६ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा तीन प्रवृत्तिबीच प्रतिस्पर्धा भइरहेको टिप्पणी गरेका छन् । बुधबार रुकुमपूर्वको सिस्ने गाउँपालिकामा मतदातासँग कुराकानी गर्दै प्रचण्डले अहिले विशिष्ट समयमा भइरहेको निर्वाचनमा तीन प्रकारका शक्तिबीच प्रतिस्पर्धा भइरहेको बताएका हुन् ।
‘अहिलेको चुनावमा तीन प्रवृत्तिबीच प्रतिस्पर्धा भइरहेको छ,’ प्रचण्डले भने, ‘भदौ २३ को घटनामा युवाको हत्या गर्ने शक्ति, भदौ २४ मा आगजनी र विध्वंस मच्चाउने शक्ति र सुशासन, गणतन्त्र तथा शान्तिको पक्षमा उभिएको शक्तिबीच जनमत संग्रह भइरहेको छ, अहिले ।’
अब मान्छे मार्ने र आगो लगाउने शक्तिसँग त्यसो गर्नहुन्न भन्ने शक्तिलाई जिताउन-नजिताउने कुरा जनताको हातमा रहेको उनले टिप्पणी गरे । उनले अगाडि भने, ‘मान्छे मार्नुहुन्न, आगो लगाउनु हुन्न, भ्रष्टाचारको अन्त्य गर्नुपर्छ भन्ने प्रवृत्तिलाई जिताउने कि हिंसा र विध्वंसलाई जिताउने भन्ने फैसला जनताले गर्नेछन् ।’
विगतमा आफू प्रधानमन्त्री रहेका बेला सुशासन र भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान नै आउनेगरी काम गरेको पनि प्रचण्डले दाबी गरे ।
अहिलेको निर्वाचन देशलाई दुर्घटनाबाट बचाउन भइरहेको टिप्पणी गर्दै उनले फेरि पनि देश बचाउन जनमतको भूमिका रहने बताए । ‘यो निर्वाचन राष्ट्रका लागि महत्वपूर्ण छ । देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला यही चुनावले गर्छ,’ प्रचण्डले भने ।
प्रतिक्रिया 4