News Summary
Generated by OK AI. Editorially reviewed.- चीनले २८ फागुनमा नेशनल पिपल्स अफ कंग्रेसको सबैभन्दा ठूलो राजनीतिक बैठक आयोजना गरेको छ।
- चीनले १५औँ पञ्चवर्षीय योजनाअन्तर्गत प्रविधि र कृत्रिम बुद्धिमत्तामा ठूलो लगानी गर्ने योजना सार्वजनिक गरेको छ।
- चीनले घरेलु उपभोग बढाउने नीति अघि बढाएको भए पनि त्यसका ठोस विवरण अझै सार्वजनिक गरिएको छैन।
२८ फागुन, काठमाडौं । विश्वका धेरै देशहरु मध्यपूर्वको तनावमा अल्झिरहेका बेला चीनले भने सबैभन्दा ठूलो राजनीतिक बैठक आयोजना गरेको छ । नेशनल पिपल्स अफ कंग्रेस (एनपीसी) भनिने सो बैठक विहीबार सम्पन्न हुने तयारीमा छ ।
यस निकायलाई कानून बनाउने, संविधान संशोधन गर्ने र राज्यको बजेट अनुमोदन गर्ने व्यापक अधिकार रहन्छ । व्यवहारमा भने यसले चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले गरेको निर्णयलाई औपचारिक रुपमा अनुमोदन गर्ने जानकारहरु बताउँछन् ।
एनपीसीसँगै हुने चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्स (सीपीपीसीसी) बैठकलाई संयुक्त रूपमा ‘टु–सेसन’ भनिन्छ ।
एनपीसीसी र एनपीसीबाट सरकारका प्राथमिकता तय हुने भएकाले यी दुवै बैठकहरुलाई अन्तर्राष्ट्रिय रूपमा चासोपूर्वक हेरिन्छ ।
स्थिरताको सन्देश दिन खोज्दै चीन
चीनका राष्ट्रपति सी जिनपिङले आफ्नो आर्थिक व्यवस्थापन क्षमतामार्फत चीनलाई विश्वको अग्रणी शक्ति बनाउने लक्ष्य राखेको विश्लेषण गरिएको छ । बीबीसीका अनुसार विश्व राजनीति अनिश्चित बन्दै गएको अवस्थामा चीनले आफूलाई स्थिर र विश्वसनीय शक्ति भनेर देखाउने प्रयास गरिरहेको छ ।
चीनले घरेलु अर्थतन्त्र सुस्त बनेको अवस्थालाई सुधार्न नागरिकलाई खर्च बढाउन प्रोत्साहन गर्ने नीति अघि बढाएको छ । साथै कृत्रिम बुद्धिमत्ता, औद्योगिक रोबोटजस्ता नयाँ प्रविधिमा अग्रता हासिल गर्ने लक्ष्य पनि चीनले राखेको छ ।
नवीकरणीय ऊर्जामा उत्पादन बढाउँदै लैजाँदा चीन अन्य देशबाट आयात गर्नुपर्ने तेल तथा ग्यासमा निर्भरता घटाउन चाहन्छ । यसले ऊर्जा सुरक्षामा पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
यसैबीच चीनको राजनीतिक कार्यक्रममा देखिने कडाइका साथ नियन्त्रित र पूर्वतयारीसहितको व्यवस्थापनलाई अमेरिका लगायतका देशमा देखिएको राजनीतिक अस्थिरतासँग तुलना गरिएको छ । चीनले आफूलाई स्थिरता र दीर्घकालीन योजना बनाउने देशका रूपमा प्रस्तुत गर्न खोजेको विश्लेषण गरिएको छ ।
प्रविधिमा ठूलो लगानी, एआई प्लस योजना
चीनले आफ्नो आगामी आर्थिक वृद्धिको आधार प्रविधि र नवप्रवर्तनलाई बनाउने योजना सार्वजनिक गरेको छ । १५औँ पञ्चवर्षीय योजनाअन्तर्गत विज्ञान तथा प्रविधिमा थप लगानी गर्ने र अर्थतन्त्रका विभिन्न क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग विस्तार गर्ने लक्ष्य चीनले राखेको छ ।
चीन सरकारले एआईलाई उत्पादन, यातायात, स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रमा प्रयोग गर्ने ‘एआई प्लस’ योजना अघि बढाएको छ । साथै सेमिकन्डक्टर, रोबोटिक्स, क्वान्टम कम्प्युटिङ, सिक्स–जी सञ्चार र ब्रेन–कम्प्युटर इन्टरफेसजस्ता क्षेत्रमा पनि ठूलो लगानी गर्ने तयारीमा चीन छ ।
चीनको आर्थिक वृद्धि दशकौँसम्म घरजग्गा र पूर्वाधार निर्माणमा आधारित थियो । तर अहिले नीति निर्माताहरूले प्रविधि र औद्योगिक सुधारतर्फ ध्यान केन्द्रित गरिरहेका छन् ।
चीन सरकारले आगामी वर्षका लागि ४.५ देखि ५ प्रतिशत आर्थिक वृद्धि लक्ष्य तय गरेका छन्, जुन सन् १९९१ पछिको सबैभन्दा कम लक्ष्य मानिएको छ । यसले भविष्यमा आर्थिक विस्तार केही सुस्त हुन सक्ने संकेत पनि दिएको छ ।
उपभोग बढाउने योजना
चीनले घरेलु उपभोग बढाउने योजना घोषणा गरे पनि त्यसका ठोस विवरण भने अझै सार्वजनिक गरिएको छैन । लामो समयदेखि अर्थशास्त्रीहरूले चीनलाई निर्यातमा निर्भरता घटाएर घरेलु उपभोग बढाउन सुझाव दिँदै आएका छन् ।
तर चीनका नागरिकहरू परम्परागत रूपमा बचत गर्ने प्रवृत्ति बढी भएकाले खर्च बढाउन उनीहरू उत्साहित नदेखिएको पाइएको छ । घरजग्गाको मूल्य घट्नु र युवामा बेरोजगारी बढ्नुले पनि खर्च गर्ने मनोवृत्तिमा असर परेको छ ।
सरकारले बाल हेरचाह र ज्येष्ठ नागरिक हेरचाह सेवामा खर्च बढाउने योजना बनाएको छ । ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिकका लागि न्यूनतम पेन्सन भने मासिक करिब तीन डलरले मात्र बढाइएको छ, जसलाई चिनियाँ सामाजिक सञ्जालमा निकै कम वृद्धि भन्दै आलोचना गरिएको छ ।
विश्लेषकहरूका अनुसार चीनले प्रविधि र नवप्रवर्तनमा ठूलो लगानी गरे पनि अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि नागरिकले खर्च गर्ने विश्वास बढाउनु आवश्यक देखिएको छ ।
प्रतिक्रिया 4