News Summary
Generated by OK AI. Editorially reviewed.- चौथो संस्करणको एसपिए कैलाली प्राइड लिगमा घोडाघोडी र बुढीगंगा नगरपालिकाले शुक्रबार जित हासिल गरेका छन्।
- भीमदत्त नगरपालिकाले घोडाघोडीसँग ३ रनले हार व्यहोरेको छ भने परशुराम नगरपालिकाले बुढीगंगासँग ३७ रनले पराजित भएको छ।
- प्रतियोगिता चैत्र ५ गतेसम्म सञ्चालन हुनेछ र विजेताले नगद ३ लाख र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख पाउनेछ।
२९ फागुन, धनगढी । बाजुराको बुढीगंगा नगरपालिका र कैलालीको घोडाघोडी नगरपालिका धनगढीको फाप्ला खेल मैदानमा जारी चौथो संस्करणको अन्तरपालिका स्तरीय एसपिए कैलाली प्राइड लिगमा शुक्रबार जित हासिल गरेका छन् ।
शुक्रबारको पहिलो खेलमा घोडाघोडी नगरपालिकाले भीमदत्त नगरपालिकालाई ३ रनले पराजित गर्दै सुखद सुरुवात गरेको छ । उद्घाटन खेलमा पुनर्वास नगरपालिका ए लाई ३६ रनले पराजित गरेको भिमदत्तको यो पहिलो हार हो ।
घोडाघोडी नगरपालिकाले दिएको १३७ रनको लक्ष्य पछ्याएको भीमदत्त नगरपालिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मात्र १३३ रन बनाउन सक्यो । भिमदत्तका लागि अरुण ऐरीले अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त भएन । ऐरी अर्धशतक पूरा गर्ने बित्तिकै रनआउट भए । राहुल चन्दले ४७ रन बनाउँदा अन्य ब्याटरले उल्लेखनीय प्रर्दशन गर्न सकेनन् । घोडाघोडीका लागि आयुष द्वारिया,रुद्र राज आचार्य,हरिष बस्नेत र रुपेश थापाले समान एक-एक विकेट लिए ।
यसअघि फाप्ला खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको घोडाघोडीले १९.१ ओभरमा अलआउट हुँदै १३६ रन बनाएको थियो । कप्तान टेक रावतले सर्वाधिक ३३ रन बनाए भने नवयुग बस्नेतले २५ तथा आयुष द्वारिया र दिनेश रावतले समान १८ रनको योगदान दिए ।
भीमदत्त नगरपालिकाका लागि लोकेन्द्र चन्द एक्लैले ५ विकेट चट्काए । चन्द खेलको प्लेअर अफ दी म्याच चुनिए । मिलन बोहराले २ तथा अरुण ऐरी र बिरेन्द्र बमले समान एक विकेट लिए ।
शुक्रबारको दोश्रो खेलमा बाजुराको बुढीगंगा नगरपालिकाको टिमले परशुराम नगरपालिकालाई ३७ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । पहिलो खेलमा गोदावरी नगरपालिकालाई ४ विकेटले पराजित गरेको परशुरामको यो पहिलो हार हो ।
बुढीगंगा नगरपालिकाले दिएको १४३ रनको लक्ष्य पछ्याएको परशुराम १७.५ ओभरमा १०५ रनमै अलआउट भयो । परशुराम नगरपालिकाका लागि किरन धामीले २२ तथा महेन्द्र धामीले २१ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेखनिय प्रर्दशन गर्न सकेनन् । बुढीगंगा नगरपालिकाका लागि सुबोध ऐर एक्लैले ३ विकेट लिए । नागराज सिंह र सौर्य श्रेष्ठले समान दुई विकेट लिए भने दिपक रोकाया र मदन शाहले समान एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बुढीगंगा नगरपालिकाका लागि दिनेश वडले ४३ बल खेल्दै ७ चौका र २ छक्का मदतमा ५४ रन बनाए । सुबोध ऐरले २३ रन बनाउँदा दिपक रोकायाले १६ रनको योगदान दिए । सुबोध ऐर खेलको म्यान अफ दी म्याच चुनिए ।
परशुराम नगरपालिकाका लागि महेन्द्र धामीले ३ तथा कप्तान अर्जुन बिक, राज बिक र किरन धामीले समान एक विकेट लिए ।
जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सुरु भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका १२ स्थानिय तहका टोलीहरु सहभागी छन ।
चैत्र ५ गतेसम्म सञ्चालन हुने प्रतियोगीताको विजेताले नगद ३ लाख र आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख प्राप्त गर्नेछ ।
तप्रतियोगीताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याटरले १५ हजार र उदियमान खेलाडीले १० हजार पाउनेछ ।
प्रतिक्रिया 4