News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली अल्ट्रा ट्रेल धाविका सुनमाया बुढाले मध्यपूर्व तनावका कारण फ्लाइट रद्द हुँदा वर्ल्ड ट्रेल मेजर्स २०२६ को पहिलो रेस गुमाउने भएकी छन्।
- सुनमायाले सामाजिक सञ्जालमा फ्लाइट नपाउँदा स्पेनको ट्रान्स ग्रान कानारियामा १२५ किमि दौडमा सहभागी हुन नसक्ने उल्लेख गरेकी छिन्।
- स्पेनको ट्रान्सग्रानकानारियामा विश्वका ७५ राष्ट्रका ६ हजार भन्दा बढी धावकले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
२१ फागुन, काठमाडौं । नेपाली अल्ट्रा ट्रेल धाविका सुनमाया बुढाले मध्यपूर्व तनावको असरले उडान रद्द हुँदा वर्ल्ड ट्रेल मेजर्स (डब्लुटीएम) २०२६ अन्तर्गत पहिलो रेस गुमाउने भएकी छन् ।
वर्ल्ड ट्रेल मेजर्स (डब्लुटीएम) २०२६ अन्तर्गत यस वर्षको पहिलो रेस यही मार्च ६ देखि स्पेनमा हुँदैछ । वर्ल्ड ट्रेल मेजर्स (डब्लुटीएम) २०२५ को लामो दूरीमा च्याम्पियन बनेकी सुनमाया नयाँ सिजनको पहिलो रेस ट्रान्स ग्रान कानारियाका लागि उत्सहित थिइन् । तर, उडान नपाउँदा उनले यस रेसमा प्रतिस्पर्धा गर्नबाट बन्चित हुने भएकी हुन् ।
सुनमायाले रेस हुने एक दिन अघि बिहीबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै फ्लाइटका लागि आफ्नो टिमले बारम्बार प्रयास गर्दा पनि सफल हुन नसकेको र स्पेनमा हुने रेसमा सहभागिता हुन नसक्ने उल्लेख गरेकी छिन् ।
उनले आफ्नो लागि कठिन समय रहेको र अर्को पटक पनि आउने विश्वास व्यक्त गरेका छन् । ‘सबैलाई नमस्कार, म तपाईंहरूलाई एउटा कुरा भन्न चाहन्छु । स्पेनमा हुने ट्रान्सग्रानकानारियाको १२५ किमि दौड ७ मार्च २०२६ मा हुने थियो । त्यसमा सहभागी हुन मेरो योजना थियो । मेरो उडान १ मार्चमा तय भएको थियो, तर युद्धका कारण म यात्रा गर्न सकिनँ । सबै उडानहरू रद्द भए र हाम्रो टोलीले तीन दिनसम्म उडान खोज्ने प्रयास गर्यो, तर कुनै पनि उडान उपलब्ध भएन । त्यो समय निकै कठिन रह्यो, सुनमायाले लेखेकी छिन् । ‘सायद मेरो समय राम्रो रहेन । त्यसैले यसपटक म त्यहाँ आउन सकिनँ भन्न चाहन्छु । अब म आशा गर्छु कि अर्को वर्ष अवश्य आउनेछु ।’
उनले अन्य सहभागी रनरहरुलाई ट्रेलमा रमाइलो गर्नु भन्दै शुभकामना दिएकी छिन् । स्पेनको कानारियामा हुने ट्रान्सग्रानकानारियालाई कठिन रेसको रुपमा मानिन्छ । जहाँ यस पटक विश्वका ७५ राष्ट्रका ६ हजार भन्दा बढी धावकले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
सुनमायाले सन् २०२५ मा दक्षिण अफ्रिकामा भएको अल्ट्रा ट्रेल केपटाउन १०० किमीको दौडमा स्वर्ण जित्दै वर्ल्ड ट्रेल मेजर्स २०२५ को लामो दूरीतर्फ ओभरअल च्याम्पियन बनेकी थिइन् ।
प्रतिक्रिया 4