News Summary
Generated by OK AI. Editorially reviewed.- गगन थापा कांग्रेस सभापति चुनिएपछि पूर्व गृहमन्त्री रमेश लेखकले कञ्चनपुर-३ को चुनावी टिकट पाउन सकेनन्।
- कञ्चनपुर-३ मा कांग्रेसका हरिप्रसाद बोहरा, एमालेका दीपकप्रकाश भट्ट, रास्वपाका ज्ञानेन्द्रसिंह महता र माओवादीका मानबहादुर सुनार प्रमुख प्रतिस्पर्धी छन्।
- गत चुनाव र स्थानीय नतिजामा कांग्रेस र एमाले नै कञ्चनपुर-३ को मुख्य प्रतिस्पर्धी दल रहेका छन् र कांग्रेसले स्थानीय तहमा बढी सफलता पाएको छ।
१७ फागुन, कञ्चनपुर । गत माघे संक्रान्तिसम्म कञ्चनपुर-३ को चुनावी प्रतिस्पर्धामा अहिले भन्दा ठिक उल्टो समीकरणको सम्भावना थियो ।
पूर्व गृहमन्त्री रमेश लेखकलाई नेपाली कांग्रेस र नेकपा एमालेका साझा उम्मेदवार बनाइने लगभग पक्का थियो । तर विशेष महाधिवेशन गर्दै गगन थापा कांग्रेस सभापति चुनिए ।
गगन कांग्रेस नेतृत्वमा आउँदा तत्कालीन सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच जुटेको सहमति तोडियो । जेनजी विद्रोहसम्म सत्ता सहकार्यमै रहेका देउवा र ओलीबिच २१ फागुनको चुनावमा गठबन्धन गर्ने सहमति बनिसकेको थियो ।
सहमति बमोजिम ०७९ को चुनावमा जितेको क्षेत्र त्यही दलले लिने र बाँकी क्षेत्र भागबन्डा गर्ने मापदण्ड टुंगिसकेको थियो । त्यसै बमोजिम दुवै दलको समानुपातिक बन्द सूची तयार पारिएको थियो ।
कञ्चनपुर-३ मा ०७९ को चुनाव कांग्रेसका लेखकले जितेकाले एमालेको भागमा नपर्ने सहज अनुमान गर्न सकिन्थ्यो । त्यसैले ओली निकट नेतृ निरुदेवी पाल समानुपातिक बन्द सुचीमा बसेकी थिइन् ।
‘केन्द्रमा नसोचेको परिवर्तन हुँदा यहाँको समीकरण नै बदलियो,’ कञ्चनपुर एमालेका एक नेता भन्छन्, ‘देउवा नै सभापति रहन्थे भने रमेश लेखक गठबन्धनबाट साझा उम्मेदवार बन्न सक्नु हुन्थ्यो ।’
तर गगन सभापति चुनिएर आएपछि तीन पटक सांसद भइसकेका पूर्व गृहमन्त्री लेखकले टिकट पाएनन् । कांग्रेस स्रोतका अनुसार लेखकले आग्रह गर्दा पनि सभापति थापा टिकट दिन तयार भएनन् ।

‘जेनजी विद्रोह दबाउने सरकारका गृहमन्त्री भएकाले लेखकलाई उम्मेदवार बनाउन सकिने अवस्था थिएन,’ स्रोत भन्छ, ‘गृहमन्त्री हुँदा भिजिट भिसा प्रकरणमा मुछिएकाले पनि टिकट दिन सकिने स्थिति थिएन ।’
लेखकले टिकट नपाउँदा कांग्रेसबाट यो क्षेत्रमा हरिप्रसाद बोहरा उम्मेदवार छन् । कांग्रेस कञ्चनपुरका पूर्व जिल्ला सभापति बोहरा लामो अनुभव र योगदान भएका नेता हुन् ।
२०३६ सालमै विद्यार्थी आन्दोलनमा सामेल भएका बोहरा २०७२ सालमा पार्टी जिल्ला सभापति निर्वाचित भएका थिए । अर्थात् आबद्धताकै हिसाब गर्दा ५९ वर्षीय बोहराले साढे चार दशक कांग्रेसमै बिताएका छन् ।
तर यो लामो अनुभव भन्दा पनि विशेष महाधिवेशन पक्षधर हुनु उनको राजनीतिक करिअरमा महत्त्वपूर्ण मोड बन्न पुग्यो, जस कारण उम्मेदवार बन्ने अवसर पाए ।
कांग्रेसको नेतृत्व परिवर्तन हुँदा लेखकको टिकट मात्र खोसिएन, डा. दीपकप्रकाश भट्ट एमालेबाट उम्मेदवार बन्नुपर्ने परिस्थिति पनि बन्यो । किनकि निरु पालको नाम समानुपातिक तर्फको बन्द सूचीमा राखिसकिएको थियो ।
