News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर २०६ पुगेको छ, जुन अस्वस्थको तहभन्दा धेरै हो।
- काठमाडौं विश्वकै तेस्रो अस्वस्थ शहर बनेको छ।
- वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी बिरामी अस्पतालमा बढेका छन्।
२६ फागुन, काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा घाम लागेको छैन । काठमाडौंवासीमा आँखा पोल्ने, घाँटी खसखसाउने, टाउको दुख्ने जस्ता समस्या झेलिरहेको छन् ।
यस्तो अनभुव गर्ने मध्येका एक हुन्, घट्टेकुलो बस्ने ३१ वर्षीय अर्जुन घिमिरे ।
उनी भन्छन्, ‘बिहान अफिस जान भनेर निस्किएँ । आँखा एक्कासी पिरो भयो । केही बेरमा आँखाको गेडी समेत दुख्न थाल्यो ।’
यस्ता अनुभव अहिले अधिंकाश काठमाडौंबासीले महशुस गर्न थालेका छन् । विज्ञका अनुसार उक्त समस्या काठमाडौंमा वायू प्रदूषण निकै अस्वस्थको तह पार गर्दा निम्तिएको हो ।
रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार मंगलबार बिहान ९ बजे काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) २०६ पुगेको थियो । जबकि एक्यूआई १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ ।

२०० माथि पुग्नुलाई निकै अस्वस्थ मानिन्छ । काठमाडौं आज समग्रमा संसारकै अस्वस्थ शहरमध्ये तेस्रो स्थानमा पुगेको थियो ।
यसको असर सामान्य मानिसको दैनिकीमै प्रत्यक्ष देखिन थालेको छ । जसका कारण अस्पतालमा पनि बिरामीको चाप बढ्दो छ । धुवाँधुलोका कारण कतिपय दीर्घरोगी त भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने अवस्थामा पुगेको चिकित्सकहरू बताउँछन् ।
प्रदूषणले खतराको तह नाघ्यो, बढे बिरामी
वरिष्ठ छातीरोग विशेषज्ञ डा. राजु पंगेनीका अनुसार पछिल्लो एक महिनायता अस्पतालमा श्वासप्रश्वाससम्बन्धी बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ । उनका अनुसार छातीरोग बहिरंग सेवामा दैनिक सेवा लिन आउने बिरामीमध्ये आधा जसो वायु प्रदूषणबाट निम्तिएको समस्याले अस्पताल पुगेका छन् ।
विशेषगरी रुघाखोकी, दम बढ्ने, ब्रोंकाइटिस, निमोनिया तथा विभिन्न भाइरल संक्रमणका बिरामी बढिरहेको डा. पंगेनीले बताए ।
‘हरेक दिन पाँचदेखि सात जनासम्ममा इन्फ्लुएन्जा पोजिटिभ देखिएको छ,’ डा. पंगेनी भन्छन्, ‘रुघाखोकी र ब्रोंकाइटिसदेखि लिएर निमोनिया र दमका कारण आइसियुमा भर्ना गर्नुपर्ने बिरामी पनि अघिल्लो महिनाको तुलनामा बढेका छन् ।’

वायु प्रदूषणको असरका कारण रुघाखोकी लागेर आएका बिरामीलाई औषधिले समेत काम नगर्ने अवस्था बनेको छ ।
पाँच वर्षभन्दा मुनिका बालबालिका, ६५ वर्ष नाघेका वृद्धवृद्धा, दम, एलर्जी, दीर्घरोगी जोकोहीलाई पनि वायु प्रदूषणले असर गर्नसक्छ । सँगसँगै प्रदूषणका कारण खोक्नसक्ने क्षमता कम हुन्छ । वृद्धवृद्धालाई खोकेर खकार निकाल्न नसक्ने समेत अवस्थामा पुर्याउँछ ।
वायू प्रदूषणले अस्वस्थको तह पारगरेसँगै स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आम नागरिकलाई आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी काठमाडौं, पोखरा, विराटनगरलगायत तराईका विभिन्न क्षेत्रको हावामा हानिकारक पर्टिकुलेट म्याटर (पीएम २.५) को मात्रा निकै बढेको बताउँछन् ।
