६ फागुन, बुटवल । गएका निर्वाचनहरूमा रूपन्देही-२ बाट लगातार जित निकाल्दै आएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल यसपटक पाल्पा चढ्न लागेका थिए । एमालेले वितरण गरेको प्रारम्भिक टिकटमा पौडेल पाल्पा-२ मा लड्ने पक्का गरिएको थियो ।
तर, रूपन्देहीका कार्यकर्ताहरूले पौडेलमाथि दबाब बढाए । अन्तत: उनी रूपन्देही–२ मै रोकिए । पुरानै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा रहेका पौडेललाई यसपटक बदलिएर आएको चुनौती सहज छैन । यहीकारण उनी आफ्नो निर्वाचन क्षेत्रमा बढी समय दिइरहेका छन् ।
यसैक्रममा पौडेलले आफ्नो निर्वाचन क्षेत्रमा टोलभेला र घरदैलो गर्दै मतदाताका गुनासा सुनिरहेका छन् । बुधबार उनले सैनामैना नगरपालिकाका करिब एक दर्जन स्थानमा पुगेर टोलभेला गर्दै मतदाताका कुरा सुने, आफ्ना प्रतिबद्धता राखे ।
मतदाताका कुरा सुन्दा पौडेललाई सबैभन्दा बढी अव्यवस्थित वसोवासी र भूमिहीन सुकुमवासीका समस्या पेचिलो रूपमा आइरहेका छन् । पौडेलले सुकुमवासीका समस्या सुन्दैगर्दा आफ्ना पनि गुनासा राखिरहेका छन् ।
पौडेलले भूमिहीन र सुकुमवासीको समस्या समाधानको अन्तिम चरणमा पुगेका बेला अवरोध भएको भन्दै स्वयं गुनासो पोखिरहेका छन् । ‘समस्या समाधानको चरणमा पुगेका बेला कामलाई रोक्ने उद्देश्यले नयाँ सरकारले आयोग खारेज गर्यो,’ उनले गुनासो गर्दै भने, ‘त्यसको विरोधमा मुद्दा परेपछि सर्वोच्च अदालतले उक्त निर्णय बदर गरेको छ । अब काम अगाडि बढ्ने देखिएको छ ।’ एमाले निर्वाचित भएर आए भूमिहीन, सुकुमवासीको समस्या निष्कर्षमा पुर्याइने उनले बताए ।
सैनामैनामा आफ्नै पहलमा प्राकृतिक चिकित्सालय, पर्रोहा परमेश्वर बोलबध धामको पुनर्निर्माण, सैनामैना चक्रपथ, नगर अस्पताल, ज्येष्ठ नागरिक मिलन केन्द्र तथा सामुदायिक विद्यालयका भवन निर्माण भएको पौडेलले दाबी गरे । त्यो भन्दा बाहेक पनि अन्य महत्वपूर्ण पूर्वाधान र योजनामा आफूले काम अगाडि बढाएको उनले बताए ।
सैनामैना-३ गंगानगरको लामीरह क्षेत्रमा बहुउद्देश्यीय जलाशययुक्त बाँध निर्माणका लागि वातावरणीय अध्ययन सम्पन्न भइसकेको र चाँडै ठेक्का प्रक्रिया अगाडि बढ्ने पौडेलले आश्वासन दिए ।
प्रतिक्रिया 4