News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी टी-२० विश्वकप २०८० मा सुरुवाती तीन खेलमा हार व्यहोरेर समूह चरणबाट बाहिरियो र चौथो खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्यो।
- उपकप्तान दीपेन्द्र सिंह ऐरीले लगातार दुई खेलमा अर्धशतक प्रहार गरी नेपालका लागि टी-२० विश्वकपमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बने।
- कप्तान रोहित पौडेलको कप्तानीमा नेपालले लगातार ६ खेलमा हार व्यहोरेको थियो र उनले चार खेलमा ८३ रन मात्र बनाए।
६ फागुन, मुम्बई । नेपालले तेस्रो पटक आईसीसी टी-२० विश्वकप खेल्दा फेरि समूह चरणबाटै बाहिरियो । सुरुवाती तीन खेलमा लगातार पराजित भएपछि समूह चरणबाट बाहिरिने पक्का भएको नेपालले मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै सान्तवना जित हात पार्यो ।
सुपर ८ पुग्ने लक्ष्य राखेपनि सुरुवाती खेलमा लगातार हारले त्यो लक्ष्य यस पटक पूरा हुन सकेन । ब्याटिङ र बलिङ दुवैमा नेपालको कमजोर प्रदर्शन थियो सुरुवाती खेलमा ।
चौथो खेलमा स्कटल्यान्ड विरुद्ध भने नेपालले सुधारिएको खेल प्रदर्शन गर्दै विश्वकपमा १२ वर्षपछि पहिलो जित हासिल गर्यो । स्कटल्यान्डविरुद्ध बलिङमा सोमपाल कामी चम्किए भने ब्याटिङमा दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल आसिफ शेख गुल्सन झाको योगदान रह्यो ।
दीपेन्द्र सिंह ऐरीले लगातार दुई खेलमा अर्धशतक प्रहार गरे । नेपालले सुपर ८ को लक्ष्य राखेपनि त्यसमा सफल हुन सकेन भने एक खेल जित्दै केही राहत महसुस गर्यो ।
दीपेन्द्रसहित सोमपाल कामी शेर मल्ल जस्ता खेलाडीले व्यक्तिगत उपलब्धि हात पारे । तर नेपाली टिमले विश्वकपजस्तो मन्चमा क्षमताअनुसार भने प्रदर्शन गर्न सकेन ।
यस विश्वकपमा १५ सदस्यमध्ये १४ खेलाडीले खेल्ने खवसर पाए । आरिफ शेख, शेर मल्ल, ललित राजवंशी, लोकेश बम र नन्दन यादवले टी-२० विश्वकपमा डेब्यू गर्ने अवसर पाए ।
नेपाली खेलाडीहरुको प्रदर्शन कस्तो रह्यो समग्र विश्लेषण यस्तो छ ।
रोहित पौडेल

