१६ फागुन । काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आतंककारी शासनले खडा गरेको अस्तित्वगत खतरा हटाउन अभियान सुरू गरेको बताएका छन् ।
इरानमाथि आक्रमण सुरू भएपछि उनले विज्ञप्ति जारी गरेर इरानको आतंककारी शासनले खडा गरेको अस्तित्वगत खतरा हटाउन अभियान सुरू गरेको बताएका हुन् ।
‘मेरा दाजुभाइ तथा दिदीबहिनीहरू, इजरायलका नागरिकहरू, केही समयअघि इजरायल र संयुक्त राज्य अमेरिकाले इरानको आतंककारी शासनले खडा गरेको अस्तित्वगत खतरा हटाउन एउटा अभियान सुरु गरेका छन्,’ नेतन्याहुले भनेका छन् ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऐतिहासिक नेतृत्व लिएको भन्दै धन्यवाद पनि दिएका छन् । ‘म हाम्रो महान् मित्र राष्ट्रपति डोनाल्ड ट्रम्पको ऐतिहासिक नेतृत्वका लागि धन्यवाद दिन चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ ।
इजरायली प्रधानमन्त्री नेतान्याहुले इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले आफ्नै जनतालाई समेत नरसंहार गरेको आरोप लगाएका छन् ।
‘४७ वर्षदेखि आयातोल्लाह शासनले ‘इजरायललाई मृत्यु,’ ‘अमेरिकालाई मृत्यु’ भनेर चिच्याउँदै आएको छ । यसले हाम्रो रगत बगाएको छ, धेरै अमेरिकीहरूको हत्या गरेको छ, र आफ्नै जनतालाई समेत नरसंहार गरेको छ,’ उनले भनेका छन्, ।
नेतान्याहुले इरानलाई आणविक हतियारले सुसजज्जित हुन दिन नहुनेमा पनि जोड दिएका छन् । ‘यो हत्यारा आतङ्ककारी शासनलाई मानवतामाथि नै खतरा पैदा गर्न सक्ने आणविक हतियार प्राप्त गर्न दिनु हुँदैन,’ विज्ञप्तिमा लेखिएको छ, ‘हाम्रो संयुक्त कार्यले साहसी इरानी जनतालाई आफ्नै भविष्य आफ्नै हातमा लिन सक्ने अवस्था सिर्जना गर्नेछ ।’
उनले इजरायली जनतालाई होम फ्रन्ट कमान्डका निर्देशनहरू पालना गर्न पनि आग्रह गरेका छन् । ‘म इजरायलका नागरिकहरूलाई होम फ्रन्ट कमान्डका निर्देशनहरू पालना गर्न आग्रह गर्दछु,’ नेतान्याहुले भनेका छन्, ‘आगामी दिनहरूमा ‘अपरेसन द रोअर अफ द लायन’ अन्तर्गत हामी सबैले धैर्य र साहस प्रदर्शन गर्नुपर्नेछ ।’
प्रतिक्रिया 4