+
+
Shares

सिरहामा प्रशासनको आग्रह : होली घरमै मनाउनू

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते ९:५८

१६ फागुन, सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहाले यस वर्षको होली पर्व घरमै शान्तिपूर्वक मनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनकै मुखमा होली पर्व परेकाले मौन अवधिको मर्यादा कायम राख्दै पर्व मनाउन आग्रह गरेका हुन् ।

उनका अनुसार निर्वाचनको मौन अवधिमा होहल्ला, भीडभाड तथा अनावश्यक सवारी साधन सञ्चालन नगरी घरपरिवारमै सीमित रही होली मनाउनुपर्नेछ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै नागरिकको साथ आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

प्रशासनले विशेषगरी मादक पदार्थ सेवन (मापासे), लागुऔषध सेवन (लापासे) गरी सवारी चलाएमा कडा कारबाही गरिने चेतावनी दिएको छ । त्यस्ता सवारी साधन नियन्त्रणमा लिई निर्वाचनको मत परिणाम सार्वजनिक नभएसम्म फिर्ता नदिइने प्रशासनले जनाएको छ ।

निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै सिरहामा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार जिल्लाभर १४ सय नेपाल प्रहरी, ८ सय सशस्त्र प्रहरी बल, ८ सय नेपाली सेना र ३ हजार ७५७ निर्वाचन प्रहरी गरी कुल ६ हजार ७५७ सुरक्षाकर्मी खटाइएको छ।प्रत्येक चौक–चौकमा सुरक्षाकर्मी परिचालन गरिनुका साथै मोबाइल टोलीसमेत सञ्चालन गरिने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?