रोहित कुमार पौडेल नेपालका त्यस्ता कप्तान हुन् जसको कप्तानीमा नेपालले दुई पटक टी२० विश्वकप खेल्यो । उनकै कप्तानीमा नेपालले दुई पटक टी२० विश्वकपमा छनोट प्रतियोगिता खेलेर छनोट भएको थियो । नेपाली क्रिकेटमा सफल कप्तानको छबी बनाएपनि टी२० विश्वकपमा भने रोहितको नामम राम्रो रेकर्ड थिएन ।
उनको कप्तानीमा नेपालले खेलेको लगातार ६ खेलमा हार व्यहोरेको थियो । उनी नेपालका लागि टी२० विश्वकपमा सबैभन्दा धेरै खेलमा कप्तानी गर्ने कीर्तिमान रोहितले बनाएपनि प्रदर्शन भने त्यो अनुसार हुन सकेन । टिमको लिडरका रुपमा रहने कप्तान रोहितको प्रदर्शन पनि यस पटक अपेक्षा अनुसार रहेन । अन्तिम खेलमा आएर मात्र स्कटल्यान्ड विरुद्ध जितपछि रोहितलाई राहत मिलेको छ । उनको कप्तानीमा पहिलो जित आफ्नो लागि महत्तवपूर्ण रहेको रोहितले खेलपछि बताए ।
कप्तान रोहितको ब्याटबाट पनि कन्सिस्टेन्सी रन बन्न सकेको छैन । उनले चार खेलमा ८३ रन बनाए ।
पहिलो इंग्ल्याण्ड विरुद्ध ३९ रन बनाउँदै केही सम्भावना देखाएपनि त्यसपछि खेलमा रोहितको ब्याट खासै चल्न सकेन । कप्तानबाट जुन किसिमको ब्याटिङको अपेक्षा थियो त्यो यस पटक पनि उनले देखाउन सकेनन् । रोहितले दोस्रो खेलमा इटलीविरुद्ध २३ रन जोडेका थिए । तर वेस्ट इन्डिजविरुद्ध भने ५ रनमा आउट भए । यस्तै स्कटल्यान्ड विरुद्ध चौथो खेलमा उनी १६ रनमा आउट भए । रोहितले स्कटल्यान्ड विरुद्ध भने बलिङ पनि गर्दै २ ओभरमा १२ रन खर्चेर १ विकेट लिए । स्कटल्यान्डले आक्रमक सुरुवात गरेपछि रोहितले आफैँ बलिङमा आएर ब्रेक थ्रो दिलाएका थिए ।
दीपेन्द्रसिंह ऐरी

उपकप्तान दीपेन्द्र सिंह ऐरीका लागि भने यो विश्वकप केही सम्झनलायक बन्यो । उनले नम्बर ४ मा प्रमोट भएर ब्याटिङ गरे । नेपाली टिमको मुख्य अलराउण्डरको रुपमा खेले । अझ सबैभन्दा महत्वपूर्ण उनले १२ वर्षपछि टी२० विश्वकपमा नेपालका लागि अर्धशतक प्रहार गरे ।
उनी नेपालका लागि विश्वकपमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बने । वेस्ट इन्डिज विरुद्ध उनले बनाएको ५८ रन विश्वकपमा नेपाली खेलाडीको व्यक्तिगत उच्च स्कोर पनि हो । यसअघि सन् २०१४ मा नेपालले बंगलादेशमा टी२० विश्वकपमा डेब्यू गर्दा ओपनर सुबास खकुरेलले ५६ रन बनाएका थिए ।
नेपालला२ १२ वर्षपछि पहिलो जित दिलाउन पनि उनले महत्वपूर्ण प्रदर्शन गरे ।
उनकै अर्धशतकमा नेपालले अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले हराएर १२ वर्षपछि जित निकाल्यो । दीपेन्द्रले टी-२० विश्वकपमा लगातार अर्धशतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी पनि बने ।
यस विश्वकपमा नेपालबाट १०० रन बनाउने पनि पहिलो खेलाडी बनेका दीपेन्द्रले टी२० विश्वकपमा मा नेपालबाट सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । सुरुको तीन खेल खेल्दा उपकप्तान दीपेन्द्र सिंह बाहेक अन्य खेलाडीको ब्याटबाट खासै रन बन्न सकेको छैन । दीपेन्द्रले पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध ४४ रन बनाएका थिए । त्यस खेलमा नेपालको तर्फबाट उच्च स्कोर बनाउने उनै थिए ।
यस्तै दोस्रो खेलमा उनी इटली विरुद्ध १७ रनमा आउट भएका थिए । तेस्रो खेलमा दीपेन्द्रले वेस्ट इन्डिज विरुद्ध ५८ रन बनाएका थिए । उनी टी२० विश्वकपमा टेष्ट राष्ट्र विरुद्ध अर्धशतक बनाउने पहिलो नेपाली ब्याटर बने । उनले सुरुवाती तीन खेलमै ११९ रन बनाउँदै यस संस्करणमा १०० रनको आँकडा पूरा गरेका थिए ।
स्कटल्यान्डविरुद्ध चौथो खेलमा दीपेन्द्रले अविजित रहँदै ५० रन बनाए । उनले चार खेलमा नेपालबाट सर्वाधिक १६९ रन बनाए । यस्तै बलिङमा दीपेन्द्रले चार खेलमा २ विकेट पनि लिए ।
कुशल भुर्तेल

