+
+
Shares
धादिङ बस दुर्घटना :

जेनजी आन्दोलन गरेका रोहित सर्बिया जाँदै थिए, त्रिशूलीमा अस्ताए

२३ भदौको जेनजी आन्दोलनमा सरिक भएका रोहित भारतको बाटो हुँदै सर्बिया जान लागेका थिए । मुलुक निर्वाचनमा होमिँदै गर्दा सर्बिया हिँडेका उनी धादिङ दुर्घटनामा अस्ताए ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ फागुन १२ गते १८:१८

१२ फागुन, पोखरा । रोहित नेपालीले परिवारको आर्थिक अवस्था उकास्न २२ वर्षको कलिलाे उमेरमै के मात्र गरेनन् । पोल्ट्री फार्म चलाए । कुखुरा र अण्डा बेच्दै बजार-बजार डुले । गाडी किनेर गाउँका तरकारी पोखराको बजारसम्म पुर्‍याए ।

तर, बजार व्यवस्थापन गर्न नसक्दा पोल्ट्री फार्म केही समयमै चौपट भयो । पोल्ट्री फार्म र गाडीमा गरेको लगानी डुबेपछि रोहित दाजुभाइ अन्य व्यापार र रोजगारीको अवसर खोज्दै भौंतारिए ।

नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वास मरेपछि रोहित दाजुभाइले निष्कर्ष निकाले– अब केही वर्ष वैदेशतिर संघर्ष गरिहेरौं ।

रोहितका दाइ उपाय खोज्दै युरोपियन देश ग्रिस हान्निए । उनीहरूले सल्लाह गरेका थिए, युरोपियन देश पुगेपछि कम्तीमा जीवन चाहिँ सुरक्षित होला । रोहित भने खाडी मुलुक यूएई पुगे । तर कम्पनी गतिलो परेन, एउटा कामका लागि गएको अर्कै काम गर्नु परेपछि एक वर्षमा स्वदेश फर्किए ।

देशमा भ्रष्टाचार, दलीय कुशासनका विरुद्ध नवयुवाहरूले भदौ २३ र २४ गते गरेको आन्दोलनमा रोहितको आक्रोस पनि मिसियो । दलमा युवा सहभागिता, देशमै उत्पादन र रोजगारीको माग गर्दै उनले पनि सडकबाट परिवर्तनको माग गर्दै नारा लगाए ।

‘उनीसँग देशमै उत्पादन र रोजगारी गर्छु भन्दा खाएको हन्डर–ठक्कर थियो । पोल्ट्री फार्म चलाएर बजारका निम्ति भौंतारिँदा बेहोरेको हैरानीको अनुभव थियो । गाडी किनेर पनि बजार व्यवस्थापन गर्न नसक्दाको आक्रोस थियो,’ रोहितका छिमेकी पदम नेपाल भन्छन्, ‘केही सिप नलागेपछि उनी दुबई पुगे तर त्यहाँ पनि कम्पनीबाट धोका खाएर फर्किए ।’

वर्षौंदेखि आफ्नो परिवारका लागि भनेर बुवा चन्द्रबहादुर भारतको मेघालयमा मजदुरी गरिरहेका छन् । बुवाको श्रम–पसिनासमेत लगाएर पोल्ट्री फर्म चलाउँछु भन्दा रोहित दाजुभाइले लाखौं रुपैयाँ डुबाएका थिए ।

त्यही आक्रोस लिएर परिवर्तनका पक्षमा जेनजी आन्दोलनमा सरिक भएका रोहित मुलुक निर्वाचनमा होमिँदै गर्दा फेरि अर्को देश पुग्ने तरखरमा थिए । आफू जस्तै नवयुवाहरूको आन्दोलनकै कारण उम्मेदवारहरू परिवर्तन र समृद्धिको एजेन्डा लिएर गाउँ छिरिरहँदा रोहित भने दलालको सहयोग लिएर सुरक्षित भविष्यको आशामा देश छाड्दै थिए ।

भारतको बाटो हुँदै सर्बिया भन्ने देश जान हिँडेका उनै रोहित आइतबार राति १ बजे धादिङ दुर्घटनामा सधैंका लागि अस्ताएका छन् ।

रोहित त्यस्ता प्रतिनिधि नवयुवा हुन्, जो देशमा केही गर्छु भनेर गरेको लगानीसमेत डुबेपछि पीडा र देशप्रति आक्रोस पोख्दै विदेशिन लामबद्ध थिए । जसले भारतमा गएर बाबुले वर्षौंसम्म गरेको श्रमको पैसासमेत दाउमा राखेर घाटा खाएका थिए ।

आमाले घरमै चटपट बेचेर कमाएको पैसासमेत उनीहरूमाथि लगानी भएको थियो । दलित परिवारमा जन्मिएकै कारण पनि उनले समाजमा विभेदको चौघेरा नाघ्दै संघर्ष गर्दै भविष्यको खोजी गरिरहेका थिए ।

