८ फागुन, काठमाडौं । नेपाली कांग्रेसले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार दिनेमाथि अनुशासनको कारबाही गर्ने तयारी गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उठ्ने व्यक्ति, त्यस्ता व्यक्तिका प्रस्तावक र समर्थकलाई पनि अनुशासनको कारबाही गर्ने विषयमा छलफल अघि बढाएको हो ।
पार्टी कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार कपिलवस्तु लगायतका केही जिल्लाबाट अनुशासनको कारबाहीका लागि सिफारिस आएको र सोही विषयमा छलफल भएको हो । अब बस्ने बैठकले के कस्तो कारबाही गर्ने भन्ने निर्णय लिने उनको भनाइ छ ।
समिति संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले समितिको कार्यविधि-२०८२ समेत पारित गरेको छ । त्यही कार्यविधिअनुसार अर्को बैठकबाट उनीहरूलाई अनुशासनको कारबाही गर्ने तयारी कांग्रेसको छ ।
बैठकमा कपिलवस्तु लगायत केही जिल्लामा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका व्यक्ति, निजका प्रस्तावक/समर्थक तथा पार्टी अनुशासन विपरीत क्रियाकलापमा संलग्न सदस्यहरूका सम्बन्धमा समेत छलफल भएको पार्टी मुख्य सचिव दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसबाट कपिलवस्तु–१, सप्तरी–४ र पर्सा ४ मा बागी उम्मेदवार छन् ।
प्रतिक्रिया 4