काठमाडौं । सन् २०२५ को भ्रष्टाचार विरोधी सामाजिक विज्ञापनका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका नेपालका अनुराग पंगेनीलाई काठमाडौंस्थित रसियन दूतावासले सम्मान गरेको छ ।
नेपालका १५ वर्षीय विद्यार्थी अनुराग ‘युवा समाजका दरारहरू सुधार गर्नुहोस्’ शीर्षकको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत १० देखि १५ वर्ष उमेर समूहको प्रतिस्पर्धामा तेस्रो भएका थिए ।
प्रतियोगितामा अल्जेरियाकी फतिमा रावन पहिलो र उज्वेकिस्तानका सोख्जाखोन अब्लुल्लाइभ दोस्रो भएका छन् ।
अनुरागको पोस्टर युवाहरूमाझ इमानदारी, जवाफदेहिता र सामाजिक जिम्मेवारीलाई प्रवर्द्धन गर्ने ‘शक्तिशाली सन्देश र रचनात्मक अभिव्यक्ति’मध्ये एक रहेको भन्दै रुसी दूतावासले भ्रष्टाचारविरुद्धको विश्वव्यापी लडाइँमा अर्थपूर्ण योगदान र युवा नेतृत्वको सामाजिक संलग्नताको प्रेरणादायी उदाहरण भएको बताएको छ ।
आयोजकको तर्फबाट उपलब्ध मेडल प्रदान गर्दै रुसी दूतावासका मिनिस्टर काउन्सिलर रिन्चेन राशेभले अनुरागलाई आगामी दिनमा पनि सिर्जनशील भएर अघि बढ्न सुझाव दिए ।
भ्रष्टाचारविरुद्धको अनुरागले बनाएको पोष्टर विश्वकै युवाहरुका लागि प्रेरणाको स्रोत भएको उनले बताए ।
पुरस्कृत पंगेनीले भ्रष्टाचारविरुद्धको आफूले बनाएको पोष्टरले नेपाली समाजलाई भ्रष्टाचारले भाँचिएको कमजोर सिसाको संरचनाको रूपमा देखाएको बताए ।
प्रतिक्रिया 4