यस विश्वकमा नेपालको ब्याटिङ कमजोर हुनुमा ओपनरहरु चल्न नसक्नु पनि हो । सुरुवाती तीन खेलमा नेपालको ओपनिङ राम्रो रहन सकेन ।
तर समूह चरणबाट बाहिरिएपछि भने ओपनरले अन्तिम खेलमा राम्रो ब्याटिङ गरे । सबैभन्दा बढी अपेक्षा गरिएको ओपनरहरूले खासै रन बनाउन नसक्दा पनि नेपालले सुरुको तीन खेलमा हार व्यहोर्नुपर्यो । भुर्तेलले ४ खेलमा गरी ७८ रन बनाए ।
कुशल भुर्तेलल पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध आक्रमक ब्याटिङ गर्दै २९ रन बनाएका थिए । तर त्यसपछिका खेलमा उनी क्रमश: ५ र १ रनमा आउट भए ।
चौथो खेलमा भने कुशलले आफ्नो आक्रमक शैलीमा ब्याटिङ गर्दै ४३ रन बनाए । ३५ बल खेल्दा उनले १ चौका र ४ छक्का प्रहार गरे ।
आसिफ शेख

अर्का ओपनर आसिफ शेखको प्रदर्शन पनि त्यस्तै रह्यो । अझ आसिफले सुरुवाती तीन खेलमै खासै रन जोड्न सकेनन् । उनले चार खेलमा कूल ७१ रन जोडे ।
पहिलो खेलमा आसिफ ७ रनै आउट भएका थिए । त्यसपछि दोस्रो खेलमा २० र तेस्रो खेलमा ११ रन बनाएर आउट भए ।
चौथो खेलमा भने आसिफले पनि भुर्तेलसँग साझेदारी ब्याटिङ गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर पाएको सुरुवातलाई ठूलो स्कोरमा लैजान सकेनन् । स्कटल्यान्ड विरुद्ध उनले ३३ रन बनाए ।
विकेटपछाडी पनि आसिफ खासै प्रभावकारी देखिएनन् । उनले इंग्ल्याण्ड र स्कटल्यान्ड विरुद्ध १-१ क्याच मात्र गरे ।
आरिफ शेख

आरिफ शेखलाई विशेषगरी एकदिवसीय फर्म्याटमा लागि सुहाउने खेलाडीको रुपमा हेरिन्छ । तर पछिल्लो समय उनले टी-२० मा पनि राम्रो खेल्दै आएका छन् । टी२० विश्वकप छनोट र घरेलु क्रिकेट एनपीएलमा राम्रो प्रदर्शन गरेपछि आरिफ शेख पहिलो पटक टि२० विश्वकप खेल्ने टिममा परेका हुन् । उनले पाँचौ नम्बरमा ब्याटिङ गर्दै चार खेलमा रन बनाए ।
पहिलो खेलमा इंग्लयाण्ड विरुद्ध १० रनमा आउट भएका आरिफले दोस्रो खेलमा इटलीविरुद्ध २७ रन बनाएका थिए । जुन इटलीविरुद्ध नेपालकी खेलाडीको व्यक्तिगत उच्च स्कोर थियो ।
त्यसपछि वेस्ट इन्डिज विरुद्ध उनी २ रनमै आउट भए ।
लोकेश बम

