News Summary
Generated by OK AI. Editorially reviewed.- नेटफ्लिक्सले सबैभन्दा धेरै हेरिएको फिल्म ‘के-पप डेमन हन्टर्स’ को सिक्वेल बनाउने घोषणा गरेको छ।
- फिल्म ‘के-पप डेमन हन्टर्स’ले अस्क अवार्डमा उत्कृष्ट एनिमेटेड फिल्म र मौलिक गीतका लागि मनोनयन पाएको छ।
- ‘गोल्डेन’ गीतले ग्रामी अवार्डमा ‘दृश्य माध्यमका लागि लेखिएको उत्कृष्ट गीत’ पुरस्कार जितिसकेको छ।
बीबीसी । नेटफ्लिक्सले प्लेटफर्ममा अहिलेसम्म सबैभन्दा धेरै हेरिएको फिल्म ‘के-पप डेमन हन्टर्स’ को सिक्वेल बनाउने घोषणा गरेको छ ।
यस सिक्वेल कहिले रिलिज हुनेछ भन्ने मिति भने अझै तय गरिएको छैन । सह-निर्देशक म्यागी काङ र क्रिस एपेलहन्सले नेटफ्लिक्ससँग गरेको नयाँ बहुवर्षीय विशेष सम्झौताअन्तर्गत बन्ने यो पहिलो प्रोजेक्ट हुनेछ ।
यसैबीच, समीक्षकले यस फिल्मले नेपाली समयानुसार सोमबार हुने अस्क अवार्डमा सफलता हात पार्ने अनुमान गरेका छन् । उक्त फिल्म उत्कृष्ट एनिमेटेड फिल्म र उत्कृष्ट मौलिक गीत गरी दुई विधामा मनोनयनमा परेको छ ।
फिल्मको गीत ‘गोल्डेन’ले ग्रामी अवार्डमा ‘दृश्य माध्यमका लागि लेखिएको उत्कृष्ट गीत’ विधामा पुरस्कार जितिसकेको छ । प्रतिष्ठित ग्रामी अवार्डमा कुनै के-पप गीतले पहिलोपटक यस्तो सम्मान पाएको हो ।
मूल फिल्मको कथा के-पप समूह ‘हुन्ट्र/एक्स’का मुख्य पात्र रुमी, मिरा र जोई वरिपरि घुम्छ । उनीहरू एकातिर प्रसिद्धि र चर्चासँग जुधिरहेका हुन्छन् भने अर्कोतिर गुप्त रूपमा राक्षस सिकार गर्ने आफ्नो जीवन पनि सम्हालिरहेका हुन्छन् ।
नेटफ्लिक्सले सामाजिक सञ्जालमार्फत पहिलोपटक गरेको घोषणामा निर्देशक म्यागी काङले भनिन्, ‘एक कोरियाली फिल्ममेकरका रूपमा दर्शकले यो कोरियाली कथा र पात्रलाई अझ धेरै हेर्न चाहेकोमा म अत्यन्त गर्व महसुस गर्छु ।’
उनले थपिन्, ‘हामीले निर्माण गरेको यो संसारमा अझ धेरै कुरा बाँकी छन् र म ती सबै दर्शकलाई देखाउन उत्साहित छु । यो त केवल सुरुआत मात्र हो ।’
गत महिना बीबीसीसँगको अन्तर्वार्तामा गायक एजाएले सिक्वेलमा केही नयाँ शैलीका संगीत समेट्ने आशा व्यक्त गरेकी छन् । उनले फिल्ममा रुमीको गायन आवाज दिएकी छन् र फिल्मको चर्चित गीत ‘गोल्डेन’ सहित अन्य गीत लेखनमा पनि सहभागी छिन् ।
एजाएले भनिन्, ‘उनीहरूले के सिर्जना गर्छन् भन्ने कुरामा भर पर्छ, तर आशा छ हामीले कोरियाको अझ धेरै पक्ष देखाउन सक्नेछौं । कोरियामा विभिन्न प्रकारका संगीत छन्, त्यसैले व्यक्तिगत रूपमा म त्यही देखाउन चाहन्छु ।’
उनका अनुसार एनिमेसन र त्यसका गीतहरूले पाएको प्रतिक्रिया अविश्वसनीय लागेको छ । ‘धेरै कुरा एकैपटक भइरहेका छन् । म सबै कुरा बुझ्ने प्रयास गरिरहेकी छु, तर त्यसलाई आत्मसात् गर्न निकै गाह्रो भइरहेको छ’ उनले भनिन्, ‘यो साँच्चै अविश्वसनीय छ ।’
