+
+
Shares

काठमाडौंवासीलाई आँखा पोल्ने समस्या किन भइरहेको छ ?

अहिले नेपालका धेरै स्थानहरूमा वायुमण्डल स्थिर अवस्थामा छ । हावा चलिरहेको छैन र यहाँको धुवाँ धुलो अन्यत्र फैलिन पाएको छैन, वायुमण्डलमा नै तैरिरहेका छन् ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ फागुन २६ गते २२:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर २०६ पुगेको छ, जुन अस्वस्थको तहभन्दा धेरै हो।
  • काठमाडौं विश्वकै तेस्रो अस्वस्थ शहर बनेको छ।
  • वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी बिरामी अस्पतालमा बढेका छन्।

२६ फागुन, काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा घाम लागेको छैन । काठमाडौंवासीमा आँखा पोल्ने, घाँटी खसखसाउने, टाउको दुख्ने जस्ता समस्या झेलिरहेको छन् ।

यस्तो अनभुव गर्ने मध्येका एक हुन्, घट्टेकुलो बस्ने ३१ वर्षीय अर्जुन घिमिरे ।

उनी भन्छन्, ‘बिहान अफिस जान भनेर निस्किएँ । आँखा एक्कासी पिरो भयो । केही बेरमा आँखाको गेडी समेत दुख्न थाल्यो ।’

यस्ता अनुभव अहिले अधिंकाश काठमाडौंबासीले महशुस गर्न थालेका छन् । विज्ञका अनुसार उक्त समस्या काठमाडौंमा वायू प्रदूषण निकै अस्वस्थको तह पार गर्दा निम्तिएको हो ।

रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार मंगलबार बिहान ९ बजे काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) २०६ पुगेको थियो । जबकि एक्यूआई १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ ।

२०० माथि पुग्नुलाई निकै अस्वस्थ मानिन्छ । काठमाडौं आज समग्रमा संसारकै अस्वस्थ शहरमध्ये तेस्रो स्थानमा पुगेको थियो ।

यसको असर सामान्य मानिसको दैनिकीमै प्रत्यक्ष देखिन थालेको छ । जसका कारण अस्पतालमा पनि बिरामीको चाप बढ्दो छ । धुवाँधुलोका कारण कतिपय दीर्घरोगी त भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने अवस्थामा पुगेको चिकित्सकहरू बताउँछन् ।

प्रदूषणले खतराको तह नाघ्यो, बढे बिरामी

वरिष्ठ छातीरोग विशेषज्ञ डा. राजु पंगेनीका अनुसार पछिल्लो एक महिनायता अस्पतालमा श्वासप्रश्वाससम्बन्धी बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ । उनका अनुसार छातीरोग बहिरंग सेवामा दैनिक सेवा लिन आउने बिरामीमध्ये आधा जसो वायु प्रदूषणबाट निम्तिएको समस्याले अस्पताल पुगेका छन् ।

विशेषगरी रुघाखोकी, दम बढ्ने, ब्रोंकाइटिस, निमोनिया तथा विभिन्न भाइरल संक्रमणका बिरामी बढिरहेको डा. पंगेनीले बताए ।

‘हरेक दिन पाँचदेखि सात जनासम्ममा इन्फ्लुएन्जा पोजिटिभ देखिएको छ,’ डा. पंगेनी भन्छन्, ‘रुघाखोकी र ब्रोंकाइटिसदेखि लिएर निमोनिया र दमका कारण आइसियुमा भर्ना गर्नुपर्ने बिरामी पनि अघिल्लो महिनाको तुलनामा बढेका छन् ।’

वरिष्ठ छातीरोग विशेषज्ञ डा. राजु पंगेनी

वायु प्रदूषणको असरका कारण रुघाखोकी लागेर आएका बिरामीलाई औषधिले समेत काम नगर्ने अवस्था बनेको छ ।

पाँच वर्षभन्दा मुनिका बालबालिका, ६५ वर्ष नाघेका वृद्धवृद्धा, दम, एलर्जी, दीर्घरोगी जोकोहीलाई पनि वायु प्रदूषणले असर गर्नसक्छ । सँगसँगै प्रदूषणका कारण खोक्नसक्ने क्षमता कम हुन्छ । वृद्धवृद्धालाई खोकेर खकार निकाल्न नसक्ने समेत अवस्थामा पुर्याउँछ ।

वायू प्रदूषणले अस्वस्थको तह पारगरेसँगै स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आम नागरिकलाई आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी काठमाडौं, पोखरा, विराटनगरलगायत तराईका विभिन्न क्षेत्रको हावामा हानिकारक पर्टिकुलेट म्याटर (पीएम २.५) को मात्रा निकै बढेको बताउँछन् ।

