+
+
Shares
एस्प्रेसो– झापाबाट :

अनिर्वाचितहरूले घेरेका ओली-बालेनको घरदैलो

ओली र बालेनमध्ये जसले जिते पनि अनिर्वाचितहरूबाट घेरिने उनीहरुको समान चरित्रले भने हारोस्।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८२ फागुन १ गते १५:२७

अहिले देशकै चुनावहरूको इपिसेन्टर बन्न पुगेको झापा क्षेत्र नम्बर ५ पुगेर फर्केपछि तयार पारिएको एस्प्रेसो शट हो; यो।

अन्यत्र जिल्लाका मान्छेहरू झापालाई एक नम्बर चतुर मान्छे बस्ने जिल्ला भनेर कुरो गरिराख्छन्। तर स्वयं झापा जाँदा भने परिस्थिति भिन्न देखिन्छ। नेता र आम नागरिक बीचको दूरी हेर्दा सिंगै जिल्लालाई कसरी आँखा चिम्लेर बाठो वा औसत भनी सामान्यीकरण गर्नु भन्ने प्रश्न पनि उठ्छ।

यस्तै बेलामा फेरि आइपुगेको छ प्रतिनिधिसभाको चुनाव। झापाको ५ नम्बर क्षेत्रमा उठेका केपी ओली र बालेन भने सांसद बन्न मात्रै होइन, प्रधानमन्त्री नै बन्न आपसमा प्रतिस्पर्धा गर्दैछन्।

चुनावले सबै समस्या समाधान गर्दैन। तर समस्या छन् है भनेर सम्झाउन चाहिं चुनाव जस्तो सजिलो विकल्प अरू नहुँदो रहेछ। एमाले अध्यक्ष ओली र रास्वपा वरिष्ठ नेता बालेन लड्दै गरेको झापा क्षेत्र नम्बर ५ का गाउँबस्ती घुम्यो भने यो कुरो अझै स्पष्ट हुन्छ।

यो साताका केही दिन अनलाइनखबरको टिमले झापाका बस्ती चहार्दा महसुस गरेको थियो– गुनासोहरुका बीच स्थानीयवासीको कनेक्सन् ओलीसँग अझै देखिन्छ तर क्रेज चाहिँ बालेनसँग । यसैकारण हुनुपर्छ– यति बेला ओली सक्दो धेरै आलोचना सुन्ने ध्याउन्नमा छन् । आक्रोश पोख्दै भए पनि अन्तत: मतदाताले आश चाहिँ आफैंसँग गर्नेछन् भन्ने ओलीको बुझाई छ । त्यसैले त उनी जसले जे भने पनि सुनेको सुन्यै छन् ।

अनि बालेनलाई पनि प्रष्टै महसुस छ– स्थानीयका समस्या सुनिसाध्य छैन । सुनेर पनि बुझिसाध्य छैन । अहिले उनी आफ्नो स्टारडमलाई नै खर्च गर्ने मुडमा देखिन्छन् । झापामा अहिले बालेनले जे गरे पनि हिट हुन्छ । केही नगरे पनि उनै हिट छन् । यी दुई उम्मेदवारको हल्लाखल्लाबीच मन्धरा चिमरिया पौडेल, रन्जित तामाङ जस्ता उम्मेदवारको प्रचार प्रसार आफ्नै गतिमा चलिरहेको छ ।

अनुहारभन्दा पर एजेन्डा कतै अलपत्र छन् जसप्रति यी दुवै उम्मेदवार ओली बालेनको कमै ध्यान गएको छ ।

सन्थाल, राजवंशी लगायत आदिवासीहरूमध्ये थुप्रैलाई नागरिकताको प्रमाणपत्र चाहिएको छ। लालपुर्जा, मुआब्जा चाहिएको छ। रतुवा, कन्काई लगायत खोलाले कटान गरेका सम्पत्तिहरूको सुरक्षा चाहिएको छ। सुकुम्बासीहरूको समस्या अझै सुनुवाइ भएको छैन। स्वास्थ्यचौकी र अस्पतालका राम्रा भवन बनेका छन्, तर सेवासुविधा छैन। स्कूल भवन बनेका छन्, तर गुणस्तरीय शिक्षा छैन। एसईईको रिजल्ट मात्रै हेर्‍यो भने पनि झापा ५ को बिजोग अवस्था बुझ्न सकिन्छ। शैक्षिक मूल्यांकनका अरू आँकडा झन् कस्ता होलान् !

