News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंस्थित दशरथ रंगशालामा जारी दोस्रो महिला तथा पुरुष राष्ट्रिय हक्की प्रतियोगिता–२०८२ अन्तर्गत चौथो दिनका खेलहरू सम्पन्न भएका छन्।
- महिलातर्फ गण्डकी प्रदेशले कोशी प्रदेशलाई ४–० गोलअन्तरले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ।
- पुरुषतर्फ कोशी प्रदेशले बागमती प्रदेशलाई ७–० गोलअन्तरले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।
७ फागुन, काठमाडौं । काठमाडौंस्थित दशरथ रंगशालामा जारी दोस्रो महिला तथा पुरुष राष्ट्रिय हक्की प्रतियोगिता–२०८२ अन्तर्गत चौथो दिनका खेलहरू सम्पन्न भएका छन् ।
महिलातर्फ गण्डकी प्रदेशले अपराजित यात्रा कायम राख्दा पुरुषतर्फ कोशी प्रदेशले प्रभावशाली जित दर्ता गरेको छ । महिला तर्फको खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई ४–० गोलअन्तरले पराजित गर्यो ।
गण्डकीका लागि अंकिता अधिकारीले १४औं र ६०औं मिनेटमा दुई गोल गरिन् । २०औं मिनेटमा बुद्धी माया मगर र ३७औं मिनेटमा सीता माया बलले एक–एक गोल थप्दै टोलीको जित सुनिश्चित गरे । उत्कृष्ट प्रदर्शन गरेकी सीता माया बल ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
महिलातर्फकै अर्को खेलमा मधेश प्रदेशले बागमती प्रदेशलाई १–० गोलअन्तरले हरायो । मधेशका लागि ४२औं मिनेटमा प्रीति दासले गरेको गोल नै निर्णायक बन्यो । उत्कृष्ट प्रदर्शनका लागि प्रीति दास ‘प्लेयर अफ द म्याच’ चुनिइन् ।
पुरुष तर्फको खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई ७–० गोलअन्तरले पराजित गर्दै शानदार जित निकाल्यो । कोशीका सुदीप चौधरीले ७औं, ३८औं र ४८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।
लक्ष्मण समारियाले ३७औं र ४४औं मिनेटमा दुई गोल गरे भने कबिराज सञ्जेलले ५०औं र ५९औं मिनेटमा दुई गोल थपे । तीन गोलसहित उत्कृष्ट प्रदर्शन गरेका सुदीप चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
नेपाल हक्की संघ को आयोजनामा भइरहेको प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ । महासचिव सुवर्ण श्रेष्ठका अनुसार शनिबार फाइनल खेल सम्पन्न हुनेछ ।
प्रतिक्रिया 4