यसै संस्करणबाट टी२० विश्वकपमा डेब्यू गरेका लोकेश बमले पहिलो खेलमै इंग्लयाण्ड विरुद्ध आक्रमक ब्याटिङ गरेर चरच् कमाएपनि त्यसपछि उनको ब्याट खासै चल्न सकेन ।
लोकेश बमले पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध अविजित ३९ रन बनाउँदै सबैको प्रंशसा पाएका थिए । उनले उक्त खेलमा २० बल खेल्द ४ चौका र२ छक्का प्रहार गरेका थिए । जोफ्रा आर्चर विरुद्ध उनको लगातार छक्काले ठूलो चर्चा पाएको थियो । तर त्यसपछि उनी इटलीविरुद्ध ३ र वेस्ट इन्डिजविरुद्ध १३ रनमा आउट भए ।
उनका लागि यो विश्वकप अनुभव बटुल्ने र मिश्रित खालको रह्यो ।
गुल्सन झा

नेपाली टिममा गुल्शन झाबाट पनि ब्याटिङमा ठूलो अपेक्षा थियो । तर सातौं नम्बरमा ब्याटिङ पाएका यी बायाँहाते खेलाडीले अपेक्षा अनुसार ब्याटिङ गर्न सकेनन् ।
गति र उचाई भएपनि गुल्सनले विश्वकपभर कुनै खेलमा पनि बलिङ गरेनन् । उनको बलिङ हेर्ने समर्थकको चाहना अधुरै रह्यो । विशेषगरी गुल्सनलाई ब्याटरकै रुपमा खेलाइएको थियो तर उनले त्यसमा न्याए गर्न सकेनन् ।
सुरुवाती तीन खेलमा गुल्सनले सातौं नम्बरमै ब्याटिङ गरे । गुल्शन पहिलो खेलमा ३ र दोस्रो खेलमा १ रनमै आउट भएका थिए भने वेस्ट इन्डिज विरुद्ध डबल डिजिट (११)मा स्कोर गरेका थिए ।
चौथो खेलमा स्कटल्यान्ड विरुद्ध भने गुल्सन पाँचौ नम्बरमा ब्याटिङमा आएका थिए । यस खेलमा भने उनले उपपक्तान दीपेन्द्र सिंह ऐरीसँग मिलेर राम्रो ब्याटिङ गरे । गुल्सनले अविजित २४ रन बनाए ।
नेपाली टोलीमा एक मात्र बायाँ हाते ब्याटरको रुपमा रहेका गुल्शनबाट यस पटक निराशाजनक प्रदर्शन भयो । उनी आफैपनि आफ्नो प्रदर्शनबाट सन्तुष्ट थिएनन् । गुल्सनलाई टिम व्यवस्थापनले पनि उनको रोल अनुसार खेलाउन नसकको विश्लेषकहरुको भनाई थियो ।
सन्दीप लामिछाने

सन्दीप लामिछानेले पनि लगातार दोस्रो पटक विश्वकप खेल्दा ठूलो अपेक्षा गरिएको थियो । उनीसँग विश्वभरका एक दर्जन जति फ्रेन्चाइज लिग खेलेको अनुभव छ । नेपाल प्रिमियर लिग (एनपीएल) दवस्रो सिजनमा मा सर्वाधिक १७ विकेट लिएका सन्दीपले त्यसपछि बंगलादेश प्रिमियर लिग पनि खेले । उनी सम्मिलित टोली राजशाही वारियर्सले उपाधि पनि जित्यो ।
सन्दीपबाट टी२० विश्वकपमा ठूलो अपेक्षा थियो । तर मुम्बईको वानखेडे स्टेडियममा सन्दीपको गुग्ली जादु खासै देख्न पाइएन । उनले चार खेल खेल्दा जम्मा १ विकेट मात्र लिए । हुनत उनले यसअघि इन्डिन प्रिमियर लिग समेत खेलिसकेका थिए । विश्वकै नाम चलेका खेलाडीहरुसँग फ्रेन्चाइज रुममा ड्रेसिङ रुम सेयर गर्ने देखि लिएर विपक्षी टिममा खेल्ने उनले यस पटक नेपालका लागि राम्रो खेल्न सकेनन् ।
पहिलो खेलमा इंग्लयाण्ड विरुद्ध ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिएका सन्दीपले त्यसपछि ट्टीन खेलमा विकेट लिन सकेनन् । इटली विरुद्ध ३ ओभरमा ३१ र वेस्ट इन्डिज विरुद्ध ३ ओभरमा ३८ रन खर्चँदै विकेटलेस रहे । इटली विरुद्ध ब्याटिङ पनि गरेका उनले ७ बलमा ५ रन बनाए । स्कटल्यान्ड विरुद्ध अन्तिम खेलमा उनले ३ ओभरमा बलिङ गर्दा २९ रन खर्चेर विकेटलेस रहे ।
नन्दन यादव