यही क्षेत्रमा २०४८ यता सातपल्ट चुनाव लडिसकेका छन् ओलीले। ६ पल्ट जितेका छन्। आठौंपल्ट लड्ने तयारीमा छन्। क्षेत्रमा उनले कतिपय काम नगरेका पनि होइनन्। तब त उनलाई सधैं जितिराख्ने सुविधा प्राप्त थियो।

ओलीलाई आफ्नो गृहजिल्लामा यसअघि कतिसम्म सहज हुने गर्थ्यो भने उनी कतिपल्ट त वारेस पठाएर मनोनयन दर्ता गराउँथे। उनी भुइँतहमा व्यापक लोकप्रिय भएका दिनहरू समेत थिए। तर यस बीचमा उनले कमजोरीका शृंखला तयार पार्दैरहे। अनि त उनलाई देशभरि कतै प्रचार गर्न नगई झापाका घर–घरभित्र पसेर मतका लागि अनुरोध गर्नु परिरहेको छ।

ओलीले गरेका अनेकौं कमजोरीमध्ये चारवटा कमजोरी मुख्य रूपमा उजागर भएका छन्।

एक– ओली पटक पटक पुन: निर्वाचित भइराख्ने सोखमा यसरी मस्त भए कि आम मान्छेका दुःख–पीडा उनका लागि खास लाग्न छाड्यो। बिजनेस टावर र औद्योगिक पार्कको रटना लगाउँदै गर्दा भुइँमान्छेका समस्या उनले चटक्कै भुले।

दुई– ओली यो बीचमा निर्वाचित हुन नसकेकाहरूको घेराबन्दीमा यसरी परेछन् कि, अहिले मतदाताको बीचमा छिरेर यस्ता विषयको समेत जवाफ दिनु परिरहेको छ, जुन विषय उनको जानकारीमै छैन। सुकुम्बासी र बाढीपीडितका समस्याबारे उनको अनभिज्ञता केही दृष्टान्त हुन्।

तीन– उनले जातीय सामुदायिक संवेदनालाई आक्रमण गर्ने गरी के बोलियो भन्ने भेउ नै पाउँदैनन्। कार्यकर्ताले यस्तो नबोल्नु भनेर सम्झाउँदा उल्टै थर्काउँदा रहेछन्– तपाईंहरूले बोल्नुभयो त ? मैले नबोले कसले बोल्छ ? पार्टी बचाउन बोल्नु परेन ? तर ओलीका गुइँठाजन्य अभिव्यक्ति, अनि उनका छौरा महेश बस्नेतको ‘छौराजन्य अभिव्यक्ति’ ले पार्टीको संस्थागत साख नै धर्मराइरहेको कसले सम्झाइदिने ?

चार– ओली जेलेन्स्कीदेखि पपुलिज्म समेतको सैद्धान्तिक भाष्य खडा गर्न खोजिरहेका छन्। तर शक्तिमा हुँदा पुटिन जस्तो बनेको, अनि पपुलिज्म अर्थात् प्रियतावादका नेपाली पितामह उनै ओली भएको निकट विगतको इतिहास सचेत नागरिकले बिर्सने कुरै भएन।

कल्पना गरौं न, व्यक्ति निर्वाचित छ। उसलाई वरिपरिबाट घेरेर बस्नेहरू अनिर्वाचित छन्। लोकतन्त्र तिनैले घेरेर बसेका छन्।

गौरादह र गौरीगन्जका सुकुम्बासी बस्तीमा, अनि चीन–नेपाल औद्योगिक पार्क निर्माणका लागि छुट्याइएको जग्गा आसपासका नागरिक भेट्दा ओली मलिन देखिन्थे। उनलाई एकातिर आफू विगतमा प्रधानमन्त्री छँदा गरेका बाचा पूरा भएको/नभएको एक–एक जवाफ दिनु परिरहेको छ। अर्कातिर स्थानीय पालिकाहरूले गरेका गडबडी समेतमा आफू भागीदार बन्नु परेको छ।