डा. बुढाथोकी भन्छन्, ‘वायू प्रदूषणले आँखा दुख्ने, पाक्ने र दृष्टिमै नोक्सान पुर्याउनेदेखि लिएर मुटु, मिर्गौला, श्वासप्रश्वाससम्बन्धी गम्भीर रोग र क्यान्सरसमेत गराउन सक्छ ।’

बिहान र साँझको समयमा हानिकारक किटाणु र कणहरू वायुमण्डलको तल्लो तहमा जम्मा हुने भएकाले उक्त समयमा मर्निङ वाक वा इभिनिङ वाकमा ननिस्कन मन्त्रालयले अनुरोध समेत गरेको छ ।

बाहिर निस्कनै पर्ने अवस्थामा अनिवार्य मास्कको प्रयोग गर्न, आँखा जोगाउन चस्मा वा लगाउन र छालालाई प्रदूषणबाट बचाउन पूरै शरीर छोपिने गरी कपडा तथा टोपी लगाउन मन्त्रालयले सुझाएको छ ।

सम्पूर्ण अंग बिगारिरहेको प्रदूषित हावा

वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । प्रदूषित हावाका कारण श्वासप्रश्वास, मुटु तथा अन्य अंगसम्बन्धी रोगको जोखिम बढ्दै गएको चिकित्सक बताउँछन् ।

नेपाल ‘बर्डेन अफ डिजिज’को पछिल्लो तथ्यांकअनुसार नेपालमा वार्षिक १ लाख ९३ हजार ३३१ जनाको मृत्यु हुने गरेको छ । यसमध्ये सबैभन्दा बढी मृत्यु मुटु तथा रक्तनलीसम्बन्धी रोगका कारण हुने गरेको देखिन्छ । यस्तो रोगबाट मात्रै वर्षेनी ४६ हजार ३९९ नेपालीको ज्यान जाने गरेको तथ्यांकले देखाउँछ ।

यसपछि दीर्घ श्वास–प्रश्वाससम्बन्धी रोग मृत्युको दोस्रो ठूलो कारण बनेको छ । दीर्घ श्वास–प्रश्वाससम्बन्धी रोगले वार्षिक ४० हजार ७९२ जनाको ज्यान लिन्छ ।

चिकित्सकहरूका अनुसार श्वासप्रश्वाससम्बन्धी रोगमध्ये सीओपीडी, दम र आस्थमाले ९० प्रतिशतभन्दा बढी बिरामीलाई प्रभावित पारिरहेको हुन्छ ।

डा. पगेनीका अनुसार दीर्घ श्वास–प्रश्वासको समस्याले फोक्सो र श्वासनली सुन्निने तथा खुम्चिने समस्या देखिन्छ । जसका कारण बिरामीलाई सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, स्वाँ–स्वाँ हुने, छाती कस्सिने तथा छाती भारी हुने जस्ता लक्षण देखिन्छ । पंगेनीका अनुसार धूमपान र वायु प्रदूषण दीर्घ श्वास–प्रश्वास रोगका प्रमुख कारक हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ५० भन्दा बढी हुँदा मानव स्वास्थ्यका लागि घातक मानिन्छ । डब्लूएचओको एक तथ्यांकले १० मध्ये ९ जनाले उच्च स्तरको प्रदूषण भएको हावामा सास फेर्ने देखाएको छ । त्यसैगरी वातावरण तथा घरेलु वायु प्रदूषणका कारण प्रत्येक वर्ष ७० लाख मानिसहरूको मृत्यु भइरहेको डब्लूएचओको तथ्यांक छ ।

वायु प्रदूषणको मात्रा बढी भएमा त्यसले रोगसँग लड्ने क्षमता कम भएको मानिसलाई बढी असर गर्छ । प्रदूषित हावामा रहेका मसिना कण श्वासनली र फोक्सो हुँदै रगतसम्म पुगेर शरीरभरि फैलिने गर्छन् ।

‘फोक्सोमा संक्रमण बढ्दै गएमा शरीरमा अक्सिजनको मात्रा घट्ने र सास फेर्न गाह्रो हुने समस्या हुन्छ,’ डा. पंगेनी भन्छन्, ‘ कतिपयलाई भेन्टिलेटरमा समेर राखेर उपचार गर्नुपर्ने हुन्छ ।’

डा. पंगेनीका अनुसार प्रदूषणको असर फोक्सोमा मात्र सीमित हुँदैन । दीर्घकालीन रूपमा यसले मुटु, रक्तसञ्चार प्रणाली र शरीरका अन्य अंगमा समेत असर गर्न सक्छ । प्रदूषित कण रगतमार्फत शरीरका विभिन्न अंगसम्म पुगेर स्वास्थ्य जोखिम बढाउने गर्छ ।

