News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल भाषाको ओटीटी प्लाटफर्म ‘नेवा-फ्ल्क्सि’ कीर्तिपुर सिनेप्लेक्समा सार्वजनिक भएको छ।
- चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले डिजिटल माध्यमबाट भाषा र सिनेमा जोगाउनुपर्ने बताए।
- ‘नेवा-फ्ल्क्सि’ले नेपालभाषाका फिल्म, संगीत र सांस्कृतिक सामग्री विश्वदर्शकमाझ पुर्याउने लक्ष्य राखेको छ।
काठमाडौं । नेपाल भाषा (नेवारी भाषा) को ओटीटी प्लाटफर्म ‘नेवा-फ्ल्क्सि’ सार्वजनिक भएको छ । नेपालभाषाको फिल्म, संगीत र सांस्कृतिक सामग्रीलाई डिजिटल माध्यममार्फत विश्व दर्शकमाझ पुर्याउने उद्देश्यसहित ओटीटी लन्च गरिएको हो ।
इलोहं इन्टरटेनमेन्टको आयोजनामा कीर्तिपुर सिनेप्लेक्समा आयोजित कार्यक्रममा प्लाटफर्म सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी सहभागी थिए ।
साथै इलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्य, सीओओ दर्शनवीर शाक्य, सिनेप्लेक्सका अध्यक्ष नरेन्द्र महर्जन लगायतका प्रतिनिधि सहभागी थिए । संथाकी अध्यक्ष प्रज्ञादेवी शाक्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
बोर्ड अध्यक्ष डीसीले विगतको सांस्कृतिक आन्दोलन सम्झँदै भने, ‘कुनै बेला हामी ‘पद्मरत्न यात त्याका दिसँ, प्रतिगामी तत्व यात बुका दिसँ’ भन्दै पम्प्लेट छाप्थ्यौं, भित्ते लेख्थ्यौं । त्यो भाषा जोगाउने संघर्षको समय थियो । अहिले संघर्षको रूप फेरिएको छ, अब डिजिटलमै भाषा जोगाउनुपर्छ ।’
उनले प्रविधिसँग नजोडिएको भाषा र सिनेमा टिक्न नसक्ने उल्लेख गर्दै ‘नेवाफ्ल्क्सि’ जस्ता प्लाटफर्म समयको आवश्यकता भएको बताए । ‘आजको पुस्ता मोबाइलमै छ । हाम्रो सिनेमा र सामग्री पनि त्यहीँ पुग्नुपर्छ । अब नेपालभाषा सीमित घेराभित्र होइन, विश्व बजारमा पुग्नुपर्छ,’ उनले भने ।
डीसीले बोर्डले पुराना क्लासिक कृति ‘सिलु’ र ‘राजमती’ लगायतको डिजिटलाइजेसनमा जोड दिइरहेको जानकारी पनि दिए । ‘हामीले हाम्रा ऐतिहासिक फिल्म जोगाउनुपर्छ । डिजिटल आर्काइभ र ओटीटी प्लेटफर्म नै अब संरक्षण र प्रवद्र्धनको प्रभावकारी बाटो हो,’ उनले भने ।
उनले निजी क्षेत्रको यस्तो पहललाई बोर्डले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै आवश्यक सहकार्यका लागि सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गरे । ‘बाँच्नु मात्र ठूलो कुरा होइन, आफ्नो संस्कृति समयअनुसार रूपान्तरण गर्दै जोगाउनु ठूलो कुरा हो,’ उनको भनाइ थियो ।
इलोहं प्रकाशनका प्रबन्ध निर्देशक शाक्यले २६ वर्षदेखि प्रकाशन क्षेत्रमा सक्रिय संस्थाले समयअनुसार प्रविधिसँग अघि बढ्ने निर्णय गर्दै प्लाटफर्म सुरु गरेको बताए ।
शाक्यका अनुसार दुई वर्षको मेहनतपछि प्लेटफर्म तयार भएको हो । इन्टरनेटमार्फत नेपालभाषाका सिनेमा, म्युजिक भिडियो तथा सांस्कृतिक सामग्री हेर्न सकिने जानकारी दिँदै उनले दर्शकको साथ र सहयोगको अपेक्षा गरे ।
‘२०२२ सालतिर नेपालभाषामाथि बन्देज थियो, अहिले समय परिवर्तन भइसकेको छ । अब व्यावसायिक रूपमा सशक्त बन्ने बेला आएको छ,’ उनले भने । सिनेप्लेक्सका अध्यक्ष महर्जनले नेपालभाषाका फिल्मलाई प्रदर्शनमा समस्या आए सहकार्य गर्न तयार रहेको बताए ।
यो ओटीटी प्लाटफर्मले हलसम्म पुग्न नसक्ने दर्शकलाई घरमै बसेर सामग्री हेर्ने अवसर दिनेछ । साथै नेपालभाषाका चलचित्र, संस्कृति र सम्पदालाई डिजिटल माध्यममार्फत विश्वदर्शकमाझ पुर्याउने दीर्घकालीन लक्ष्य लिइएको छ । अहिलेलाई वेभ-ब्राउजर र एन्ड्रोइडका अपरेटिङ सिस्टमका मोबाइलमा यो उप उपलब्ध छ । आइओएसमा भने भने एप उपलब्ध भैसकेको छैन ।
प्रतिक्रिया 4