१२ फागुन, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकामा आजदेखि चैतलो पर्व सुरु भएको छ ।
वडा नं. १ र २ को ठेहे तथा ५ र ६ को सिमकोट गाउँमा यो पर्व मनाइने गरिन्छ ।
वसन्त ऋतुको आगमनका साथै श्रीमानको आयु लामो होस् भन्ने उदेश्यका साथ यहाँका स्थानीयहरूले यो पर्व मनाउने गर्छन् ।
ज्येष्ठताका आधारमा पंक्तिबद्ध भएर ‘बाह्र भाइ मस्टो, नौ दुर्गा भवानी’ को बयानका साथै वसन्तऋतुको चर्चा गरिएको परम्परागत गीतमा महिलाहरू नाच्ने प्रचलन छ ।

सुरुमा देवदेवी पञ्चभूतत्वलाई खुसी पार्न मागल, आरती, चाचडी र चुड्किलाजस्ता पुराना भाका गाएर रमाउने प्रचलन रहेको जानकाल भण्डारीले जानकारी दिइन् ।
२ दिनसम्म लाग्ने मेलामा श्रीमान हुने महिलाहरूले पहेंलो वस्त्र, परम्परागत घाँग्रो, चाँदी, सुनका गहनाका साथमा सजिएर भुवाखाड, चौपाडीमा गई चैतलो (देउडा) खेल्ने गरिन्छ ।
पुरुषले भने च्यालक, बख्खु, उनिउको कम्मल लगायतका परम्परागत पहिरनका साथमा राजा रानी, मान्या, लाक्पा खेल्छन् ।

खार्पुनाथ गाउँपालिका-५ खर्पेलगाउँको चोलाखार भन्ने ठाउँबाट आएको एक राक्षसले १२ फागुनको दिन चैतलो खेलिरहेको समयमा महिलालाई भगाएर लगेको किम्वदन्ती छ ।
त्यसैलाई सम्झिँदै राक्षसले महिलालाई फेरि पनि भगाउन नपाओस् भनि राक्षस भुलाउन भन्दै चैतलो खेलिरहेकै समयमा पुरुषहरूले फोहर कपडा लगाइ खरानी बोकेर छर्कँदै रमाइलो गर्ने प्रचलन छ ।
चैतलो पर्वको पहिलो दिन महिलाहरू चैतलो खेल्ने र पुरुषहरू विभिन्न साँस्कृतिक धान्च्या, मान्या, राजा रानी खेल्नुका साथै छेलो हान्ने प्रतियोगिता सुरु हुने वडा अध्यक्ष देवजङ्ग बोहराले बताए ।

प्रतिक्रिया 4