+
+
Shares

लोकतन्त्रमा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा सहभागी हुनु हरेक सार्वभौम अधिकार सम्पन्न मतदाताको कर्तव्य भएको पनि बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ६:२३

२१फागुन, काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको बताएका छन् ।

आजको प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा अपिल जारी गर्दै उनले यस्तो महत्त्वपूर्ण अनुष्ठानमा सहभागी भएर सम्पूर्ण मतदाताले आ–आफ्नो अधिकार सुरक्षित गर्ने विश्वास व्यक्त गरेका छन् ।

हरेक मतदाताले निर्वाचनमा खसाल्ने एक–एक मतले राजनीतिक व्यवस्थाको स्वरूप निर्धारण, शासन, सरकार, नीति र नेतृत्व कस्तो हुने भन्ने तय गर्ने भएकाले निर्वाचनको महत्त्वपूर्ण भूमिका रहेको उनले उल्लेख गरे ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा सहभागी हुनु हरेक सार्वभौम अधिकार सम्पन्न मतदाताको कर्तव्य भएको पनि बताएका छन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जारी गरेको अपिलको पूर्णपाठ यस्तो छ–

आदरणीय बा, आमा, दाजुभाइ तथा दिदीबहिनीहरू

गत भदौ २३ र २४ गते भएको नवयुवाहरूको विद्रोहपछि विकसित विषम परिस्थितिमा सम्पन्न हुन गइरहेको यो आकस्मिक प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ ले नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई अझै सुदृढ एवं परिपक्व बनाउने विश्वास लिएको छु ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराउँदछु ।

निर्वाचनमा मतदाता र मतदान सर्वाधिक महत्त्वपूर्ण हुन्छ । निर्वाचनमा कुनै उम्मेदवार, व्यवस्था वा पक्षलाई चुन्न मतदाताले दिने सहमति वा स्वीकृति नै मतदान हो । संविधान र कानुनबमोजिम निश्चित उमेर पूरा भएको नागरिक मतदाता हुन्छन् र सबै मतदाताको मतको मूल्य बराबर हुन्छ । त्यसैले मतदानलाई मतदाताको नैसर्गिक अधिकार मानिन्छ ।

राजनीतिक व्यवस्थाको स्वरूप निर्धारण, शासन, सरकार, नीति र नेतृत्व कस्तो हुने भन्ने निर्धारण हरेक मतदाताले निर्वाचनमा खसाल्ने एक–एक मतले तय गर्ने भएकाले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान हो ।

यो अनुष्ठानमा सहभागी भएर सम्पूर्ण मतदाताले आ–आफ्नो अधिकार सुरक्षित गर्नु हुनेछ भन्ने विश्वास लिएको छु । यो अनुष्ठानमा सहभागी हुनु हरेक सार्वभौम अधिकार सम्पन्न मतदाताको कर्तव्य पनि हो ।

कुनै पनि निर्वाचनमा मतदाताको सहभागितालाई राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी र नागरिक संलग्नताको उच्चतम अभिव्यक्तिका रूपमा लिने गरिन्छ । जब नागरिकहरू आफ्ना अधिकारप्रति सचेत र जागरुक भएर मतदाताका रूपमा दर्ता हुनुहुन्छ र निर्वाचनमा सुसूचित मतदाता भएर आफ्नो सहभागिता जनाउनुहुन्छ तब मात्र शासनप्रतिको नागरिक अपनत्व बढ्दै जान्छ ।

निर्वाचन आयोग निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावरण बनाउन दृढ सङ्कल्पित रहेकाले यस कार्यमा सबैको सकारात्मक सहयोग र इमान्दार प्रयत्न हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

निर्वाचन व्यवस्थापनको सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज, सञ्चारकर्मी, आमसञ्चारमाध्यमलगायत सबै सरोकारवालाको सहयोग र सहभागिताले आयोगलाई आफ्नो भूमिका निर्वाह गर्न थप ऊर्जा, हौसला र प्रेरणा प्राप्त भएकामा धन्यवाद दिँदै आयोग निरन्तर सहयोगको अपेक्षा गर्दछ ।

निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा  बिहीबार आ–आफ्ना मतदान केन्द्रमा उपस्थित भई निर्धक्क भएर मतदान गर्नु हुन म सम्पूर्ण मतदातालाई हार्दिक अनुरोध गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?