२० फागुन, काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनमा ३ हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
१ करोड ९० लाख मतदाता रहेको यो निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सांसद निर्वाचित हुनेछन् । प्रत्यक्ष निर्वाचित हुने मध्ये झापा-५, सर्लाही-४, रुकुम पूर्व, सुनसरी-१, चितवन-२ लगायत क्षेत्र विशेष चासोमा छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिस्पर्धामा रहेकाले झापा-५ सबैभन्दा बढी चासोको क्षेत्र बन्न पुगेको छ ।
सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा, रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, चितवन-२ मा रास्वपाका सभापति रवि लामिछाने र सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ उम्मेदवार छन् । भावी प्रधानमन्त्रीको घोषणा सहित उनीहरू प्रतिस्पर्धामा रहेकाले यी क्षेत्रहरू चर्चामा आएको हो । बाँकी क्षेत्रको चासो पनि कम छैन ।
तर जेनजी आन्दोलनपछि असमयमै हुँदै गरेको यो निर्वाचनमा यसअघिका थुप्रै प्रभावशाली शीर्ष नेताहरू प्रतिस्पर्धामा छैनन् । यसपटक तीन पूर्वप्रधानमन्त्री नै यो निर्वाचनमा उम्मेदवार छैनन् ।
२०४८ सालदेखि डडेलधुराबाट सबै निर्वाचन जितेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पहिलोपटक उम्मेद्वार छैनन् । विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन भएपछि पूर्वसभापति देउवाले टिकट पाएनन्, निर्वाचन लडेनन् ।
गोरखा-२ मा उम्मेदवारी दर्ता गरेपनि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पछि हटे । उम्मेदवारी फिर्ता लिएका भट्टराईले यो क्षेत्रमा कांग्रेसलाई समर्थन गरेका छन् । भट्टराईले २०६४ सालपछि ह्याट्रिक जित निकालेका छन् ।
अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि यसपटक निर्वाचन लडेनन् । इलाम–१ बाट निर्वाचन लड्दै आएका खनालले यो निर्वाचनमा उम्मेदवारी दिएनन् । नेकपाले खनाल निकट नेतालाई यो क्षेत्रमा उम्मेदवार बनाएको छ ।
नयाँहरूको दवावमा परेकाले कांग्रेस, एमाले, नेकपा लगायत दलहरूले सकेसम्म नयाँ अनुहारलाई टिकट दिँदा यो चुनावमा यसअघि लगातार निर्वाचन जित्दै आएका नेताहरूले नै अवसर पाएका छैनन् । १६५ क्षेत्रमा उम्मेद्वार रहेको एक मात्र दल कांग्रेसले १०६ जनालाई पहिलोपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । एमालेले ८५ जना नयाँलाई अवसर दिएको छ ।
जो, उम्मेदवार छैनन्
नयाँ शक्तिहरूको दवावका बीच थुप्रै नेताले यसपटक पनि निर्वाचन लडिरहँदा केही प्रभावशाली नेताहरू भने मैदान बाहिर छन् । उनीहरू मध्ये कतिपयले स्वेच्छाले उम्मेदवार बन्न चाहेनन्, कतिपयले टिकट पाएनन् ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सार्वजनिक घोषणा सहित निर्वाचन लडेनन् । पार्टी नेतृत्व परिवर्तनकै प्रभाव राख्न सक्ने क्षमता देखाएका शर्माले चाहँदा टिकट नपाउने कुरै थिएन । तर झापा–१ बाट गत निर्वाचन जितेका उपसभापति शर्माले आफू उम्मेदवार नबनेर देशब्यापी अभियानमा हिँडे ।
तर ताप्लेजुङबाट जित्दै आएका एमाले उपमहासचिव योगेश भट्टराईले टिकट पाएनन् । एमालेको अन्तरसंघर्षमा इतर समूहमा लाग्ने मध्येका प्रभावशाली नेता भट्टराईलाई ओलीले टिकट नै दिएनन् ।
आफूले टिकट नपाएपछि भट्टराई देशव्यापी निर्वाचन अभियानमा हिडे । स्वयं ओलीको निर्वाचन अभियानमा मत माग्न झापा–५ पुगेका भट्टराईले एमालेका अन्य उम्मेदवारहरू जिताउन विभिन्न निर्वाचन क्षेत्र पुगेका थिए । एउटै पनि ठूलो चुनावी सभा नगरेको एमालेमा आफ्नो क्षेत्र भन्दा बाहिर गएर मत माग्ने उनी एक्लो नेता देखिए ।
