+
+
Shares

चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १३:३४

७ फागुन, काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न नपाइने स्पष्ट पारेका छन् ।

१० औँ निर्वाचन दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले निर्वाचन आचारसंहिताले मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्न निषेध गरेको बताए ।

उनले कुनै पनि प्रेससँग सम्बन्धित व्यक्ति वा संस्थाले मत सर्वेक्षण गरेर ‘फलानो उम्मेदवार जित्यो’ वा ‘फलानो हार्‍यो’ भनेर अग्रिम घोषणा गर्न नपाइने बताए ।

उनकाअनुसार हाल निर्वाचनका लागि सामाजिक सञ्जाल र प्रेस जगत सबैभन्दा पेचिलो विषय बनेको छ । केही अनलाइन माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले संविधानको धारा १९ अनुसार अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित गरिएको गुनासो गर्दै आयोगसमक्ष विषय उठाएको भए पनि पूर्वसन्ध्यामा मत सर्वेक्षण गरी परिणाम घोषणा गर्दा अन्य प्रतिस्पर्धीको मनोबल घट्ने र मतदातामा भ्रम तथा प्रभाव पर्नसक्ने भएकाले यस्तो कार्य कारबाहीको विषय बन्ने उनले स्पष्ट पारे ।

निर्वाचन आयोगले यस विषयमा शुन्य सहनशीलताको नीति अपनाएको उनको भनाइ छ । उनले सञ्चारमाध्यम तथा संवद्ध व्यक्तित्वहरूलाई मत सर्वेक्षण नगर्न पनि आग्रह गरे ।

उनले सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेको उल्लेख गर्दै आयोगले यस सम्बन्धमा अध्ययन तथा अनुसन्धान गरिरहेको जानकारी दिए । सामाजिक सञ्जालमार्फत कसैको चरित्र हत्या गर्ने वा कसैलाई अतिरञ्जित रूपमा प्रस्तुत गर्ने कार्य गर्न नहुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?