News Summary
Generated by OK AI. Editorially reviewed.- सुर्खेतकी १६ वर्षिया किशोरी इनिशा विकको हत्या प्रकरणमा सर्वसाधारणदेखि सेलिब्रेटीले दोषीलाई कार्वाहीको माग गरेका छन्।
- अभिनेत्री सुरक्षा पन्तले सामाजिक सञ्जालमा पुरुषहरूलाई प्रश्न गर्दै बलात्कार र हत्याजस्ता जघन्य अपराधको जड के हो भनेर सत्य बोल्न आग्रह गरेकी छन्।
- फिल्म, संगीत, टिभी र ब्युटी पेजेन्टका सेलिब्रेटीले इनिशा विकको हत्या प्रकरणमा दुःख व्यक्त गर्दै दोषीलाई कार्वाही गर्नुपर्ने बताएका छन्।
काठमाडौं । सुर्खेतकी १६ वर्षिया किशोरी इनिशा विकको मृत्यु प्रकरणपछि सर्वसाधारणदेखि सेलिब्रेटीले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाइरहेका छन् । दोषीलाई कार्वाहीको दायरामा ल्याउन उनीहरूको माग छ ।
यस्तोमा, यही सन्दर्भबारे अभिनेत्री सुरक्षा पन्तले गरेको सामाजिक सञ्जाल पोस्ट अहिले भाइरल छ । उनले बलात्कार र हत्याजस्ता जघन्य अपराधको जड के हो, सत्य बोल्नुहोला भन्दै पुरुषहरूलाई प्रश्न गरेकी छन् ।
उनी लेख्छिन्, ‘प्रिय पुरुष पात्र, केवल एक प्रश्नको उत्तर दिनुभए आभारी हुने थिएँ । बलात्कार-हत्याको यस्तो जघन्य अपराधको जड के हो ? सत्य बोल्नुहोला । यद्यपि, उत्तर छोरीहरूलाई थाहा नभएको चाहिँ होइन । तरपनि हाम्रो उकुसमुकुसलाई सम्बोधन गर्न हजुरहरूको पनि धर्म हुनुपर्ने हो । माया अमर रहोस् ।’
यो टिप्पणीको पुछारमा उनले मौन, बलात्कारमुक्त, समाज शब्दको नेपाली ह्यासट्याग प्रयोग गरेकी छन् । अभिनेत्री पन्त सामाजिक सन्दर्भमा बेलाबखत आफ्ना धारणा राखिरहन्छिन् ।
इनिशा विकको हत्या प्रकरणमा फिल्म, संगीत, टिभी, कन्टेन्ट क्रिएटरदेखि ब्युटी पेजेन्टका सेलिब्रेटीले धारणा राखिरहेका छन् । उनीहरूले हत्याप्रति दुःख जनाउँदै दोषीलाई कार्वाहीको माग राखेका छन् ।
प्रतिक्रिया 4