+
+
Shares

किताबको अँगालोबाट फुस्किँदा : एक पाठकीय अनुभूति

समग्रमा यस पुस्तकका समीक्षाहरू सरल, प्रवाहयुक्त र सहज भाषामा लेखिएका छन् । पहिले नै पढिसकेका पुस्तकहरू पनि समीक्षा पढेपछि फेरि पढौँ,पढौँ लाग्ने बनाइदिन्छन् ।

कमला न्यौपाने कमला न्यौपाने
२०८२ फागुन ३० गते १७:३१

जयदेव गौतम नेपाली साहित्यमा नौलो नाम होइन । वर्षौंदेखि लेखन विशेष गरी निबन्ध, पुस्तक समीक्षा, समालोचना तथा पत्रकारितामा निरन्तर सक्रिय रहनुभएका गौतमसँग मेरो परिचय निकै रोचक ढंगले भयो।

हाम्रो परिचय म जस्तै अरू १२ जना छोरीहरूले आफ्ना आमाहरूको जीवनकथा लेखेको पुस्तक ‘छोरीले जमाएका आमाहरू” लेख्ने क्रममा भएको हो । यस कृतिलाई सम्पादन गरी एउटा सुन्दर र परिष्कृत रूप दिन उहाँले ठूलो योगदान दिनुभएको थियो ।

यो पुस्तक केही नेपाली छोरीहरूले आफ्ना आमाबारे सत्य तथ्य खोजी गरी आमाको जीवनी लेखिएको पहिलो कृति हो भन्नु अत्युक्ति नहोला । यस अर्थमा यो पुस्तकलाई ऐतिहासिक दस्तावेज पनि भन्न सकिन्छ ।

यही कृतिबाट हाम्रो परिचयको सुरुवात भयो । त्यसपछि उहाँका लेख र समीक्षासँग म क्रमशः नजिकिँदै आएँ, र आज म उहाँको लेखन पढ्ने एक नियमित पाठक बनेकी छु ।
नेपाली कृतिहरू पढेर तिनको समीक्षा तथा समालोचना गर्ने व्यक्तिहरू नेपाली साहित्यिक जगतमा अत्यन्त सीमित देखिन्छन् ।

भनौँ, पुस्तकसम्बन्धी समीक्षा/समालोचना गर्ने समीक्षकहरू औँलामा गन्न सकिने जति मात्र छन् । नेपाल बाहिर त यस्ता समीक्षकहरू झन् दुर्लभ छन् । सायद म स्वयं नेपाली साहित्यलाई नजिकबाट भर्खरै चिन्न थालेकी हुनाले पनि यस्तो अनुभूति भएको हुन सक्छ ।

तर लेखक जयदेव गौतम त्यही सानो समीक्षकहरूको समूहभित्र एक सशक्त र भरोसायोग्य व्यक्तित्व हुनुहुन्छ भन्ने कुरा मैले बुझ्न थालेकी छु । केही वर्षदेखि उहाँका समीक्षा समालोचना, लेख तथा पुस्तकहरू निरन्तर पढ्दै आएको छु । उहाँको यो कृति गत वर्ष मेरो हातमा परेको थियो ।

सबैभन्दा पहिले मलाई यसको शीर्षक ‘किताबको अँगालोमा’ नै अत्यन्त आकर्षक र अर्थपूर्ण लाग्यो । ‘अँगालो’ शब्द स्वयं प्रेम, अपनत्व र आत्मीयताको प्रतीक हो । यस शीर्षकले लेखकको किताबप्रतिको प्रेमभाव स्वतः उद्घाटित गर्छ ।

उहाँ किताब केवल पढ्नु मात्र होइन, मन परेका पुस्तकहरूलाई अत्यन्त मिहिन ढङ्गले अध्ययन गर्नुहुन्छ । किताबलाई साथीझैँ अँगालेर, उसका शब्दभित्र पस्दै, भाव र सन्देशको गहिराइसम्म पुगेर समीक्षा गर्नु उहाँको लेखनको विशेषता हो ।

त्यसैले मन परेका पुस्तकहरूको प्रेमपूर्वक गरिएको समीक्षाको संगालो नै यो कृति हो । साँचो अर्थमा ‘किताबको अँगालोमा’ ।

