News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन्।
- मन्त्री अर्यालले शान्ति सुरक्षाको अवस्था मजबुत भएको र मतदातालाई निर्धक्क भएर मतदान गर्न आह्वान गरेका छन्।
- उनले निर्वाचनमा कुनै पनि गैरकानुनी क्रियाकलाप भए दोषीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गरिने जानकारी दिएका छन्।
१९ फागुन, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् ।
मन्त्री अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्ले लगायत उच्च अधिकारीको टोलीले निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे ललितपुरको बुंमती, लेले, नल्लु र ठेचोका विभिन्न मतदान केन्द्रहरूको निरीक्षण गरेको हो ।
सो अवसरमा मन्त्री अर्यालले शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएकोले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरे ।
उनले भने, ‘स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ, त्यसैले मतदाताहरुलाई ढुक्क भएर आफ्नो मताधिकारको प्रयोग गर्न आव्हान गर्दछु ।’
गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी भइसकेको जानकारी दिँदै आफू पनि सुरक्षित रहेर मतदान स्थल र मतपेटिका सुरक्षित गर्न मतदान अधिकृत र सुरक्षाकर्मीलाई आग्रह गरे ।
उनले निर्वाचनमा कुनै पनि किसिमको गैह्रकानुनी क्रियाकलाप भएमा वा गराइएमा दोषीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गरिने बताए ।
मन्त्री अर्यालले स्थानीय मतदातासँग कुराकानी गर्दै समग्र अवस्थाबारे जानकारी लिएका थिए । उनले निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक पालना गर्न आग्रह गरे ।
निर्वाचन स्थलको अनुगमतपछि गृहमन्त्री अर्यालले शान्तिपूर्वक मतदान हुने र धेरैभन्दा धेरै जनता मतदानमा सहभागी हुने विश्वास व्यक्त गरे ।
मन्त्री अर्यालले मतदान स्थलको मतपेटिका सुरक्षा प्रबन्ध, मतपेटिका, ढुवानीसम्मको समग्र अवस्थाको अनुगमन गरी जानकारी लिए ।
साथै उनले मतदान स्थलमा खटिएका कर्मचारी, मतदान अधिकृत, सुरक्षाकर्मी र स्थानीयवासीसँग कुराकानी गरेका थिए ।
प्रतिक्रिया 4