News Summary
Generated by OK AI. Editorially reviewed.- जिम्बाबेले कोलोम्बोमा श्रीलंकामाथि ६ विकेटले जित निकाल्दै आईसीसी टी-२० विश्वकप २०२६ मा आफ्नो अपराजित यात्रा कायम राखेको छ।
- श्रीलंकाले दिएको १७९ रनको लक्ष्य पूरा गर्दा जिम्बाबेका ब्रायन बेनेटले अविजित ६३ रन बनाएर लगातार दोस्रो अर्धशतक पूरा गरे।
- सिकन्दर रजाले २६ बलमा ४५ रन बनाएर खेलको दिशा परिवर्तन गरेपछि जिम्बाबेले १९.३ ओभरमा १८२ रन बनाउँदै जित सुनिश्चित गर्यो।
७ फागुन, काठमाडौं । जिम्बाबेले श्रीलंकामाथि ६ विकेटको रोमाञ्चक जित निकाल्दै आईसीसी टी-२० विश्वकप २०२६ मा आफ्नो अपराजित यात्रा कायम राखेको छ । समूह ‘बी’ मा श्रीलंकाले भने पहिलो हार बेहोर्यो ।
कोलोम्बोमा १७९ रनको लक्ष्य पछ्याएको जिम्बाबेले १९.३ ओभरमा ४ विकेट गुमाउँदै १८२ रन बनाएर शानदार जित हात पार्यो । दुवै टोली यसअघि नै सुपर–८ मा पुगिसकेका भए पनि यो खेलले आगामी चरणअघि लय समात्ने अवसर दिएको थियो ।
पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो । पथुम निसांका उत्कृष्ट लयलाई निरन्तरता दिँदै ६२ रन बनाए भने पवन रत्नायकेले २५ बलमा ४४ रनको महत्वपूर्ण योगदान दिए । जिम्बाब्वेका ग्रेम क्रेमर नेतृत्वको स्पिन आक्रमणले मध्य ओभरमा श्रीलंकालाई नियन्त्रणमा राखेको थियो ।
जवाफमा जिम्बाब्वेले आक्रामक सुरुआत गर्यो । ब्रायन बेनेट र तादिवानाशे मरुमानीले पावरप्लेमा राम्रो साझेदारी गरे । मरुमानी आउट भए पनि बेनेटले निरन्तर आक्रामक खेल प्रदर्शन गर्दै अविजित ६३ रन बनाए, जुन उनको लगातार दोस्रो अर्धशतक हो ।
खेलको निर्णायक क्षणमा सिकन्दर रजाले २६ बलमा ४५ रनको विस्फोटक इनिङ्स खेल्दै खेलको दिशा बदले । उनले महत्वपूर्ण छक्का प्रहार गर्दै श्रीलंकामाथि दबाब बढाए । अन्तिम ओभरमा ८ रन आवश्यक हुँदा टोनी मुन्योङ्गाले छक्का प्रहार गरेपछि बेनेटले विजयी चौका प्रहार गर्दै जित सुनिश्चित गरे ।
यस जितसँगै जिम्बाबे प्रतियोगितामा अपराजित रहँदै सुपर–८ अघि बलियो सन्देश दिएको छ भने श्रीलंकाले पहिलो हार बेहोरे पनि यसअघि नै अर्को चरणमा स्थान सुरक्षित गरिसकेको छ ।
जिम्बाबेले अस्ट्रेलिया र ओमानलाई पराजित गर्दा आयरल्यान्डसँगको खेल वर्षाका कारण हुन सकेन । पूर्वविजेता अस्ट्रेलिया भने श्रीलंकासँग पनि पराजित हुँदै समूह चरणबाट बाहिरिएको थियो ।
प्रतिक्रिया 4