यो पुस्तक किताबप्रतिको सम्मान, पाठकप्रतिको जिम्मेवारी र साहित्यप्रतिको निष्ठाको सुन्दर अभिव्यक्ति हो भन्न सकिन्छ ।किताबको अँगालोमा म पनि अँगालिएँ र त्यही अँगालोबाट फुस्कने जमर्को गर्दै यो सानो लेख लेख्दै छु ।

रोचक कुरा के छ भने यस संग्रहमा मेरो कविता संग्रह ‘जंगलको यात्रा’ पनि समावेश गरिएको रहेछ । एक नवलेखकका लागि यसभन्दा ठूलो खुशी र प्रेरणा के हुन सक्छ र ? आफ्नो पुस्तकको समीक्षा पढ्दा म अत्यन्त गदगद भएँ । सुरुमा त आफ्नै समीक्षा पढेँ, त्यसपछि क्रमशः अरू समीक्षाहरू पढ्न थालेँ । र उहाले लेख्नु भएको मूलमन्त्र -चरै वेती, चरै वेती । हो म त्यही प्रयासमा छु ।

किताब पढिसकेपछि कुरैकुरामा एक पटक लेखकको प्रश्न थियो ।

किताब कस्तो लाग्यो ?’

त्यतिबेला म त्यस प्रश्नको स्पष्ट उत्तर दिन सकिनँ । तर आज यही लेखमार्फत त्यो प्रश्नको उत्तर दिन प्रयास गरेकी छु । म एक विशुद्ध पाठक हुँ । मलाई किताब पढ्न मन पर्छ । म सधैं किताब पढ्छु भन्ने होइन, तर एउटा किताब सधैं मेरो साथमा हुन्छ । कहिलेकाहीँ लामो समयसम्म किताब नपढेँ भने लाग्छ । मैले कुनै ठूलो कुरा गुमाइरहेकी छु, वा समय खेर फालिरहेकी छु । त्यसबेला आफैंसँग ग्लानी महसुस हुन्छ ।

जीवन आफूले सोचे जस्तो हुँदैन रहेछ । यदि हुँदो हो त जीवन कति सहज हुन्थ्यो होला । म पनि नेपाली किताब र साहित्य नजिकै भएको ठाउँमा बस्न रुचाउँथेँ होला । तर जन्मिएपछि कर्म गर्न मानिसको बसाइँसराइ हुनु नौलो कुरा होइन । यो त मानव सभ्यतासँगै सुरु भएको प्रक्रिया हो ।

त्यही कर्मको खोजीमा मेरो बसाइँ लामो समयदेखि अमेरिकाको क्यान्सस राज्यमा रहँदै आएको छ, जहाँ नेपाली समाजको उपस्थिति निकै पातलो छ । त्यसमाथि पनि साहित्य मन पराउने र किताब पढ्ने मानिसहरू त झन् हातमै गन्न सकिने जति मात्र छन् ।

किताब पढ्ने कोही भेटिन्छ कि भनेर म प्रायः नेपाली जमघटहरूमा खोजिरहेकी हुन्छु । यसमा मेरो आफ्नै स्वार्थ छ । किताबका बारेमा कुरा गर्न, वा बजारमा कुनै नयाँ नेपाली किताब पाइन्छ कि भनेर बुझ्न ।

हुन त आजकल किताबहरू धेरै माध्यमबाट, डिजिटल रूपमा पनि पढ्न पाइन्छ । तर म डिजिटल किताब पढेर पूर्ण सन्तुष्टि मान्ने मान्छे परिनँ । त्यसैले राम्रो किताब भेट्टाउनु मेरो लागि एउटा चुनौती नै बनेको छ । विशेष गरी राम्रा नेपाली आख्यानहरू कुन–कुन छन् भनेर थाहा पाउनु वा भेट्टाउनु सजिलो कुरा होइन ।

सामाजिक सञ्जालमा नेपाली किताबको समीक्षा अत्यन्त न्यून छ । अंग्रेजी किताबको तुलनामा । अंग्रेजी किताब बुझ्नुपर्‍यो भने त कति समीक्षा छन्, कति ‘तारा’ प्राप्त गरेका छन् भन्ने समेत सजिलै थाहा पाउन सकिन्छ । जति धेरै तारा देखियो, त्यति लोकप्रिय किताब रहेछ भन्ने बुझिन्छ ।

