+
+
Shares

झापाका मतदातामाझ ओलीले भने- एमाले सिध्याउन आगो लगाए

‘राज्यको सम्पत्ति आगजनी, तोडफोड, लुटपाट गर्नेलाई नेपाली हुँ भन्न शरम हुनुपर्दछ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १८:५५

५ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउन देशमै आगो लगाएको टिप्पणी गरेका छन् । झापा-५ मा प्रतिनिधिसभा उम्मेदवार रहेका अध्यक्ष ओलीले मंगलबार मतदातासँग कुराकानी गर्दै जतिसुकै विरोध गरे पनि एमाले पहिलो दल बन्ने दाबी गर्दै यस्तो बताएका हुन् ।

‘नेकपा एमाले सिध्याउन देशमै आगो लगाए,’ ओलीले भने, ‘एमाले विरोधी शक्तिहरूलाई मैले भन्ने गरेको छु, व्यक्तिहरूलाई मैले भन्ने गरेको छु । कान खोलेर सुने हुन्छ–नेकपा एमाले, फाल्गुन २१ गते हुने निर्वाचनमा पहिलो पार्टी हुन्छ ।’ एमालेले बहुमतै नल्याए पनि कम्तीमा पहिलो पार्टी बन्नेमा ढुक्क रहन उनले नेताकार्यकर्ता र मतदातासँग आग्रह गरे ।

देशमा अराजकता र आतंक मच्चाउनेले नेपाली हुँ भन्न पनि सरम मान्नुपर्ने ओलीले बताए । ‘आगजनी गर्नु, अरूको सम्पत्ति आगजनी गर्नु, सार्वजनिक सम्पत्ति, राज्यको सम्पत्ति आगजनी गर्नु, तोडफोड गर्नु, लुटपाट गर्नु, नेपाली हुँ भन्ने मान्छेलाई सरम हुनुपर्दछ,’ ओलीले भने ।

नेपाली जातिले अर्काको सम्पत्ति लुटपाट गरेर जीविका नचलाउने टिप्पण गर्दै ओलीले भने, ‘नेपाली गरि खाने जाति हो, लुटेर खाने जाति होइन ।’ नेपाली शान्तिप्रिय जाति भएको बताउँदै उनले आगो लगाउँदै कुद्ने जाति नभएको तर्क गरे ।

देशमा आगजनी र लुटपाट मच्चाउनेहरू देशका दुस्मन र आतंककारी भएको पनि ओलीले टिप्पणी गरे । ‘जसले जलाए, ती देशका दुस्मन हुन्, ती आतंककारी हुन् । जसले सिंहदरबार जलाए, जसले संसद् भवन जलाए, सर्वोच्च अदालत जलाए’, ओलीले भने ।

देशका सम्पत्ति जलाएर क्रान्ति नहुने बताउँदै उनले भएका विकास निर्माण जलाउनेले देश बनाउन नखोजेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?