News Summary
Generated by OK AI. Editorially reviewed.- ए स्टार नेपाल बास्केटबल लिग २०२६ आगामी १५ मार्चदेखि लन्डनमा सुरु हुँदैछ र जुलाई ४ सम्म चल्नेछ।
- पुरुषतर्फ ११ र महिलातर्फ ३ टिम गरी कुल १४ टिमले प्रतिस्पर्धा गर्नेछन् र पुरुषतर्फ उत्कृष्ट आठ टोली नकआउट चरणमा प्रवेश गर्नेछन्।
- प्रतियोगिताको उद्देश्य बेलायतस्थित नेपाली युवाको प्रतिभा प्रस्फुटन र समुदायबीच आपसी एकता सुदृढ गर्नु रहेको आयोजकले बताए।
६ फागुन, लन्डन । नेपाल बास्केटबल यूकेको आयोजना तथा ए स्टार फाइनान्सियल सलुशन्स र ए स्टार मोर्गेजेज यूकेको सहकार्यमा पाँचौं संस्करणको ‘ए स्टार नेपाल बास्केटबल लिग २०२६’ आगामी १५ मार्चदेखि सुरु हुने भएको छ ।
जुलाई ४ सम्म चल्ने यस प्रतियोगितालाई यस वर्ष अझ बढी समावेशी र व्यापक बनाइएको आयोजकले जनाएको छ । यस पटकको लिगमा कुल १४ टिमको सहभागिता रहनेछ, जसमा पुरुषतर्फ ११ र महिलातर्फ ३ टिमबीच प्रतिस्पर्धा हुनेछ।
पुरुषतर्फ प्रत्येक टिमले १० वटा लिग खेल खेल्नेछन् भने उत्कृष्ट आठ टोली नकआउट चरण (क्वार्टर–फाइनल) मा प्रवेश गर्नेछन् । महिलातर्फ भने ‘होम एण्ड अवे’ प्रणालीमा प्रत्येक टिमले दुई-दुई खेल खेल्ने र त्यसपछि सिधै फाइनल हुने आयोजकफे जनाएको छ
लिग चरणका खेलहरू फेल्थाम स्प्रिङवेस्ट एकेडेमी र एल्डरशट ग्यारिसनमा सञ्चालन हुनेछन् भने फाइनल खेल ब्रुनेल विश्वविद्यालयमा आयोजना गरिनेछ।
प्रतियोगिताको मुख्य उद्देश्य बेलायतस्थित नेपाली युवाहरूको प्रतिभा प्रस्फुटन गराउनुका साथै समुदायबीच आपसी एकता र सम्बन्ध सुदृढ बनाउनु रहेको नेपाल बास्केटबल यूकेका अध्यक्ष रुपक गुरुङले बताए । उनले यस कार्यमा विमेन्स बलर्स क्लब (डब्लुबीसी) सँग पनि सहकार्य गरिएको जानकारी दिए।
त्यस्तै, लिगका कोअर्डिनेटर एवं प्रशिक्षक सार्थक गुरुङले हरेक आइतबार पाँचवटा खेल सञ्चालन गरिने बताउँदै युवाहरूको उत्साहले गर्दा यो प्रतियोगिता वर्षेनी लोकप्रिय बन्दै गएकोमा खुसी व्यक्त गरे। उनले गत जनवरीमा सम्पन्न अन्डर २३ प्रतियोगितामा देखिएको युवा सहभागिताले आयोजक टोलीलाई थप उत्साहित बनाएको समेत उल्लेख गरे।
कार्यक्रममा लन्डन बरो अफ हन्स्लोका पूर्व मेयर काउन्सिलर बिष्णु गुरुङले युवाहरूलाई लागूऔषध र हिंसात्मक गतिविधिबाट टाढा राख्न यस्ता खेलकुद प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको भन्दै आयोजक र प्रायोजकको सराहना गरे।
यस्तै, मुख्य प्रायोजक ए स्टार फाइनान्सियल सलुशन्सका प्रबन्ध निर्देशक मीन दर्लामी र मोर्गेज एडभाइजर कुमार गुरुङले नेपाली समुदायको व्यक्तित्व विकास र रचनात्मक कार्यमा सहयोग पुर्याउने उद्देश्यले स्थापना कालदेखि नै लिगलाई साथ दिँदै आएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया 4