तर नेपाली किताबका हकमा यस्तो सुविधा निकै सीमित छ । त्यसैले जब जयदेव गौतम जस्ता समीक्षकका समीक्षा हात पर्छन्, ती केवल समीक्षा मात्र होइनन् । नेपाली साहित्यसँग जोडिने एउटा पुलजस्तै लाग्छन्।

कतै नेपाली पुस्तकको बारेमा पढ्न पाइयो भने पनि ती लेखहरू प्रायः एकपक्षीय मात्र हुन्छन् ।

‘यो किताब निकै राम्रो छ’, ‘एकदम मन पर्यो’, ‘अत्यन्त उत्कृष्ट कृति’ जस्ता प्रशंसात्मक वाक्यहरू मात्र भेटिन्छन् । तर किताबको राम्रो पक्ष के हो? र कमजोरी के हो ? भन्ने कुरा खुलस्त रूपमा कमै लेखिएको पाइन्छ ।

कृतिमा भएका कमी–कमजोरी उल्लेख गर्दा कृतिकारको चित्त दुख्ला कि भन्ने डरले हो कि, समीक्षकहरूले स्पष्ट आलोचना गर्न हिच्किचाएको जस्तो लाग्छ ।

तर जयदेव गौतम का समीक्षाहरू पढ्दा मैले फरक अनुभव पाएँ । उहाँले किताबका अक्षर–अक्षर, शब्द–शब्द केलाएर, कुना-कुनाबाट पढेर, आफ्नै दृष्टिकोणबाट परिश्रमपूर्वक समीक्षा गर्नुभएको मैले देखेँ ।

पाठकले किताब आफ्नै स्वादअनुसार पढ्छ । त्यसैले एक पाठकलाई मन परेको किताब अर्को पाठकलाई मन नपर्नु स्वाभाविक हो । तर किताबको मूल तात्पर्य के हो, र लेखकले भन्न खोजेको कुरा के हो भन्ने बुझ्न सकेपछि पाठकको किताबप्रतिको मोह अझ गहिरो बन्न सक्छ ।

यसरी पाठकहरूलाई किताब पढ्न प्रेरित गर्ने समीक्षाहरूको संगालो नै किताबको अँगालोमा हो । यो जयदेव गौतमको नयाँ कृति हो । म यस्तो प्रकारको कृति पहिलो पटक पढिरहेकी हुँ ।

सायद नेपाली साहित्यमा समीक्षा संकलित कृतिहरू बजारमा त्यति धेरै प्रचलित छैनन् । कथा सङ्ग्रह, कविता सङ्ग्रह वा निबन्ध सङ्ग्रहको तुलनामा समीक्षा सङ्ग्रह कमै देखिन्छ । त्यसैले यसलाई एउटा नौलो र महत्वपूर्ण विधागत प्रयास भन्नु अत्युक्ति नहोला ।

लेखक जयदेव गौतमको यस समीक्षा सङ्ग्रहमा ४२ वटा विभिन्न विधाका कृतिहरूको समीक्षा समेटिएको छ । जसमा उपन्यास, निबन्ध सङ्ग्रह, कथा सङ्ग्रह, कविता सङ्ग्रह तथा नियात्रा विधाका पुस्तकहरू रहेका छन् । सबै विधालाई उत्तिकै माया गरेर उहाँले पुस्तक मात्र होइन, पुस्तकका लेखकहरूका बारेमा पनि उत्तिकै चासो र आत्मीयतासाथ लेख्नुभएको छ ।

किताबको अँगालोमा (पुस्तक समीक्षा सङ्ग्रह) गत वर्ष सन् २०२५ को जुन महिनामा सुन्दर स्वदेश पब्लिकेशन बाट प्रकाशित भएको हो । यसको मुद्रण सहारा प्रिन्ट कनेक्सन, डिल्लीबजारमा गरिएको छ ।