‘गोल्डेन’ गीतका दक्षिण कोरियाली संगीत निर्माता झुनले पनि पहिलो फिल्मको सफलतालाई अघि बढाउने आशा व्यक्त गरेका छन् । बीबीसीसँग कुरा गर्दै उनले अनुवादकमार्फत भने, “पहिलो फिल्ममा हामीले ल्याएको उच्च ऊर्जा र उत्साहलाई निरन्तरता दिन चाहन्छु ।’
उनले फिल्मका दृश्यात्मक पक्षसँग संगीतको संयोजनले निकै ऊर्जा दिएको उल्लेख गर्दै सिक्वेलमा पनि त्यसलाई अझ विस्तार गर्ने अपेक्षा व्यक्त गरे । नेटफ्लिक्सले भने सिक्वेलबारे थप विवरण सार्वजनिक गरेको छैन । मूल फिल्मको निर्माण प्रारम्भिक प्रस्तावदेखि प्रदर्शनसम्म आइपुग्दा करिब सात वर्ष लागेको थियो ।
गत अक्टोबरमा निर्देशक म्यागी काङले बीबीसीसँग कुरा गर्दै यी पात्रहरू र उनीहरूको संसारलाई अझ धेरै विस्तार गर्न सकिने बताएकी थिइन् ।
“यी पात्र र संसारसँग अझ धेरै गर्न सकिने सम्भावना छ,” उनले भनेकी थिइन्, “जे भए पनि सिक्वेल त्यस्तो कथा हुनेछ, जुन वास्तवमै यसको योग्य हुनेछ र दर्शकले पनि हेर्न चाहनेछन् ।’ फेब्रुअरीमा ‘के-पप डेमन हन्टर्स’ का गीतकार मार्क सोनेनब्लिकले सिक्वेलको काम प्रक्रिया अघि बढिरहेको बताएका थिए ।
उनले भने, ‘गीत लेख्न गहिराइमा जानुअघि एउटा पूरा विकास प्रक्रिया हुनेछ । कथा जसरी अगाडि बढ्छ, संगीत पनि त्यसैअनुसार आउनेछ, र यदि हामी सबैका लागि फेरि यसमा काम गर्नु उपयुक्त ठानियो भने त्यो प्रक्रिया अघि बढ्नेछ ।’
गत गर्मीयामदेखि प्रदर्शनमा आएको ‘के-पप डेमन हन्टर्स’ सांस्कृतिक रूपमा ठूलो प्रभाव पार्ने फिल्म बनेको छ । के–पपसँग सम्बन्धित फिल्म पश्चिमी मुख्यधारका बजार, विशेषगरी अमेरिकामा, यसरी व्यापक रूपमा सफल हुनु दुर्लभ मानिन्छ ।
मुख्य रूपमा अंग्रेजी भाषामा बनेको भए पनि यो अमेरिकी निर्माणले दक्षिण कोरियाली पहिचान देखाउन एसियाली प्रतीक, परिकार र केही कोरियाली भाषा पनि समेटेको छ । ‘के–पप डेमन हन्टर्स’ समीक्षक र पुरस्कार दुवै दृष्टिले निकै सफल बनेको छ । यसले गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट एनिमेटेड चलचित्र र उत्कृष्ट मौलिक गीतको पुरस्कार जितिसकेको छ ।
अहिले यो फिल्म अस्कर अवार्डमा उत्कृष्ट एनिमेटेड फिल्मको प्रतिस्पर्धामा पनि रहेको छ, जहाँ डिज्नीका ‘जुटोपिया २’ र ‘एलियो’ जस्ता फिल्मसँग प्रतिस्पर्धा गर्दैछ । गत जनवरीमा नेटफ्लिक्सले ‘के–पप डेमन हन्टर्स’ले आफ्नो प्लेटफर्ममा कीर्तिमान बनाएको जनाएको थियो । करिब ६ महिनामा यो फिल्म ४८ करोडभन्दा बढी पटक हेरिएको बताइएको छ ।
फिल्मको सबैभन्दा चर्चित गीत ‘गोल्डेन’ बिलबोर्ड हट १०० चार्टमा पहिलो स्थानसम्म पुगेको थियो ।
प्रतिक्रिया 4