आफैं गाडीसमेत किनेर बजारमा कुखुरा र अण्डा पुर्‍याउँदा बिचौलियाका कारण मारमा परेका थिए । तिनै युवा अन्तत: दलालमार्फत भारत हुँदै सर्बिया जाने भिसा आएपछि काठमाडौं जाँदै गर्दा धादिङ दुर्घटनामा ज्यान गुमाएका हुन् ।

‘पोखराको एजेन्टले भिसा आइसकेकाले तुरुन्त काठमाडौं जान भनेपछि रोहित नाइट बसमा काठमाडौं हानिएका रहेछन् । धादिङमा भएको दुर्घटनामा प्रहरीले नाम–बतन नखुलेका तर हातमा रोहित नामको ट्याटु खोपिएका युवाको मृत्यु भएको सूची सार्वजनिक गरेको थियो,’ उनका छिमेकी पदमले अनलाइनखबरसँग भने, ‘त्यसपछि धादिङ प्रहरीसँग सोधखोज गरेर तस्वीर मगाएर हेरेपछि यकिन भयो, ती युवा उनै रोहित थिए ।’

हातमा रोहित नामको ट्याटु खोपिएको एक युवाको मृत्यु भएको जानकारी पाउने बित्तिकै उनका साथी तथा आफन्तहरू धादिङतिर गइसकेका रहेछन् । विस्तारै आफन्तले पनि जानकारी पाए र अहिले शव बुझेर पोखराको मणिपाल शिक्षण अस्पतालमा राखिएको छ,’ उनले भने, ‘मेघालयबाट आजभोलिमा रोहितका बाबु आएपछि मात्रै मृत्यु संस्कार गर्ने तयारी छ ।’

छिमेकी र आफन्तले रोहितकी आमा देवकालाई मोबाइल चलाउन दिएका छैनन् । रोहित बिरामी भएर मणिपालमा उपचार भइरहेको बताइरहेका छन् । आफन्तहरूले देवकाको हौसला बढाइरहेका छन् तर घटनाबारे जानकारी दिएका छैनन् ।

‘आफ्नो जीवन नै दाउमा राखेर विदेश हिँडेको छोरो त्रिशूलीमा गाडी दुर्घटना भएर बित्यो भन्दा ती आमालाई कत्रो बज्रपात पर्ला ? उनका बुवा भारतबाट नआउँदासम्म घटनाबारे जानकारी नदिने र मोबाइल तथा सामाजिक सञ्जालसमेत चलाउन नदिने सल्लाह अफन्तले गरेका छन्,’ पदमले सुनाए, ‘बाबुले चाहिँ जानकारी पाइसक्नुभएको छ र आउँदै हुनुहुन्छ ।’

रोहित कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकका हुन् । अहिले गाउँमा रोहितको मृत्युको खबरले सन्नाटा छाएको उनले सुनाए । गाडी चालक साथी भएकाले उनी टिकट नकाटै उनैसँग नाइट बसमा क्याबिनमा बसेर काठमाडौं जाँदै गरेको उनका साथीहरूले बताएका छन् । गाडी चालक पनि आफ्नै क्षेत्र पुरञ्चौरको भएकाले उनी त्यही गाडीमा चढेर काठमाडौं जाँदै गरेका थिए ।

म्यानपावरले सोमबार १० बजे नै कार्यालयमा आउन भनेको र भिसा आइसकेकाले भारत हुँदै सर्बिया जान रोहित घरमा आमासँग बिदा मागेर हिँडेका थिए । तर एक भयानक सडक दुर्घटनाले यो देशका एक प्रतिनिधि युवा रोहितलाई निलेको छ ।

आइतबार पोखराको पर्यटन बसपार्कबाट काठमाडौंका लागि छुटेको ग२ख १४२१ नम्बरको रात्रि बस राति १ बजे पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको हो । जहाँ रोहित, गाडी धनी ओमकुमार श्रेष्ठसहित १९ जनाले ज्यान गुमाएका छन् र २५ जना घाइते भएका थिए ।

‘सरकार र पुराना दलहरूप्रति असन्तोष व्यक्त गर्दै आन्दोलन गरेका रोहित जस्ता नवयुवाकै मागअनुसार देश अहिले चुनावमा होमिएको छ । अर्कोतिर रोहित जस्ता यो देशमा प्रतिनिधि पात्र कसरी पलायन हुँदै र ज्यान गुमाउँदै छन् भन्ने यो घटना हो,’ आफूसमेत खाडीमुुलुक पुगेर फर्किएपछि गाउँमै अगुवाइ गरिरहेका पदम भन्छन्, ‘यी युवाहरूलाई हेरेर पनि दल र तिनका उम्मेदवारले सोचुन्, बुझुन् र अवस्था जानुन् भन्ने लाग्छ । पक्कै ती दल र उम्मेदवारले दुर्घटनामा ज्यानसँगै सपनासमेत गुमाएका ती मानिसहरूको मूल्य बुझुन् ।’

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?