पुस्तक पल्टाउँदा सुरुमै लेखकले आफ्ना स्वर्गवासी बुवा–आमा कृष्ण शर्मा गौतम र दुर्गादेवी चापागाईं गौतम तथा पढ्न र लेख्न रुचि, चासो र उत्साह राख्ने सबैप्रति समर्पण गर्नुभएको देखिन्छ । यो समर्पण स्वयंमा एउटा भावुक र अर्थपूर्ण संकेत हो । किताब केवल कागजको थुप्रो होइन, स्मृति, सम्मान र उत्तरदायित्वको अभिव्यक्ति पनि हो ।

पुस्तकहरूको समीक्षा भागमा प्रवेश गर्नुअघि यस कृतिको भूमिका लेखक प्रमोद प्रधान ले अत्यन्त सुन्दर र प्रभावकारी ढङ्गले लेख्नुभएको छ । जुन शैलीमा यो भूमिका प्रस्तुत गरिएको छ, त्यो आफैंमा पठनीय छ । पुस्तक कस्तो छ र लेखक को हुन् भन्ने कुरा प्रमोद प्रधानले सरल, रोचक र आत्मीय भाषामा प्रस्तुत गर्नुभएको छ ।

उहाँ लेख्नुहुन्छ -‘पुस्तकको पठनबाट आनन्द लिने यस्ता मानिसहरूको पातलो उपस्थितिमा आज जयदेव गौतमलाई देखिरहेछु, भेटिरहेछु । जयदेव गौतमको प्रस्तुत कृति उनको ‘पठनप्रियता’को साक्षी हो भन्ने मलाई लाग्छ । उनले यो कृतिलाई जे सुकै नाम दिए पनि अहिले भने यसको नामकरण गरेका छन् । ‘अनेक विधा : अनेक कृति’ ।”

करिब पाँच पृष्ठमा समेटिएको यो भूमिका पढेपछि पाठकहरूमा पुस्तकप्रतिको मोह अझ बढेको महसुस हुन्छ ।

यस कृतिलाई सुन्दर बनाउन लेखक जयदेव गौतम को आफ्नै “लेखनीय” ले अर्को महत्वपूर्ण भूमिका खेलेको छ । करिब छ पृष्ठमा लेखिएको यस लेखनीयमा उहाँले समीक्षा के हो ? समीक्षा किन लेखिनुपर्छ? समीक्षा र समालोचनाबीच के फरक छ? जस्ता आधारभूत प्रश्नहरूलाई स्पष्ट पार्नुभएको छ ।

उहाँ भनाइ के छ भने पुस्तकको समीक्षा गर्नु तुलनात्मक रूपमा सहज भए पनि पुस्तकको समालोचना गर्नु निकै कठिन कार्य हो, जसका लागि गहिरो सैद्धान्तिक ज्ञान आवश्यक पर्छ ।

पुस्तक किन लेखिनुपर्छ र किन पढिनुपर्छ भन्ने प्रश्नदेखि लिएर समीक्षा गर्दा आइपर्ने समस्या तथा रोचक उदाहरणहरूसम्म उहाँले प्रस्तुत गर्नुभएको छ । ती उदाहरणहरू मैले कतै न सुनेका र न पढेका थिएँ । त्यसैले यस लेखनीयलाई मैले ज्ञानप्रद लेखका रूपमा लिएकी छु ।

म जस्तै लेख्न र पढ्न रुचाउने पाठकहरूले अवश्य पढ्नै पर्ने लेखनीय हो यो । यदि यस लेखनीयलाई यस पुस्तकबाट अलग गरी छुट्टै रूपमा प्रकाशित गरियो भने पनि यो लेखकहरूका लागि प्रेरणादायी र ज्ञानवर्धक सामग्री बन्न सक्छ भन्नेमा दुई मत नहोला ।

उहाँ नेपाली पुस्तक मात्र होइन, अंग्रेजी तथा अन्य भाषाका कृतिहरू पढ्न र तिनको समालोचना गर्न रुचाउनुहुन्छ भन्ने कुरा यस लेखनीयबाट प्रस्ट हुन्छ । यस संग्रहमा जम्मा ४२ वटा पुस्तक समीक्षाहरू समेटिएका छन् । विभिन्न विधाका कृतिहरू यसमा समावेश छन् । उपन्यास, निबन्ध सङ्ग्रह, कथा सङ्ग्रह, कविता सङ्ग्रह, नियात्रा, जीवनी, आत्मकथा, स्मृतिग्रन्थ तथा चिठी साहित्य ।