डा. बुढाथोकी भन्छन्, ‘वायू प्रदूषणले आँखा दुख्ने, पाक्ने र दृष्टिमै नोक्सान पुर्याउनेदेखि लिएर मुटु, मिर्गौला, श्वासप्रश्वाससम्बन्धी गम्भीर रोग र क्यान्सरसमेत गराउन सक्छ ।’
बिहान र साँझको समयमा हानिकारक किटाणु र कणहरू वायुमण्डलको तल्लो तहमा जम्मा हुने भएकाले उक्त समयमा मर्निङ वाक वा इभिनिङ वाकमा ननिस्कन मन्त्रालयले अनुरोध समेत गरेको छ ।
बाहिर निस्कनै पर्ने अवस्थामा अनिवार्य मास्कको प्रयोग गर्न, आँखा जोगाउन चस्मा वा लगाउन र छालालाई प्रदूषणबाट बचाउन पूरै शरीर छोपिने गरी कपडा तथा टोपी लगाउन मन्त्रालयले सुझाएको छ ।
सम्पूर्ण अंग बिगारिरहेको प्रदूषित हावा
वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । प्रदूषित हावाका कारण श्वासप्रश्वास, मुटु तथा अन्य अंगसम्बन्धी रोगको जोखिम बढ्दै गएको चिकित्सक बताउँछन् ।
नेपाल ‘बर्डेन अफ डिजिज’को पछिल्लो तथ्यांकअनुसार नेपालमा वार्षिक १ लाख ९३ हजार ३३१ जनाको मृत्यु हुने गरेको छ । यसमध्ये सबैभन्दा बढी मृत्यु मुटु तथा रक्तनलीसम्बन्धी रोगका कारण हुने गरेको देखिन्छ । यस्तो रोगबाट मात्रै वर्षेनी ४६ हजार ३९९ नेपालीको ज्यान जाने गरेको तथ्यांकले देखाउँछ ।
यसपछि दीर्घ श्वास–प्रश्वाससम्बन्धी रोग मृत्युको दोस्रो ठूलो कारण बनेको छ । दीर्घ श्वास–प्रश्वाससम्बन्धी रोगले वार्षिक ४० हजार ७९२ जनाको ज्यान लिन्छ ।
चिकित्सकहरूका अनुसार श्वासप्रश्वाससम्बन्धी रोगमध्ये सीओपीडी, दम र आस्थमाले ९० प्रतिशतभन्दा बढी बिरामीलाई प्रभावित पारिरहेको हुन्छ ।
डा. पगेनीका अनुसार दीर्घ श्वास–प्रश्वासको समस्याले फोक्सो र श्वासनली सुन्निने तथा खुम्चिने समस्या देखिन्छ । जसका कारण बिरामीलाई सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, स्वाँ–स्वाँ हुने, छाती कस्सिने तथा छाती भारी हुने जस्ता लक्षण देखिन्छ । पंगेनीका अनुसार धूमपान र वायु प्रदूषण दीर्घ श्वास–प्रश्वास रोगका प्रमुख कारक हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ५० भन्दा बढी हुँदा मानव स्वास्थ्यका लागि घातक मानिन्छ । डब्लूएचओको एक तथ्यांकले १० मध्ये ९ जनाले उच्च स्तरको प्रदूषण भएको हावामा सास फेर्ने देखाएको छ । त्यसैगरी वातावरण तथा घरेलु वायु प्रदूषणका कारण प्रत्येक वर्ष ७० लाख मानिसहरूको मृत्यु भइरहेको डब्लूएचओको तथ्यांक छ ।
वायु प्रदूषणको मात्रा बढी भएमा त्यसले रोगसँग लड्ने क्षमता कम भएको मानिसलाई बढी असर गर्छ । प्रदूषित हावामा रहेका मसिना कण श्वासनली र फोक्सो हुँदै रगतसम्म पुगेर शरीरभरि फैलिने गर्छन् ।
‘फोक्सोमा संक्रमण बढ्दै गएमा शरीरमा अक्सिजनको मात्रा घट्ने र सास फेर्न गाह्रो हुने समस्या हुन्छ,’ डा. पंगेनी भन्छन्, ‘ कतिपयलाई भेन्टिलेटरमा समेर राखेर उपचार गर्नुपर्ने हुन्छ ।’
डा. पंगेनीका अनुसार प्रदूषणको असर फोक्सोमा मात्र सीमित हुँदैन । दीर्घकालीन रूपमा यसले मुटु, रक्तसञ्चार प्रणाली र शरीरका अन्य अंगमा समेत असर गर्न सक्छ । प्रदूषित कण रगतमार्फत शरीरका विभिन्न अंगसम्म पुगेर स्वास्थ्य जोखिम बढाउने गर्छ ।

