५ फागुन, रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन तीन प्रवृतिबीचको जनमत संग्रह भएको बताएका छन् । जिल्लाको विभिन्न विकट क्षेत्रमा चुनावी घरदैलो गरेर फर्किएका प्रचण्डले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।
उनले जेन्जी युवामाथि भएको हत्या, देश जलाउने प्रवृत्ति र राष्ट्रवादका पक्षमा देश बचाउने शक्तिबीच प्रतिस्पर्धा चलिरहेको बताए ।
विशेषगरी भदौ २३ गते भएको नरसंहार र २४ गतेको आगजनी तथा विध्वंसका घटनालाई गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ थियो । ‘२३ गते साँझ नपुग्दै भएको नरसंहारको हामीले तत्काल विरोध गरेका थियौं। त्यसअघि पनि सरकारका नेतृत्वले गरेका कामको हामीले विरोध गर्दै आएका थियौं’ उनले भने ।
उक्त घटनाप्रति सम्बन्धित पक्षले आत्मसमीक्षा गर्नुपर्नेमा त्यसो नगरी ‘गल्ती भएको छैन’ भन्ने प्रवृत्ति देखिनु खतरनाक संकेत भएको प्रचण्डको भनाइ थियो । ‘गल्ती स्वीकार नगर्ने प्रवृत्ति देखिएको छ। यदि जनताले यसलाई बुझेन भने भविष्यमा फेरि दोहोरिन सक्छ,’ उनले थपे ।
त्यस्तै, भदौ २४ गते भएको आगजनी तथा विध्वंसका घटनामा वामपन्थी तथा लोकतान्त्रिक दलका घरमा आक्रमण भएको उल्लेख गर्दै उनले देशलाई अस्थिर बनाउने शक्तिको इसारामा चल्ने प्रवृत्ति देखा परेको दाबी गरे । ‘त्यो नेपाललाई नियन्त्रणमा राख्न चाहनेहरूको इसारामा चल्ने प्रवृत्ति हो,’ उनले भने ।
प्रचण्डले २३ र २४ गतेका दुवै गलत प्रवृत्तिविरुद्ध आफ्नो पार्टी स्पष्ट रूपमा उभिएको बताए । ‘यी दुवै गलत प्रवृत्तिविरुद्ध हामी नेपाली जनतालाई सचेत गराइरहेका छौं । २३ र २४ गतेका घटना नहोस् र दोहोरिन नदिन हाम्रो पार्टी प्रतिबद्ध छ’ उनले भने ।
उनले हाल देशमा तीन प्रकारका प्रवृत्तिबीच संघर्ष चलिरहेको उल्लेख गर्दै यो अवस्था जनमत संग्रह जस्तो भएको बताए । कुन प्रवृत्तिलाई जिताउने भन्ने निर्णय अब जनताले गर्ने समय आएको भन्दै उनले देश जलाउने, हिंसा र दमन गर्ने प्रवृत्तिविरुद्ध सशक्त अभियान आवश्यक रहेको बताए ।
‘जनताले अब फैसला गर्नुपर्छ। सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रियताको पक्षमा उभिन जरुरी छ। देशको पक्षमा काम गर्न सकिएन भने फेरि दुर्घटनामा पर्न सक्छ,’ उनले भने ।
निर्वाचनबारे भइरहेको ‘फिक्सिङ’को चर्चा अस्वीकार गर्दै उनले निष्पक्ष निर्वाचन भए नेपाली कम्युनिस्ट पार्टी पहिलो शक्ति बन्ने दाबी गरे ।
प्रतिक्रिया 4