मिडियम पेसर नन्दन यादवले पहिलो पटक टी२० विश्वकप खेलेका हुन् । उनले नेपालको चारै खेलमा पहिलो रोजाईँमा रहेर खेल्ने अवसर पाए । नन्दनले ४ खेलमा ५ विकेट लिए ।
नन्दनले पहिलो खेलमा इंग्ल्याण्ड विरुद्ध केही प्रभाव देखाएका थिए । उनले ३ ओभर बलिङ गर्दा २५ रन खर्चेर २ विकेट लिएका थिए । जोस बटलर र कप्तान ह्यारी ब्रुकलाई आउट गरेका नन्दनले चार ओभर कोटा भने बलिङ गर्न पाएनन् । उनले दोस्रो खेलमा इटली विरुद्ध १ ओभरमा मात्र बलिङ पाए जसमा १२ रन खर्चिए भने विकेट लिन सकेनन् ।
यस्तै ब्याटिङ भने उनी खाता नखोली आउट भए । तेस्रो खेलमा वेस्ट इन्डिज विरुद्ध नन्दनले ३ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । वेस्ट इन्डिज विरुद्ध ९ विकेटको हारमा नन्दनले मात्र नेपालका लागि १ विकेट लिएका थिए ।
यस्तै स्कटल्यान्ड विरुद्धको खेलमा उनले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।
करण केसी

नेपाली टोलीमा अनुभवी सदस्यको रुपमा रहेका मिडियम पेसर करण केसीको लागि टी-२० विश्वकप बिर्सनलायक बनिरहेको छ । उनको नामम एउटा यस्तो खराब कीर्तिमान छ कि जसले उनलाई झस्काइरहन्छ । करण दुई पटक टी२० विश्वकप खेल्दा पनि विकेटविहिन छन् ।
सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टी२० विश्वकप खेलेका करणले २ खेल खेल्दा विकेट लिन सकेनन् । यस संस्करण सुरुवाती तीन खेलमा पहिलो रोजाइमा अवसर पाएका उनी फेरि विकेटविहिन रहे । बरु उनले ब्याटिङमा तीन खेलमा २० रन बनाए । इंग्ल्याण्ड विरुद्ध ३ ओभरमा ३५ रन, इटली विरुद्ध २ ओभरमा २१ रन र वेस्ट इन्डिज विरुद्ध २ ओभरमा १२ रन खर्चिए ।
ब्याटिङतर्फ पहिलो खेलमा इंग्लयाण्ड विरुद्ध १ रनमा अविजित रहेका करणले दोस्रो खेलमा इटली विरुद्ध अविजित १८ रन बनाएका थिए । त्यसपछि वेस्ट इन्डिज विरुद्ध तेस्रो खेलमा १ रनमा आउट भए ।
सोमपाल कामी