पछिल्लो समय मुटुसम्बन्धी समस्या पनि केही बढेको चिकित्सकहरूको भनाइ छ । विशेषगरी जाडो मौसम र वायु प्रदूषणका कारण हृदयघात र पक्षाघातको जोखिम बढ्न सक्छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुका अनुसार हावामा रहेका मसिना धुलोका कण तथा अन्य सूक्ष्म कण स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छन् । यी कण रगतमा पुगेपछि रगतलाई कडा बनाइदिने भएकाले शरीरका विभिन्न अंगमा समस्या उत्पन्न हुन सक्छ ।

‘प्रदूषणका सूक्ष्म कणहरूले रक्तनलीमा असर पारेर रगतको प्रवाहमा अवरोध पुर्याउन सक्छन्,’ कोजु भन्छन्, ‘यसले मुटु र मस्तिष्कमा जाने रक्तसञ्चारमा समस्या ल्याएर हृदयघात वा पक्षाघातसम्म गराउन सक्छ ।’

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजु

डा. कोजुका अनुसार वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी समस्या मात्र होइन, हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, आँखा तथा छालासम्बन्धी रोग र क्यान्सरसम्म निम्त्याउन सक्छ ।

‘वायु प्रदूषणका कारण नाक पोल्ने, नाक सुख्खा हुने, घाँटी खसखसाउने तथा आँखामा असर पर्ने जस्ता समस्या तुरुन्त देखिन्छन्,’ उनले भने, ‘तर प्रदूषणले मानिसलाई एकैचोटि निसासिएर मार्दैन । यो विस्तारै ‘साइलेन्ट किलर’ का रूपमा काम गर्दै मानिसको ज्यान लिइरहेको हुन्छ ।’

काठमाडौंमा वायु प्रदूषण बढ्नुमा सवारीसाधनबाट निस्कने धुँवा, उद्योग तथा कलकारखानाबाट आउने धुलो–धुँवा, जाडो मौसममा बालिने आगो, वनडढेलो र वर्षा नहुनु प्रमुख कारण हुन् ।

वर्षा कम हुने, हावा कम चल्ने र जाडो मौसम हुने बेला प्रदूषणका कण वातावरणमै थुप्रिने भएकाले उपत्यकामा प्रदूषणको मात्रा बढी देखिने गर्छ ।

वायु प्रदूषणको प्रभावबारे चेतना जगाउन र जनमानसमा वायु प्रदूषणबाट बचाउन तत्काल ठोस कदम चाल्नुपर्ने विज्ञ बताउँछन् ।

यसका लागि दीर्घकालीन रुपमा व्यवस्थित शहरीकरण, नवीकरणीय ऊर्जा प्रयोग, रुख–बिरुवा लगाउने, फोहोर नजलाउने जस्ता कार्य गरी वायु प्रदूषण कम गर्न सकिने विज्ञ बताउँछन् ।

किन वायू प्रदूषण बढ्यो ?

काठमाडौंमा वायु प्रदूषण अचानक बढेको होइन र प्रदूषणका कणहरू एक दुई दिनयता आकाशमा जम्मा भएका पनि होइनन् । खासगरी बर्खेझरी रोकिएपछि हिउँदमा पानी नै परेन । त्यसैले वायुमण्डलमा जम्मा भएको धुवाधुलो पनि हराउन सकेको छैन ।

अहिले नेपालका धेरै स्थानहरूमा वायुमण्डल स्थिर अवस्थामा छ । हावा चलिरहेको छैन र यहाँको धुवाँ धुलो अन्यत्र फैलिन पाएको छैन, वायुमण्डलमा नै तैरिरहेका छन् ।

अहिले काठमाडौं उपत्यका लगायतका ठूला शहरमा हावा नचल्दा र पानी नपर्दा प्रदूषित विखालु हावा सतहमा तैरिएर बसेका छन् ।

काठमाडौँ त कचौराजस्तो छ । खासगरी काठमाडौंको पश्चिमी ढोका नागढुंगाको वनपाखा हुँदै छिरेको धुवाँ धुलोसहितको हावा नागार्जुन, साँगा हुँदै बाहिरने गर्छ । तर अहिले धुवाँ र धुलोको कण सतहमा माथि जान सकेको छैन ।

विज्ञका अनुसार जबसम्म झरी दर्केर पर्दैन, हावी चल्दैन, त्योबेलासम्म यस्तै हुनेछ । त्यसका लागि त मनसुन नै कुर्नुपर्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?