२ फागुन, रुकुम पूर्व । चुनवाङको भेडीडाँडा(रुकुम पूर्व) मा शनिबार नेपाली कम्यनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुग्दा वातावरण निकै भावुक बन्यो ।
चुनवाङ– नेपाली राजनीतिमा युद्धरत् पाइला शान्तितर्फ मोडिएको एक साक्षी गाउँ हो । झन्डै तीन दशकअघि सशस्त्र संघर्षरत् तत्कालीन नेकपा माओवादीको ‘चुनवाङ बैठक’ले नै शान्तिपूर्ण राजनीतिमा जाने निर्णय गरेको थियो ।
२०६२ असोजमा तत्कालीन विद्रोही माओवादीले ‘लोकतान्त्रिक गणतन्त्रका पक्षमा व्यापक मोर्चा कायम गरौँ’ भन्ने नाराका साथ चुनवाङमा केन्द्रीय समितिको बैठक गरेको थियो । त्यही बैठकले माओवादीलाई तत्कालीन सात राजनीतिक दलसँग नजिक जाने बाटो कोरेको थियो । माओवादी विरासत बोक्ने पक्षले त्यो बैठक केवल एउटा पार्टीको आन्तरिक छलफल मात्रै नभएर नेपालमा राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको प्रस्थानविन्दु रहेको दाबी गर्छ ।
माओवादीले गरेको त्यही सशस्त्र संघर्षका सुप्रिम कमान्डर प्रचण्ड चुनवाङ पुग्दा आफ्नो पुरानो आश्रयस्थल पुगे । पहिले आफू र जीवनसंगिनी सीता दाहाल बसेको कोठा अवलोकन गरे । अनि छोरा प्रकाश दाहाल र अन्य सहयोद्धा बसेका घर पनि पुगे ।
अहिले प्रचण्डसँग न पत्नी सीता छिन, न पुत्र प्रकाश नै । सोहीकारण उनी निकै भावुक पनि देखिए । उनले आँसु थाम्न सकेनन्, भावुक हुँदै केहीबेर गीत गुनगुनाए । प्रचण्ड नै विह्वल हुँदा कार्यकर्ता र स्थानीयसमेत स्तब्ध बनेका थिए ।
‘नेपाली क्रान्तिमा उहाँहरू(पत्नी सीता र छोरा प्रकाश)को योगदान र यो भूमि(चुनवाङ)को महत्त्व मेरो जीवनमा सधैँ अमेट छ,’ अवलोकनका क्रममा प्रचण्डले भनेका थिए ।
प्रचण्ड फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार पनि छन् । मतदातासँग भेटघाटका क्रममा उनी चुनवाङ पुगेका हुन् । मतदाता भेटघाटका क्रममा प्रचण्डले रुकुमलाई ‘क्रान्तिको जननी र शान्तिको आधारभूमि’ का रूपमा चित्रण गरे । चुनवाङ बैठकले जनयुद्धलाई लोकतान्त्रिक गणतन्त्रमार्फत शान्तितर्फ डोर्याएको बताउँदै उनले यो जिल्लाले नेपालको आमूल परिवर्तनमा गौरवशाली इतिहास रचेको उल्लेख गरे ।
तीन दिनदेखि रुकुम पूर्वमा रहेका प्रचण्ड शनिबारै चुनवाङको गैरीगाउँ र पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरा पुग्ने कार्यक्रम छ ।
प्रतिक्रिया 4