प्लेटफर्म यसको भविष्य हो । तर, यो भविष्य सुरक्षित बनाउन पारदर्शीता, जिम्मेवारी र व्यावसायिकता अनिवार्य छ । सम्झौता अनुसार काम गर्ने संस्कार विकास भए मात्र डिजिटल बजार बलियो बन्न सक्ने चलचित्र पण्डितहरूको विश्लेषण छ । नत्र, केही व्यक्तिको गैरजिम्मेवार व्यवहारले सम्पूर्ण उद्योगको सम्भावनालाई कमजोर बनाउन सक्छ ।

के हो डिजिटल सर्वाधिकार ?

नेपाली फिल्म उद्योगको आर्थिक संरचना विगत एक दशकमा निकै परिवर्तन भएको छ । पहिले फिल्मको आम्दानीको मुख्य आधार हल प्रदर्शन मात्रै थियो । तर, अहिले डिजिटल प्लेटफर्म—युट्युब, फेसबुक र अन्य इन्टरनेट माध्यम फिल्मको दोस्रो जीवन बनेको छ । यति मात्रै होइन, कतिपय अवस्थामा पहिलो र सबैभन्दा महत्वपूर्ण आम्दानीको स्रोत समेत बन्न थालेको छ । ‘डिजिटल सर्वाधिकार’ निर्माताका लागि एउटा बलियो आर्थिक आधारको रुपमा स्थापित भएको छ ।

केही निर्माताहरूले आजकाल आफ्नै कम्पनीको युट्युब च्यानल बनाउने र फिल्म अपलोड गर्ने गरेका छन् । तर, ‘वाचआवर’ नपुग्दा र कन्टेन्ट नियमित अपलोड हुन नसक्दा केही वर्षपछि आम्दानी बन्द हुने सम्भावना पनि उत्तिकै हुन्छ । सोही कारण चलेका र नियमित अपलोड हुने च्यानल नै आम फिल्म निर्माताका लागि विश्वासिला बन्दैछन् ।
डिजिटल कम्पनीहरूले फेसबुक, युट्युब र अन्य अनलाइन माध्यमबाट प्रदर्शन गर्ने अधिकार विभिन्न स्वरुपमा हुने गर्छ ।

कतिपय अवस्थामा डिजिटल कम्पनीले फिल्म पूर्णरुपमा किन्छन्, कतिपय अवस्थामा निश्चित अवधिका लागि अधिकार लिन्छन्, र कतिपय अवस्थामा मुनाफा साझेदारीको आधारमा काम हुन्छ । यसले निर्मातालाई फिल्म निर्माणकै क्रममा आर्थिक राहत दिने एउटा महत्वपूर्ण माध्यमको रूपमा काम गर्दै आएको छ ।

लेखक
रामजी ज्ञवाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?