१६ फागुन, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ राजनीतिक शक्ति नभएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साम्पाङले रास्वपाले पहिलो टेस्टमै टर्रो स्वाद दिएको टिप्पणी गरेका हुन् ।
‘घण्टी बजाउँदै आएको दल आफूलाई नयाँ भन्छ, त्यो नयाँ होइन,’ साम्पाङले भने, ‘त्यसको सभापति दुई चोटि उपप्रधानमन्त्री, दुई चोटि गृहमन्त्री भइसकेको हो । त्यसो हुनाले त्यो नयाँ होइन ।’
रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा नै सहकारी ठगी प्रकरणमा मुछिएको साम्पाङले बताए । उनले भने, ‘गृहमन्त्री हुँदा आफै सहकारी काण्डमा मुछिएको छ, जीबी राई भन्छ । जीबी राई खोजेर ल्याउनुपर्दैन ?’
उनले ‘कति चोटि गृहमन्त्री भइसकेपछि जीबी राईलाई पक्रेर ल्याउने हो ?’ भनेर प्रश्न गरे ।
आफूलाई जीबी राईलाई बदनाम गरिएको जस्तो लाग्ने पनि साम्पाङले बताए । ‘जीबी राई को हो ? कसैलाई थाहा छ ? छैन,’ उनले भने ।
नयाँ भनिएका दलका सांसद संसद्मा जाँदा जनताका पक्षमा कुनै कुरा नगरेको साम्पाङले दाबी गरे । ‘त्यहाँ गइसकेपछि पुरानै दलजस्तै गठबन्धन, गाँठो बन्धन गर्दै गृहमन्त्री दे भन्दै रोई कराइ गर्ने हो । पहिल्यै चाख्दा खेरी टर्रो आयो, फेरि दुईचोटी चाखेर मुख किन टर्रो बनाउने,’ उनले भने । रास्वपाका थुप्रै काण्ड रहेको बताउँदै आफूले ती काण्ड भन्न नचाहेको उनले बताए ।
‘ती काण्ड सबैलाई थाहा छ । कति गाउनु पुरानो गीत, भनेर भन्नुहोला,’ उनले भने ।
प्रतिक्रिया 4