पछिल्लो समय मुटुसम्बन्धी समस्या पनि केही बढेको चिकित्सकहरूको भनाइ छ । विशेषगरी जाडो मौसम र वायु प्रदूषणका कारण हृदयघात र पक्षाघातको जोखिम बढ्न सक्छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुका अनुसार हावामा रहेका मसिना धुलोका कण तथा अन्य सूक्ष्म कण स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छन् । यी कण रगतमा पुगेपछि रगतलाई कडा बनाइदिने भएकाले शरीरका विभिन्न अंगमा समस्या उत्पन्न हुन सक्छ ।
‘प्रदूषणका सूक्ष्म कणहरूले रक्तनलीमा असर पारेर रगतको प्रवाहमा अवरोध पुर्याउन सक्छन्,’ कोजु भन्छन्, ‘यसले मुटु र मस्तिष्कमा जाने रक्तसञ्चारमा समस्या ल्याएर हृदयघात वा पक्षाघातसम्म गराउन सक्छ ।’

डा. कोजुका अनुसार वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी समस्या मात्र होइन, हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, आँखा तथा छालासम्बन्धी रोग र क्यान्सरसम्म निम्त्याउन सक्छ ।
‘वायु प्रदूषणका कारण नाक पोल्ने, नाक सुख्खा हुने, घाँटी खसखसाउने तथा आँखामा असर पर्ने जस्ता समस्या तुरुन्त देखिन्छन्,’ उनले भने, ‘तर प्रदूषणले मानिसलाई एकैचोटि निसासिएर मार्दैन । यो विस्तारै ‘साइलेन्ट किलर’ का रूपमा काम गर्दै मानिसको ज्यान लिइरहेको हुन्छ ।’
काठमाडौंमा वायु प्रदूषण बढ्नुमा सवारीसाधनबाट निस्कने धुँवा, उद्योग तथा कलकारखानाबाट आउने धुलो–धुँवा, जाडो मौसममा बालिने आगो, वनडढेलो र वर्षा नहुनु प्रमुख कारण हुन् ।
वर्षा कम हुने, हावा कम चल्ने र जाडो मौसम हुने बेला प्रदूषणका कण वातावरणमै थुप्रिने भएकाले उपत्यकामा प्रदूषणको मात्रा बढी देखिने गर्छ ।
वायु प्रदूषणको प्रभावबारे चेतना जगाउन र जनमानसमा वायु प्रदूषणबाट बचाउन तत्काल ठोस कदम चाल्नुपर्ने विज्ञ बताउँछन् ।
यसका लागि दीर्घकालीन रुपमा व्यवस्थित शहरीकरण, नवीकरणीय ऊर्जा प्रयोग, रुख–बिरुवा लगाउने, फोहोर नजलाउने जस्ता कार्य गरी वायु प्रदूषण कम गर्न सकिने विज्ञ बताउँछन् ।
किन वायू प्रदूषण बढ्यो ?
काठमाडौंमा वायु प्रदूषण अचानक बढेको होइन र प्रदूषणका कणहरू एक दुई दिनयता आकाशमा जम्मा भएका पनि होइनन् । खासगरी बर्खेझरी रोकिएपछि हिउँदमा पानी नै परेन । त्यसैले वायुमण्डलमा जम्मा भएको धुवाधुलो पनि हराउन सकेको छैन ।
अहिले नेपालका धेरै स्थानहरूमा वायुमण्डल स्थिर अवस्थामा छ । हावा चलिरहेको छैन र यहाँको धुवाँ धुलो अन्यत्र फैलिन पाएको छैन, वायुमण्डलमा नै तैरिरहेका छन् ।
अहिले काठमाडौं उपत्यका लगायतका ठूला शहरमा हावा नचल्दा र पानी नपर्दा प्रदूषित विखालु हावा सतहमा तैरिएर बसेका छन् ।
काठमाडौँ त कचौराजस्तो छ । खासगरी काठमाडौंको पश्चिमी ढोका नागढुंगाको वनपाखा हुँदै छिरेको धुवाँ धुलोसहितको हावा नागार्जुन, साँगा हुँदै बाहिरने गर्छ । तर अहिले धुवाँ र धुलोको कण सतहमा माथि जान सकेको छैन ।
विज्ञका अनुसार जबसम्म झरी दर्केर पर्दैन, हावी चल्दैन, त्योबेलासम्म यस्तै हुनेछ । त्यसका लागि त मनसुन नै कुर्नुपर्छ ।
प्रतिक्रिया 4