+
+
Shares

बालेनलाई ‘ट्राभल विकनेस’, ३ घण्टा सुर्खेतमा उपचार गराएर फर्किएका थिए काठमाडौं

चिकित्सकको सुझावअनुसार शाह बिहीबार सुर्खेतको कार्यक्रम सकेर काठमाडौं आएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १६:१०

८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह बिरामी परेपछि काठमाडौं आएका हुन् । चुनावी अभियानका क्रममा सुदुरपश्चिमको धनगढीको सभा सकेर सुर्खेतको वीरेन्द्रनगर पुग्दा शाह बिरामी परेका थिए ।

बुधबार धनगढीको सभा सकेर रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह सहितको टोली सुर्खेत गएको थियो । सुर्खेतमा बिहीबार रास्वपाले पार्टीको वाचापत्र सार्वजनिक गरेको थियो ।

वाचापत्र सार्वजनिक कार्यक्रममा उनी पनि सहभागी भएर करिब ३ मिनेट भाषण गरेका थिए । तर शाह बुधबार रातिदेखि नै बिरामी भएको र डाक्टरहरूको सल्लाह अनुसार नै काठमाडौं आएको स्रोतले बताएको छ ।

पेट दुख्ने, कमजोरी महसुस हुने र वान्ता हुने भएपछि उनी बुधबार राति नै सुर्खेतको कर्णाली केयर इन्टरनेशनल अस्पतालमा भर्ना भएका थिए । राति ३ बजे अस्पताल गएका शाहले बिहान ६ बजेसम्म अस्पतालमै बसेर उपचार गराएका थिए ।

‘अप्ठ्यारो भएपछि उहाँ राती ३ बजे अस्पताल गएर ६ बजेसम्म बस्नुभएको हो,’ रास्वपाका एक नेताले अनलाइनखबरसँग भने, ‘डाक्टरले ट्राभल विकनेस र खानामा व्यालेन्स नभएकाले कमजोरी भएको भन्दै केही दिन आराम गर्न सुझाव दिनुभएको छ ।’

चिकित्सकको सुझावअनुसार शाह बिहीबार सुर्खेतको कार्यक्रम सकेर काठमाडौं आएका हुन् ।

सुर्खेतको कार्यक्रमपछि रास्वपाको टोली दाङ जाने कार्यतालिका तय थियो । तर दाङमा सभापति लामिछानेमात्रै पुगेका थिए ।

रास्वपाले शनिबार र आइतबारका भैरहवा र पोखरामा तय गरेको चुनावी सभा पनि स्थगित गरेको जनाएको छ । बालेनले स्वास्थ्यलाभ गरेपछि फेरि चुनावी सभाको कार्यतालिका सार्वजनिक गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?