News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको रत्ननगर नगरपालिका–८ स्थित माझी, मुसहर टोलमा निर्वाचनको रौनक छैन र कुनै उम्मेदवारले मतदाता भेट्न आएका छैनन्।
- माझी टोलका स्थानीय बासिन्दालाई मतदान गर्ने तरिका थाहा छैन र मतदाता शिक्षा स्वयंसेवक पनि पुगेका छैनन्।
- ज्याला मजदुरी गर्ने समुदायमा शिक्षा, स्वास्थ्य र रोजगारीको अभावले मतदानमा रुचि कम भएको छ।
१४ फागुन, चितवन । देशभर निर्वाचनको माहोल भए पनि यहाँको एक बस्तीमा हालसम्म कुनै किसिमको रौनक देखिएको छैन ।
रत्ननगर नगरपालिका–८स्थित माझी, मुसहर टोल निर्वाचनको रौनकतादेखि टाढा छ । २९ घरपरिवार माझी, मुसहर भएको सो टोलकी अध्यक्ष बासमती माझी निर्वाचन नजिकिए पनि कुनै उम्मेदवारको नजर आफ्नो बस्तीमा नपरेको बताउँछिन् । उनले भनिन्, ‘अहिलेसम्म यहाँका मतदाता भेट्न कुनै उम्मेदवार आउनु भएको छैन ।’
अघिल्ला निर्वाचनमा हरेक दलका उम्मेदवार वा प्रतिनिधि मत माग्न आउँथे । तर यसपटक कोही नआएको उनको भनाइ छ । यसपटकको निर्वाचनमा यहाँका स्थानीय बासिन्दालाई कुन दलबाट को उम्मेदवार छन् भन्ने सम्म थाहा छैन । मतदान नजिकिए पनि यहाँ मतदाता शिक्षा स्वयंसेवक आइनपुगेको उनले गुनासो गरिन् ।
ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका यस समुदायमा शिक्षा, स्वास्थ्य र रोजगारीको अभाव छ । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता भएका महेश माझी निर्वाचनको विषयमा कुरा गर्न समेत मान्दैनन् ।
उनलाई मतदान गर्ने रुचीसमेत देखिन्न । उनले भने, ‘मलाई मतदान गर्ने इच्छा नै छैन केको निर्वाचन लाग्नु ?’
‘प्लस टु’ उत्तीर्ण गरे पनि रोजगारी पाउन नसकेपछि अटो भाडामा लिएर चलाउँदै आएका उनीरोजगारी, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी नहुने भएकाले मतदान गर्ने रुचि नभएको उनको भनाइ छ ।
कक्षा १२ सकेर घरमै सीप सिक्दै आउनु भएकी अञ्जली माझी पनि दलका उम्मेदवारहरुले आफ्नो बस्तीलाई बिर्सेको गुनासो गरे । उनले भने, ‘हाल यहाँका मतदातालाई मतदान गर्ने तरिकासमेत थाहा छैन ।’
प्रतिक्रिया 4