News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिगमा आर्सनलले ब्राइटनलाई १-० ले पराजित गर्दै शीर्षस्थानमा ६७ अंकसहित अग्रता बढाएको छ।
- म्यान्चेस्टर सिटीले घरेलु मैदानमा नटिङहम फरेस्टसँग २-२ को बराबरी खेलेको छ।
- सिटीको ६० अंक छ र उनीहरू दोस्रो स्थानमा छन्, ब्राइटन १३औं र नटिङहम १७औं स्थानमा छन्।
२१ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले ब्राइटनलाई पराजित गर्दै अग्रता फराकिलो बनाएको छ ।
म्यानचेष्टर क्लबहरुका लागि भने गएराती सुखद रहेन । दोस्रो स्थानको सिटी नटिङहम फरेस्टसँग बराबरीमा रोकिँदा म्यानचेष्टर युनाइटेडलाई न्युकासल युनाइटेडले २-१ ले पराजित गर्यो ।
जितपछि शीर्षस्थानको आर्सनलको ३० खेलमा ६७ अंक जोडेको छ । एक खेल कम खेलेको सिटी ६० अंकसहित दोस्रो स्थानमा छ ।
ब्राइटन ३७ अंकसहित १३औं तथा नटिङहम २८ अंकसहित १७औं स्थानमा छ ।
गएरातिको खेलमा आर्सनलले ब्राइटनलाई १-० ले पराजित गर्यो । आर्सनलको जितमा बुकायो साकाले नवौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले जुरियन टिम्बरको एसिस्टमा गोल गरेका थिए ।
यता सिटी भने घरेलु मैदानमा नटिङहम फरेस्टसँग २-२ को बराबरीमा रोकियो । खेलको ३१औं मिनेटमा एन्टोइन सेमेन्योले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा ५६औं मिनेटमा मोर्गान गिब्स ह्वाइटले गोल गर्दै खेल बराबरीमा ल्याए। ६२औं मिनेटमा रोड्रीले गोल गरेपछि सिटी फेरि अगाडि आएको थियो ।
७६औं मिनेटमा नटिङहमका एलियट एन्डरसनले गोल गर्दै सिटीको जित खोसे ।
यस्तै दश खेलाडीमा रहेर पनि न्युकासलले म्यानचेष्टर युनाइटेडलाई हरायो । नाटकिय बनेको पहिलो हाफको इन्जुरी टाइममा दुई गोल हुँदा एक खेलाडीले रातो कार्ड पाए । इन्जुरी टाइमको पहिलो मिनेटमा न्युकासलका जाकोब राम्सेले रातो कार्ड पाए । तर इन्जुरी टाइमको छैटौं मिनेटमा एन्टोनी गोर्डनले पेनाल्टीमा गोल गर्दै न्युकासललाई नै अग्रता दिलाए । इन्जुरी टाइमको नवौँ मिनेटमा म्यानचेष्टर युनाइटेडका लकासेमिरोले बराबरी गोल फर्काए । त्यसपछि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका विलियम ओसुलाले ९०औं मिनेटमा गोल गर्दै न्युकासलको जित पक्का गरे ।
पराजित भएपछि युनाइटेड ३० खेलबाट ५१ अंकसहित तेस्रो स्थानमै कायम छ । जितपछि न्युकासल २९ खेलबाट ३९ अंक जोडेर १२औं स्थानमा उक्लेको छ ।
प्रतिक्रिया 4