‘दीपकप्रकाश भट्टले ओलीले चाल्ने असंवैधानिक कदमहरूको विरोध गरेका छन्, उनी झोले अभियानमा सामेल नहुने नेता हुन्,’ कञ्चनपुर एमालेका ती नेता भन्छन्, ‘तर राजनीतिक परिस्थिति यसरी विकसित भयो कि उनी उम्मेदवार बन्नुपर्ने परिस्थिति भयो ।’
परिस्थिति बदलिएको चुनावी प्रतिस्पर्धाको समीकरणमा भट्टलाई बलियो उम्मेदवारकै रूपमा हेरिएको छ । ‘जेएनयूबाट पीएचडी गरेको बौद्धिक परिचय छ, राष्ट्रिय महत्वका परियोजनाहरूमा नेतृत्व गर्नुभएको छ,’ ती नेता भन्छन्, ‘यो क्षेत्रको विकासमा टेवा पुग्ने परियोजनाहरूमा पनि नेतृत्व गर्नुभएकाले उहाँको उम्मेदवारी सशक्त देखिन्छ ।’
दोधारा चाँदनी सुख्खा बन्दरगाह, दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय, त्रिदेशीय नाका निर्माणजस्ता ठुलो परियोजना तथा जनजीवन परिवर्तनका मुद्दाहरू समेटेर भट्टले २२ बुँदे प्रतिबद्धता सहित मत मागिरहेका छन् । तर प्रतिबद्धताका बुँदाहरू भन्दा महत्वका साथ उनको व्यक्तित्व र कांग्रेसभित्र फेरिएको समीकरणलाई चासोका साथ हेरिएको छ ।
मुख्य कुरा त भट्टको व्यक्तित्व नै हो । एमालेको संगठनात्मक भूमिका ठुलो नपाए पनि उनले सेना समायोजन विशेष समिति सदस्य, उच्चस्तरीय सुरक्षा नीति पुनरावलोकन समिति सदस्य, अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य, निजगढ विमानस्थल निर्माण उपसमिति संयोजक र वाइडबडी, न्यारोबडी छानबिन उपसमिति संयोजक भएर काम गरेका छन् ।
तर एमालेको आन्तरिक राजनीतिमा संस्थापन इतर पक्षमा उभिएकै कारण ०७४ मा चुनाव जितेका भट्टले ०७९ मा टिकट नै पाएका थिएनन् ।
रास्वपालाई लहरको आस
परम्परागत शक्ति-संघर्षमा यसपटक थपिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनौती पनि यो क्षेत्रको मुख्य चासोमा छ । रास्वपाले यसपटक उम्मेदवार फेर्दै ज्ञानेन्द्रसिंह महतालाई टिकट दिएको छ ।
०७९ को चुनावमा कृष्ण लुहारले चुनाव लडेका थिए । तर उनी निष्क्रिय रहेकाले व्यवसायी एवं मिडियाकर्मी पृष्ठभूमिका महतालाई रास्वपाले टिकट दिएको छ ।
विगतका चुनावी नतिजा हेर्दा उनी यो क्षेत्रका बलिया प्रतिस्पर्धी होइनन् । तर रास्वपाको पक्षमा आएको लहरका कारण महताको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ ।
व्यक्तित्वका हिसाबले भने उनी औसत हुन् । मिडिया सञ्चालन गर्दा महता एमाले समर्थक थिए । रेडियो राष्ट्रिय र रेडियो जनबोलीका सञ्चालक हुँदै उनले आफूलाई मिडियाकर्मीका रूपमा चिनाएका थिए ।
मिडियामा आबद्ध हुँदै उनले सौर्य ऊर्जा र ड्रागन व्यवसाय पनि चलाए । यद्यपि सरकारी अनुदानमा सञ्चालित उनका यी दुवै व्यवसाय विवादमा परेको थियो ।
यो क्षेत्रका अर्का प्रतिस्पर्धी उम्मेदवार हुन्- मानबहादुर सुनार । माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका थुप्रै घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले उनलाई उम्मेदवार बनाएको छ ।
उमेरले पाका सुनारसँग लामो राजनीतिक अनुभव छ । कांग्रेस पृष्ठभूमिका नेता सुनारले २०५१ सालमै चुनाव लडेका थिए । पार्टीले टिकट नदिएपछि बागी उम्मेदवार बनेका सुनारले त्यसै बेला ५ हजार ७६९ मत पाउँदा पाएका थिए । तर २०५४ सालको स्थानीय चुनावमा कांग्रेसबाटै दोधारा गाविसको अध्यक्ष जिते ।