कांग्रेसका शर्मा र एमालेका भट्टराई जस्ता कोशीमा अरू नेताहरू यसपटक उम्मेदवार छैनन् । राष्ट्रिय सभा सदस्य रहेकाले कृष्णप्रसाद सिटौला २०५० साल यताको निर्वाचनमा पहिलोपटक उम्मेदवार छैनन् ।
कांग्रेसकै पूर्व सहमहामन्त्री भीष्मराज आङदेम्बे पनि उम्मेदवार छैनन् । पाँचथरबाट निर्वाचन लड्दै आएका आङदेम्बे सँगै एमालेका बसन्तकुमार नेम्वाङ पनि उम्मेदवार छैनन् । उनी स्वास्थ्यका कारणले निर्वाचन नलडेका हुन् ।
कोशीबाट कांग्रेसका सुजाता कोइराला, बलबहादुर केसी, नारायण खड्का, सुनिलबहादुर थापा, रामहरी खतिवडा उम्मेदवार छैनन् । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाताले मोरङ–२ बाट निर्वाचन लड्दै आएकी थिइन् । उदयपुर–१ बाट लगातार निर्वाचन जित्दै आएका नारायण खड्काले यसपटक उम्मेदवारी दिएनन् ।
एमालेका भीम आचार्य, विजय सुब्बा, लालबाबु पण्डित, विशाल भट्टराई, यज्ञराज सुनुवार, राजेन्द्र गौतमहरू पनि यसपटक उम्मेदवार छैनन् । एमालेका पूर्वकेन्द्रीय सचिव आचार्यले सुनसरी–२ बाट निर्वाचन लड्ने गरेका थिए । तर यसपटक उनलाई टिकट दिइएन ।
एमाले नेता भानुभक्त ढकाल मोरङ–३ मा पराजय बेहोर्दै तेह्रथुम फर्किएपछि एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाको टिकट खोसिएको हो ।
कोशीबाट निर्वाचन लड्ने प्रभावशाली नेताहरू जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र प्रजातान्त्रिक लोकतान्त्रिक पार्टीका नेता सुदन किराती पनि उम्मेदवार छैनन् । मधेश प्रदेशबाट निर्वाचन लड्ने महन्थ ठाकुर र चित्रलेखा यादव यसपटक उम्मेदवार छैनन् ।
काठमाडौं–१ बाट निरन्तर निर्वाचन जित्दै आएका कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह यसपटक उम्मेदवार छैनन् । ०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा पुष्पकमल दाहाललाई हराएका कांग्रेस नेता राजेन्द्रकुमार केसीले निर्वाचन लडेका छैनन् । एमाले पूर्व उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे, एमाले नेताहरू कृष्णगोपाल श्रेष्ठ, गोकुल बाँस्कोटा, कृष्णप्रसाद दाहाल, कृष्णभक्त पोखरेल उम्मेदवार छैनन् । एमालेमा टिकट नपाउने अधिकांश नेता संस्थापन इतर पक्षका हुन् ।
नेकपाका नेताहरू पम्फा भुसाल र विरोध खतिवडा उम्मेदवार छैनन् । चितवन–३ बाट निर्वाचन जित्दै आएका विक्रम पाण्डे यसपटक उम्मेदवार बनेनन् ।
गण्डकीबाट निर्वाचन लड्दै आएका माओवादी नेता देव गुरुङ, कांग्रेसका पूर्वमहामन्त्री सशांक कोइराला, पूर्वउपसभापति धनराज गुरुङ, कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीदेखि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी यसपटक उम्मेदवार छैनन् ।
लुम्बिनीबाट निर्वाचन लड्दै आएका केही प्रभावशाली नेताहरू पनि यसपटक उम्मेद्वार छैनन् । कांग्रेसका उपसभापति पुष्पा भुसाल, पूर्वगहृमन्त्री बालकृष्ण खाँण, राप्रपाका धवल शमशेर राणा, एमाले सचिव छबिलाल विश्वकर्मा, नेकपा संयुक्तका कार्यबाहक अध्यक्ष घनश्याम भूसाल, नेकपाका नेताहरू चक्रपाणि खनाल र रेखा शर्मा, पूर्व गृहमन्त्री वामदेव गौतमले यसपटक निर्वाचन लडेका छैनन् ।
त्यस्तै कर्णालीका नेताहरू कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का, हृदयराम थानी, प्रकाश ज्वाला लगायत पनि उम्मेदवार छैनन् । सुदूरपश्चिमबाट निर्वाचन लड्ने शीर्ष नेताहरू कर्ण थापा, बद्रीप्रसाद पाण्डे, दिलेन्द्र बडु, रमेश लेखक, वीरबहादुर बलायर लगायतले चुनाव लडेका छैनन् । पछिल्ला दुई निर्वाचनमा अप्रत्यासित मत पाउँदै आएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ यसपठक मैदानमा छैनन् । रेशमको उम्मेदवारी खारेज भएको हो ।
प्रतिक्रिया 4