News Summary
Generated by OK AI. Editorially reviewed.- गायक हेमन्त शर्माले पत्नी रीतुको स्तन क्यान्सरको उपचार सफलतापूर्वक नेपालमै सम्पन्न भएको बताएका छन्।
- रीतुलाई भदौको तेस्रो साता स्तन क्यान्सर पुष्टि भएपछि नेपाल क्यान्सर अस्पतालमा ८ केमोथेरापी, डबल मास्टेक्टोमी र १५ रेडिएसन गरिएको थियो।
- उपचारको क्रममा ८० पटक अस्पताल जानुपरेको र अहिले स्वास्थ्य अवस्था धेरै सुधार भएको शर्माले बताएका छन्।
काठमाडौं । गायक हेमन्त शर्माले आफ्नी पत्नी रीतुको स्तन क्यान्सरको उपचार सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले उपचारको मुख्य चरण नेपालमै पूरा भएको र भारत जानुपर्ने अवस्था नआएको बताएका हुन् ।
शर्माका अनुसार भदौको तेस्रो साता रीतुमा स्तन क्यान्सर पुष्टि भएको थियो । त्यसपछि ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार सुरु गरिएको थियो । ८ पटक केमोथेरापी, डबल मास्टेक्टोमी शल्यक्रिया र १५ पटक रेडिएसनसहित उपचारको मुख्य चरण हालै सम्पन्न भएको उनले उल्लेख गरेका छन् ।
डा. सुदीप श्रेष्ठको निगरानीमा उपचार गरिएको बताउँदै उनले चिकित्सकको टोलीको कामप्रति सन्तोष व्यक्त गरेका छन् । चिकित्सकको व्यवहारबाट आफूहरू प्रभावित भएको उनले बताएका छन् ।
सामाजिक सञ्जालमा पहिलो पटक जानकारी सार्वजनिक गरेपछि देश-विदेशबाट परिचित र अपरिचित धेरै शुभेच्छुकले फोन, सन्देश तथा प्रत्यक्ष भेटमार्फत हौसला दिएको उनले बताएका छन् ।
शर्माका अनुसार उपचारको सुरुवाती चरणमा धेरैले दिल्ली गएर उपचार गर्न सुझाव दिएका थिए । तर पारिवारिक सल्लाह, नेपालमै उपलब्ध उपचार सुविधाप्रतिको विश्वास र आफ्नै परिस्थितिलाई ध्यानमा राखेर उपचारका लागि नेपाल नै रोजिएको उनले बताए ।
करिब ६ महिनाको उपचार अवधिमा अस्पताल करिब ८० पटक पुग्नुपरेको उनले बताएका छन् । त्यसक्रममा धेरै बिरामीसँग चिनजान भएको र उनीहरूसँग बिताएका क्षण पनि सम्झनलायक रहेको उनले उल्लेख गरेका छन् ।
हाल केही शारीरिक असुविधा, नियमित अस्पताल फलोअप र दीर्घकालसम्म औषधि सेवन गर्नुपर्ने अवस्था भए पनि स्वास्थ्य अवस्था धेरै हदसम्म सुधार भएको अनुभव गरेको शर्माले बताएका छन् । अन्त्यमा उनले आफूहरूप्रति देखाइएको सद्भाव र साथका लागि सबै शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4