६ फागुन, काठमाडौं । रुस र युक्रेनबीच जारी युद्ध रोक्न अमेरिकासहित बुधबार भएको त्रिपक्षीय वार्ता विनानिष्कर्ष टुंगिएको छ । स्विट्जरल्यान्डको जेनेभामा अमेरिकी मध्यस्तकर्तामा मंगलबार लामो समयसम्म चलेको वार्ता बुधबार जम्मा दुई घण्टा मात्रै चल्यो ।
वार्तापछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्तामा केही प्रगति भएपनि रुसले कब्जा गरेको भूमि र अन्य केही विषयमा सहमति नजुटेको बताए ।
‘केही आधारभूत काम भएको छ, जुन हामी देख्नसक्छौँ । तर अहिले नै सम्झौतामा पुग्ने कुरा सजिलो छैन,’ जेलेन्स्कीले सञ्चारमाध्यमसँग भनेका छन्, ‘युद्धविराम अनुगमन संयन्त्रसँग सम्बन्धित लगभग सबै मुद्दाहरूमा सहमति भएको छ । तर, युक्रेनको पूर्वी क्षेत्रमा कब्जा गरिएको क्षेत्रको भविष्य र रुसको कब्जामा रहेको जेपोरिजिया आणविक ऊर्जा संयन्त्रको भविष्यको स्थितिसँग सम्बन्धित संवेदनशील मुद्दाहरू समाधान हुन बाँकी छन् ।’
रुसी प्रतिनिधिमण्डलका प्रमुखले वार्ता ‘कठिन’ भएको प्रतिक्रिया दिएका छन् ।
अमेरिकाले लगभग चार वर्षको युद्धको अन्त्यका लागि जोड दिइरहेको छ । रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि पूर्ण रूपमा आक्रमण सुरु गरेको थियो ।
त्यसयता युद्धले हज्जारौँको ज्यान गइसकेको छ । युक्रेनको पूर्वी र दक्षिणी भाग खण्डहर बनेको छ ।
युद्धविरामपछि रुसको कब्जामा रहेको युक्रेनको भूमि कसले पाउने भन्ने विषय सबैभन्दा पेचिलो बनेको छ । रुसले युक्रेनको डोनबास क्षेत्र कब्जा जमाएको छ ।
अमेरिकी दूत स्टिभ विटकफले भने वार्ताबाट निकास निस्किनेमा आशा कायम राखेका छन् । –अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
प्रतिक्रिया 4