भूमिका सङ्ग्रह

१. शिव रेग्मी – महाकविका भूमिका

यी प्रत्येक पुस्तकका समीक्षाका बारेमा लेखक प्रमोद प्रधान को लेखनीय पढ्न अत्यन्त रोचक लाग्छ । यी पुस्तकहरूको समीक्षा गर्दा लेखक जयदेव गौतम ले कसैप्रति पूर्वाग्रह नराखी, निडरताका साथ कृतिहरूको सूक्ष्म चिरफार गर्नुभएको छ । यस्तो निर्भीक र निष्पक्ष समीक्षा गर्नु जोकोही समीक्षक वा समालोचकका लागि सजिलो कुरा होइन ।

उहाँलाई जस्तो लाग्यो, त्यही स्पष्ट रूपमा लेख्नु नै उहाँको लेखनको ठूलो विशेषता हो जस्तो लाग्छ । यसले गर्दा विशेष गरी नवलेखकहरूलाई आफ्ना कमी–कमजोरी चिनेर सुधार गर्ने अवसर मिल्छ । समीक्षा केवल प्रशंसा मात्र नभई सुधारको मार्ग पनि बन्न सक्छ भन्ने उदाहरण उहाँका लेखनबाट देखिन्छ ।

उहाँका प्रायः समीक्षा लेखहरू यस सङ्ग्रहमा आउनुअघि नै विभिन्न सञ्चार माध्यममार्फत पाठकसम्म पुगिसकेका थिए । केही कुरा भने उहाँले अन्तिम पृष्ठको ‘आभार’ खण्डमा उल्लेख गर्नुभएको छ । आफूलाई साथ र सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति कृतज्ञता व्यक्त गर्दै यो पुस्तक सम्पन्न गरिएको छ ।

समग्रमा यस पुस्तकका समीक्षाहरू सरल, प्रवाहयुक्त र सहज भाषामा लेखिएका छन् । पहिले नै पढिसकेका पुस्तकहरू पनि समीक्षा पढेपछि फेरि पढौँ,पढौँ लाग्ने बनाइदिन्छन् । यस अर्थमा यी समीक्षाहरू समीक्षा मात्र नभई पुस्तक बुझ्ने माध्यम पनि बनेका छन् ।

तर पढ्दै जाँदा वाक्यको बीच बीचमा कोष्ठकभित्र राखिएका लामो वाक्यहरूले कतैकतै पाठकलाई अवरोध पुर्‍याएको अनुभूति हुन्छ । साथै, केही पुस्तकका लेखकहरूको नाम समीक्षा निकै पछाडि मात्र उल्लेख गरिएको भेटिन्छ, जसले पाठकलाई सुरुमै कृतिकार चिन्ने अवसर नदिएको अनुभूति हुन्छ ।

यद्यपि यी साना कमजोरीहरू हुँदाहुँदै पनि समग्रमा यो पुस्तकले पाठकहरूलाई यहाँ समेटिएका कृतिहरू आफ्ना रुचिअनुसार किनेर पढ्न प्रेरित गर्छ । मलाई पनि केही पुस्तक तुरुन्तै किनेर पढूँ पढूँ जस्तो हुटहुटी जगाइदिएको छ ।

पुस्तकप्रेमीहरूका लागि यो सङ्ग्रहले किताबलाई हेर्ने दृष्टि नै फराकिलो बनाइदिएको छ । यस्ता समीक्षा सङ्ग्रहहरू अझ धेरै बजारमा आउनुपर्छ भन्ने चाहना जाग्छ । आशा छ, जयदेव गौतमले आगामी दिनमा पनि यस्तै अर्थपूर्ण र उपयोगी कृतिहरू पाठकहरूलाई प्रदान गर्नुहुनेछ । हार्दिक बधाई ।

यो पुस्तकले पाठकहरूलाई यहाँ समेटिएका कृतिहरू आफ्ना रुचिअनुसार किनेर पढ्न प्रेरित गर्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?