News Summary
Generated by OK AI. Editorially reviewed.- इरानका विदेशमन्त्री अब्बास अरघचीले स्ट्रेट अफ होर्मुज पूर्णरुपमा बन्द नभएको र अमेरिका तथा इजरायलका जहाजलाई मात्र रोक लगाइएको बताएका छन्।
- इरानका विदेशमन्त्री अरघचीले सुरक्षा कारणले धेरै जहाजहरूले स्ट्रेट अफ होर्मुज प्रयोग नगरेको र केही जहाजहरू आवतजावत गरिरहेको बताए।
- इन्धन ढुवानीमा अवरोध गरेको आरोपमा अमेरिकाले इरानको खार्ग द्वीपमा आक्रमण गरेको र इन्धन आपूर्ति जारी राख्न अरु विभिन्न देशले युद्धपोत पठाउन सक्ने बताएका छन्।
१ चैत, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अरघचीले विश्वभर पेट्रोलियम पदार्थ ढुवानीको एक प्रमुख समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ पूर्णरुपमा बन्द नभएको बताएका छन् ।
उनका अनुसार ओमानको खाडी र फारसको खाडीको बीचमा पर्ने यो समुद्री मार्ग अमेरिका र इजरायलका लागि जहाजका लागि मात्र बन्द गरिएको हो । अमेरिका र इजरायल बाहेक अन्य देशका जहाजलाई पनि आउ–जाउ गर्न दिइएको उनको भनाइ छ ।
एक अन्तर्वार्तामा इरानका विदेशमन्त्री अरघचीले यो जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘स्ट्रेट अफ होर्मुज खुला छ । तर जुन देशले इरानमाथि हमला गरिरहेका छन् वा इरानका दुश्मन हुन्, ती देशका जहाजलाई रोक लगाइने छ । बाँकी देशका जहाज सामान्य रुपमा आउजाउ गर्न सक्नेछन् ।’
उनले यस्तो भने पनि स्ट्रेट अफ होर्मुजको अवस्था अलि फरक छ । मिडिया रिपोर्टस्का अनुसार आक्रमणको डरले सयौं जहाज रोकिएका छन् । जसका कारण विश्वभर इन्धन आपूर्ति प्रभावित भएको छ । कतिपयले सुरक्षाको कारण सो बाटो प्रयोग गर्न मानेका छैनन् ।
इरानी विदेशमन्त्री अरघचीले पनि सुरक्षा कारणले धेरै जहाजहरूले उक्त मार्ग प्रयोग गर्न नचाहेको बताएका छन् । उनका अनुसार यो निर्णय जहाज सञ्चालन गर्ने कम्पनीहरूको हो र यसको प्रत्यक्ष सम्बन्ध इरानसँग छैन । उनले अझै पनि केही तेल ट्यांकर र जहाजहरू होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गरिरहेको बताए । भारतको विदेश मन्त्रालयका प्रवक्ताले पनि तेल ग्यास बोकेका दुईवटा जहाज भारततर्फ आइरहेको जानकारी दिएका छन् ।
इन्धन ढुवानीमा अवरोध गरेको भन्दै अमेरिकाले इरानको महत्वपूर्ण तेल भण्डार क्षेत्र खार्ग द्वीपमा आक्रमण गरेको छ । खार्ग द्वीप मध्यपूर्वकै ठूलो तेल भण्डारण क्षेत्रको रुपमा परिचित छ । खार्ग द्वीपमा आक्रमण भएलगत्तै युएईको फुजायरा बन्दरगाहमा ड्रोन आक्रमण गरेको छ ।
स्ट्रेट अफ होर्मुज विश्वकै महत्वपूर्ण समुद्री मार्गमध्ये एक हो । यो इरान र ओमानको बीचमा पर्छ । यसको सबैभन्दा साँघुरो भाग करिब ३३ किलोमिटर चौडा छ । तर जहाज चल्न मिल्ने भाग ११ किलोमिटर मात्रै छ । विश्वमा दैनिक आपूर्ति हुने करिब २० प्रतिशत तेल यही मार्ग हुँदै ढुवानी हुने भएकाले यो मार्ग बन्द हुँदा विश्वभर तेल बजार र अर्थतन्त्रमा असर पर्दछ ।
यसैबीच अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पले समुद्री मार्ग खुला राख्नका लागि विभिन्न देशहरूले आफ्ना युद्धपोत पठाउन सक्ने बताएका छन् । उनले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायत जस्ता देशहरूले पनि जहाज पठाएर व्यापार र ऊर्जा आपूर्ति निरन्तर राख्न सहयोग गर्ने अपेक्षा व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4