अघि मैले अनिर्वाचितको घेराबन्दी किन भनेको हो भने, ओलीसँगै चुनाव प्रचारमा गएका केही व्यक्तिहरूको नामै किटेर यतिबेला मतदाताहरू उनको आलोचना गरिरहेका छन्। मतदाताले ओलीलाई निर्वाचित गरेका हुन्, तर स्थानीयको विश्वास नै नभएका व्यक्तिहरूको वरिपरि घुमेर बस्नु भनेका होइनन्।

तर ओली त्यस्ता व्यक्तिहरूको वरिपरि केही हप्ता वा महिना होइन, वर्षौं बसे। त्यसैले झापामा यतिबेला ती अनिर्वाचितहरूको होइन, स्वयं ओलीको आलोचना भइरहेको छ। यो कुरा उनी बडो विनयशील देखिंदै सुनिरहेका छन्। चुनावको मुखमा ओलीलाई आफ्नो स्वभाव विपरीत नम्र हुनुपर्ने बाध्यता छ। ओलीको मलीन अनुहारका छेउछाउ तिनै अनिर्वाचितहरू देखिन्छन्।

चारपल्ट प्रधानमन्त्री भएका ओलीले जुन समस्या अहिले झेल्दैछन्, भोलि कथंकदाचित बालेन निर्वाचित भए भने त्यस्तै समस्या नदोहोरिएला भन्न सकिंदैन। किनकि विगतमा काठमाडौं महानगरको मेयर चलाउँदै गर्दा बालेनमाथि कार्यालयको औपचारिक संयन्त्रबाट कम, निजी टिमबाट बढ्ता चलेको आरोप छ। उनले अनिर्वाचितहरूसँग बसेर काम गर्ने परम्परा स्थानीय तहबाटै सुरु गरिसकेका छन्। उपमेयर, वडाध्यक्ष, कर्मचारीहरूसँग उनको ठाकठुक परिनै रह्यो। कार्यशैलीका कारण समस्या चर्किरह्यो, तर समाधान खोज्ने काम भएन।

पार्टी नेताका रूपमा होस् या सांसदका रुपमा– बालेन आफ्नो टिमबाट चल्छन्। रास्वपाको औपचारिक कार्यसमिति र बालेनको सहयोगी टिम छुट्टाछुट्टै ढंगले चलेको स्पष्ट देख्न सकिन्छ। रास्वपाको सम्पर्क कार्यालयमा बालेनको मात्र तस्बिर छ, रविको छैन। याद रहोस्, रास्वपाका कुनै पनि कार्यालयमा रविको फोटो अनिवार्य हुने गर्छ। तर बालेनको सम्पर्क कार्यालयमा रविको कुनै तस्बिर देखिंदैन। खास त फोटो नै राख्नुपर्छ भन्ने केही छैन, तर एकअर्कालाई सक्दो मिनिमाइज गर्ने गतिविधि भने चुनावकै मुखमा पनि देख्नु परिरहेको छ।

यस बीचमा पार्टी सभापति रवि र वरिष्ठ नेता बालेन जसलाई प्रधानमन्त्री नै प्रस्तावित गरिएको छ, उनीहरू बीच एकदमै थोरै मात्र समन्वय भइरहेको बुझिएको छ। फागुन ६ पछिको चुनाव प्रचार योजना, अनि बाचापत्र निर्माणबारे दुई नेताबीच स्पष्ट समन्वय भएको जस्तो महसुस हुँदैन।

व्यक्ति एकातिर छ, विचार अर्कातिर। उम्मेदवार एकातिर छ, पार्टी अर्कातिर। तसर्थ यो हाम्रो राजनीतिक नेतृत्वको कार्यशैली र संस्कृतिको प्रश्न पनि बन्नुपर्छ। किनकि अहिले मतदाताहरू झापामा एमाले होइन, ओलीसँग जवाफ खोजिरहेका छन्। रास्वपा होइन, बालेनको उपस्थितिसँग मतलब गरिरहेका छन्।

चुनावपछि ओली वा बालेनमध्ये कसले जित्नेछन्, वा अरू नै कोही विजेता बन्लान् अहिले नै आकलन गर्नु अहिले हतारो र अपरिपक्व हुन्छ। तर जसले जिते पनि अनिर्वाचितहरूबाट घेरिने ओली–बालेनको उस्तै उस्तै चरित्रले भने हारोस्।

लेखक
बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?