१३ फागुन, डोटी । २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनला लागि डोटीमा एक हजार ७९ कर्मचारी मतदान स्थलमा खटिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय, डोटीले आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले दिएको जानकारी अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीहरुलाई मतदान स्थलमा खटाइसकिएको छ ।
‘जिल्लामा एक अस्थायी सहित एक सय ८१ मतदान केन्द्र रहेका छन्’, मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पाण्डेले भने, ‘प्रत्येक मतदान स्थलमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, ३०० भन्दा माथि मतदाता भएका केन्द्रमा तीन र ३ सयभन्दा कम मतदाता भएका केन्द्रमा दुई सहायक कर्मचारी र प्रत्येक केन्द्रमा एक सहयोगी कर्मचारी खटाइएको छ ।’ जिल्लामा ३०० भन्दा कम मतदाता भएका ७ केन्द्र रहेका पाण्डेले बताए ।
मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि बिहीबार र शुक्रबार तालिम आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी करुणाकर पन्तले जानकारी दिए । उनले मतपत्र र मतदान केन्द्रमा चाहिने सबै सामग्री जिल्लामा पुगिसकेको बताए ।
निर्वाचन शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षा योजना बनाइ कार्यान्वयन भइरहेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिइन् । उनले निर्वाचन भयरहित रुपमा सम्पन्न गर्न सबैलाई आग्रह गरिन् ।
प्रतिक्रिया 4