नेपाली टोलीको सबैभन्दा अनुभवी खेलाडीको रुपमा रहेर मडियम पेसर सोमपाल कामीले तेस्रो पटक टी-२० विश्वकप खेल्दै कीर्तिमान बनाए । उनको लागि यो विश्वकप मिश्रित रह्यो । नेपालका लागि तीनै विश्वकप खेल्ने एक्लो खेलाडी बनेर कीर्तिमान बनाएका सोमपालका लागि मैदानमा भने सुखद रहे । उनले आफूले पाएको अन्तिम दुई खेलमा आफूलाई प्रमाणित गरे ।
उनले पहिलो दुई खेलमा हारपछि तेस्रो खेलमा मात्र पहिलो रोजाईँमा खेल्ने अवसर पाए । वेस्ट इन्डिज विरुद्ध खेल्दै सोमपाललले तीन विश्वकप खेल्ने कीर्तिमान बनाएका थिए । उक्त खेलमा ब्याटिङमा अविजित २६ रन बनाएका उनले बलिङमा भने विकेट लिन सकेनन् ।
यस्तै स्कटल्यान्ड विरुद्ध अन्तिम खेलमा पनि पहिलो रोजाईँमा खेलेका सोमपालले नेपालका लागि सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिएका थिए । पहिलो स्पेलमा २ ओभरमा १७ रन खर्चेका सोमपालले दोस्रो स्पेलमा २ ओभरमा ८ रन मात्र खर्चेर डेथ ओभरमा ३ विकेट लिएका थिए ।
ललित राजवंशी

स्पीनर ललितले यस पटक टी२० विश्वकपमा जम्मा एक खेल मात्र खेल्ने अवसर पाए । पहिलो खेलमा इंग्लयाण्ड विरुद्ध बेन्चमा रहेका उनले दोस्रो खेलमा इटली विरुद्ध पहिलो रोजाइमा अवसर पाएपनि त्यसपछिका दुई खेलमा उनी फेरि बेन्चमै रहे ।
इटलीविरुद्धको खेलबाट उनले टी-२० विश्वकपमा डेब्यू गरे । तर उनका लागि त्यो सुखद रहेन । उनले १ ओभर मात्र बलिङ गर्दा १९ रन खर्चिए भने विकेट लिन सकेनन् ।
सन् २०२४ कै विश्वकप खेल्ने टिममा रहेपनि उनले कुनै खेल खेल्ने अवसर पाएनन् । त्यो पर्खाई यसपटक मुम्बईमा पूरा गरेपनि उनका लागि विश्वकप यात्रा सुखद रहन सकेन ।
शेर मल्ल

मिस्ट्री स्पीनरको रुपमा परिचित शेर मल्लका लागि टी२० विश्वकप यात्रा मिश्रित रह्यो । उनले नेपालको पहिलो खेलमै इंग्ल्याण्डविरुद्ध पहिलो रोजाइमा रहेर टी-२० विश्वकपमा डेब्यू गरे ।
त्यति मात्र होइन खेलको दोस्रो ओभरमा आफ्नो बलिङ सुरुवात गरेका शेरले पहिलो बलमै इंग्ल्याण्डका फिल्ड साल्टको विकेट लिएर डेब्यूलाई यादगार बनाए ।
तर उक्त खेलमा उनले ३ ओभरमा १ विकेट लिँदा ३५ रन खर्चिए । डेब्यूपछि शेरले पहिलो रोजाइमा अवसर पाउने अपेक्षा थियो तर त्यसपछिका तीन खेलमा उनी बेन्चमै रहे ।
सन्दीप जोरा

मिडलअर्डर ब्याटर सन्दीप जोरा लगातार दोस्रो पटक टी२० विश्वकप खेल्ने टिममा परेका थिए । तर सन् २०२४ मा जस्तै उनले यस संस्करणमा पनि एक खेल मात्र खेल्ने अवसर पाए ।
नेपाल सुरुवाती तीन खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिएपछि जोराले अन्तिम खेलमा स्कटल्यान्ड विरुद्ध पहिलो रोजाईँमा खेल्ने अवसर पाएका थिए ।
बसिर अहमद

पहिलो पटक टी२० विश्वकप खेल्ने टोलीमा स्थान बनाएका अलराउण्डर बसिर अहमदले कुनै खेलमा अवसर पाएनन् । मुम्बई यात्रामा उनले सबै खेल बेन्चमै बसेर हेरे ।
नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै कुशल मल्लको स्थानमा बसिरले विश्वकपको टिममा स्थान बनाएका थिए ।
प्रतिक्रिया 4