२०६३ सालको परिवर्तनपछि उनी माओवादीमा प्रवेश गरे । माओवादीले २०७४ को चुनावमा कञ्चनपुर-३ (ख) बाट उम्मेदवार बनायो । वाम गठबन्धन भएको त्यो चुनावमा सुनारले जिते र प्रदेश सरकारमा राज्यमन्त्री भए ।
पार्टी संगठनबाहेक यो लामो अनुभव उनको मत पाउने बलियो उम्मेदवार हो । राम्रै संगठनात्मक शक्ति भएको राप्रपाका पूर्णबहादुर चन्दलाई पनि कम आँक्न सक्ने स्थिति छैन ।
कांग्रेस-एमालेको बलियो आधार
पुरानो प्रतिस्पर्धा हेर्दा यो निर्वाचन क्षेत्रमा कांग्रेस र एमाले नै प्रतिस्पर्धी शक्ति हुन् । २०६४ सालमा माओवादीले एक पटक जिते बाहेक यो क्षेत्रमा कांग्रेस-एमालेले आलोपालो जितेका छन् ।
रोचक त यो क्षेत्रमा अहिलेसम्म कोही पनि लगातार दोहोरिएर जितेका छैनन्, भने कुनै पनि दलले जित जोगाउन सकेको देखिँदैन । २०४८ सालको चुनावमा कञ्चनपुरको दुवै क्षेत्र कांग्रेसले जितेको थियो । कञ्चनपुर-१ बाट वासुदेव भट्ट र २ बाट तारिणीदत्त चटौतले जितेका थिए ।
२०५१ सालमा सम्पन्न मध्यावधि निर्वाचनमा एमालेले नतिजा उल्ट्यायो । कञ्चनपुरको निर्वाचन क्षेत्र बढेर २ बाट ३ हुँदा एमालेका उर्वादत्त पन्तले जिते । तर २०५६ सालमा कांग्रेसका रमेश लेखकले जिते ।
२०६४ मा माओवादीका टेकेन्द्रप्रसाद भट्ट, २०७० मा कांग्रेसका बहादुर सिंह थापा, २०७४ मा एमालेका दीपकप्रकाश भट्ट र २०७९ मा कांग्रेसका रमेश लेखकले जिते । यो क्षेत्रबाट दुई पटक जित्ने नेता लेखक मात्रै हुन् । २०६४ सालमा समानुपातिक सांसद बनेको सहित लेखक तीन पटक सांसद भएका छन् ।
गत चुनावको समानुपातिक मत र स्थानीय चुनावको नतिजामा पनि कांग्रेस-एमालेकै आधार बलियो देखिन्छ । ०७९ मंसिरको चुनावमा २० हजार ५७१ मत सहित कांग्रेस अगाडि छ भने एमालेले ११ हजार ८१६ मत पाएको छ ।
राप्रपाको मत ६ हजार ०२६ र रास्वपाको मत ४ हजार ९०० छ । तर माओवादी केन्द्र र एकीकृत समाजवादीबिच एकता भएकाले नेपाली कम्युनिस्टको मत यी दुई पार्टीको भन्दा अगाडि हुन्छ । गत चुनावमा माओवादीले ४ हजार ४६२ र एकीकृत समाजवादीले ३ हजार ९३३ मत पाएको थियो ।
स्थानीय चुनावको नतिजा हेर्दा पनि कांग्रेस नै अगाडि छ । कञ्चनपुर–३ मा पर्ने ३० वडा मध्ये कांग्रेसले १४, एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ४, राप्रपाले २ र एक स्वतन्त्रले वडाध्यक्ष जितेका छन् ।
यो क्षेत्रमा भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका र वेदकोटको ८ नम्बर वडा पर्छन् । वेदकोट ८ नम्बर वडामा एकीकृत समाजवादीले जितेको थियो । एकीकृत समाजवादीका महेशराज जोशीले ५३४ मत ल्याएर वडाध्यक्ष जित्दा कांग्रेसका दिलुप्रसाद बोहराले ४२४ र एमालेका हर्कनाथ योगीले ३८५ मत पाएका थिए । वेदकोट नगरपालिकाको मेयर र उपमेयर कांग्रेसले नै जितेको छ ।
भीमदत्त नगरपालिकामा कांग्रेसका पदम बोगटीले १५ हजार ८८२ मत सहित मेयर जित्दा एमालेका महेशप्रसाद पन्तले ८ हजार १७९ मत पाएका थिए । दोधारा चाँदनी नगरपालिका भने एमालेले जितेको छ । यहाँ एमालेका किशोरकुमार लिम्बुले ७ हजार १०४ मत ल्याएर मेयर जित्दा कांग्रेसका गोपालदत्त भट्टले ६ हजार १७२ मत पाएका छन् ।
प्रतिक्रिया 4