१ फागुन, रुकुमपूर्व । २०५२ साल फागुन १ गते नेपालमा राज्यविरुद्ध सशस्त्र युद्ध सुरु भएको थियो । त्यसको ठीक ३० वर्षपछि प्रमुख कमाण्डर एवम् नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्व पुगेका छन् ।
१० वर्षसम्म चलेको सशस्त्र युद्ध स्मरण गर्दै ‘जनयुद्ध दिवस’ मनाउन नेकपाले रुकुम पूर्वमा विशेष कार्यक्रम आयोजना गरेको छ ।
भूमे गाउँपालिका–२ खाबाङ बगरमा आयोजना गरिएको समारोहमा २५२ शहीद परिवारलाई प्रचण्डले सम्मान गर्ने कार्यक्रम राखिएको छ । शहीद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र स्थानीयसँग भेटघाट गर्दै सशस्त्र क्रान्तिका घटना स्मरण गर्ने नेकपाको तयारी छ ।
रुकुमपूर्व संघीयतापछि बनेको ‘कान्छो जिल्ला’ मात्र होइन, जनयुद्धको उद्गमस्थल र राजनीतिक रूपमा पनि महत्त्वपूर्ण क्षेत्र हो । यही जिल्लाबाट प्रचण्ड २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार छन् ।
युद्धबाट शान्ति प्रक्रियासम्म
तत्कालीन नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गते रुकुमको आठबीसकोट प्रहरी चौकी, रोल्पाको होलरी प्रहरी चौकी, सिन्धुलीगढी प्रहरी चौकी र गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंकमा आक्रमण गर्दै सशस्त्र युद्ध सुरु गरेको थियो । त्यही सशस्त्र युद्धलाई माओवादीले ‘जनयुद्ध’ भन्ने गरेको हो ।
रुकुम (पूर्व र पश्चिम) र रोल्पालाई आधार इलाका बनाउँदै माओवादीले चरणबद्ध रूपमा प्रहरी चौकीहरूमा आक्रमण गरेको थियो ।
२०५३ वैशाख २३ मा रुकुम पूर्वमा पर्ने उपल्लो सेराको छेरावाङमा पहिलोपटक एम्बुसमा परी एक प्रहरीको ज्यान गएको थियो । २०५४ माघ १६ मा क्युवाङमा एम्बुस आक्रमण गरी माओवादीले पहिलोपटक ‘थ्री नट थ्री राइफल’ कब्जा गरेको थियो ।
२०५६ असोज ५ मा महत प्रहरी चौकीमाथि आक्रमण गरी तत्कालीन डीएसपी ठूले राईसहितका प्रहरीहरुलाई नियन्त्रणमा लिएको घटना पनि रुकुमकै इतिहाससँग जोडिएको छ । २०५७ चैतमा रुकुमकोट चौकी आक्रमणमा ३२ प्रहरी र आठ छापामार गरी ४० जनाको ज्यान गएको थियो ।
फुटको डिल र राजनीतिक युटर्न
रुकुमपूर्व केवल सशस्त्र गतिविधिको स्मृति बोकेको ठाउँ मात्र होइन, पार्टीभित्रका महत्त्वपूर्ण निर्णयहरूको साक्षी पनि हो । २०६१ माघमा लावाङमा बसेको माओवादी पोलिटब्यूरो बैठकले डा. बाबुराम भट्टराईमाथि कारबाही गर्ने निर्णय गर्दा पार्टीभित्र ठूलो तरंग पैदा भएको थियो ।
यसपटक प्रचण्ड लावाङ पुगेर त्यही ऐतिहासिक स्थलको भ्रमण गर्ने कार्यक्रम छ ।
प्रचण्डले महतगाउँ र लावाङमा जनभेटघाट सकेपछि चुनवाङ पुग्ने कार्यक्रम छ ।
२०६२ असोजमा चुनवाङमा बसेको केन्द्रीय समिति बैठकले ‘लोकतान्त्रिक गणतन्त्र’को कार्यदिशा पारित गर्दै सशस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिक यात्रातर्फ मोड लिएको थियो ।
बन्दुकबाट ब्यालेटतर्फको त्यो निर्णयले सात दलसँग १२ बुँदे सहमति गर्ने आधार तयार पारेको थियो । त्यसैको जगमा दोस्रो जनआन्दोलन र ‘जनयुद्ध’को संयोजन हुँदै राजतन्त्र अन्त्य, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणाली स्थापना भएको माओवादी नेताहरु बताउँछन् ।
चुनवाङ बैठकको जगमा माओवादी वृहत शान्ति सम्झौतामा आएको थियो । २०६३ मंसिर ५ गते सरकारसँग सम्झौता गर्दै माओवादीले बन्दुक बिसाएको थियो ।
युद्धका नाराबाट विकासको अपेक्षासम्म
विगतमा माओवादीको ‘लालकिल्ला’ भनेर चिनिने रुकुमका डाँडाकाँडामा अहिले युद्धका नाराभन्दा विकासका अपेक्षा बढी सुनिन्छन् । जनयुद्धको केन्द्र बनेको जिल्लामा अहिले शान्ति, रोजगारी, पूर्वाधार र सेवा विस्तारका माग मुखर छन् ।
जनयुद्ध र जनआन्दोलनको जगमा स्थापित उपलब्धि कति संस्थागत भए, कति अधुरा छन् भन्ने बहसबीच प्रचण्डको रुकुमपूर्वको यो भ्रमणलाई राजनीतिक सन्देशका रूपमा हेरिएको छ । हिजोका छापामार र आजका जनप्रतिनिधिबीच उभिएर दिइने सन्देशले नेकपाको आगामी दिशा कता मोडिन्छ भन्ने संकेत पनि गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4