News Summary
Generated by OK AI. Editorially reviewed.- सहारा क्लब पोखराले १२ वर्षपछि २५औं आहारारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ।
- फाइनलमा सहाराले जावलाखेल युथ क्लबलाई २-० ले पराजित गरेको छ।
- उपाधि विजेताले १४ लाख रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ पुरस्कार पाएका छन्।
९ फागुन, काठमाडौं । आयोजक सहारा क्लब पोखराले २५औं आहारारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ ।
पोखरा रंगशालामा शनिबार भएको फाइनलमा जावलाखेल युथ क्लबलाई २-० ले पराजित गर्दै आयोजक सहाराले १२ वर्षपछि उपाधि जितेको हो ।
सहाराको जितमा मुकुन्द निउरे र ताय दिनियलले एक-एक गोल गरे । २५औं मिनेटमा निउरेले गोल गर्दै अग्रता दिलाएका थिए भने ७३औं मिनेटमा दिनियलले गोल गर्दै अग्रता दोब्बर पारे ।
सहाराले पछिल्लोपटक विसं २०७० सालमा उपाधि जितेको थियो । १२ वर्षपछि फाइनल पुग्दा सहाराले उपाधि जित्न सफल भयो ।
उपाधि विजेता सहाराले १४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता जावलाखेलले ७ लाख १ हजार रुपैयाँमा चित्त बुझायो ।
माघ २७ गतेबाट सुरु भएको गोल्डकपमा १२ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिता सुरु भएको २५औं वर्ष भएकाले यस संस्करणलाई सिल्भर जुब्ली समेत भनिएको थियो ।
सो अवसरमा फ्लडलाइटमा खेल खेलाउने तय भएपनि पहिलो खेलपछि प्राविधिक कारणले खेल दिउँसोलाई नै सारिएको थियो ।
प्रतिक्रिया 4