News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद बन्नेहरुको सूची निर्वाचन आयोगमा आज बुझाउने तयारी गरेको छ।
- रास्वपाका प्रवक्ता मनिष झाले सरकार गठनमा १० दिन जति लाग्न सक्ने जानकारी दिनुभयो।
- समानुपातिक उम्मेदवारहरुको नामावली टुंगो लगाउन रास्वपाको बैठक बस्ने र संसद सचिवालय तथा निर्वाचन आयोगले आवश्यक तयारी गर्न बाँकी रहेको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीबाट समानुपातिक सांसद बन्नेहरुको सूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ । सरकार गठन गर्न भने १० दिन जति लाग्न सक्ने रास्वपाले जनाएको छ ।
केन्द्रीय कार्यालयमा आज बिहान पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै रास्वपा प्रवक्ता मनिष झाले सो जानकारी दिएका हुन् ।
समानुपातिक सांसदहरुको सूची टुंगो लगाउन र अन्य विविध विषयमा छलफल गर्न रास्वपाको बैठक बस्दै छ । बैठकअघि पत्रकारहरुसँग कुरा गर्दै झाले भने, ‘हाम्रो पहिलो प्राथमिकता समानुपातिक उम्मेदवारहरुको नामावली बुझाउने भएकाले आज हामी त्यो टुंग्याउँछौं ।’
सरकार गठनको विषयमा सोधिएको जिज्ञासामा उनले केही व्यवहारिक र संवैधानिक प्रक्रियाहरु बाँकी नै रहेकाले नयाँ सरकार बन्न १० दिन जति लाग्न सक्ने बताए ।
उनले भने, ‘यसमा सबै कुरा हामीले चाहे अनुसार हुँदैन । संसद सचिवालयले आफ्नो आवश्यक तयारी गर्नुपर्ने हुन्छ, निर्वाचन आयोगले निर्वाचन प्रक्रियाको अन्तिम विवरण राष्ट्रपति कार्यालयमा बुझाउन नै बाँकी छ । बुझाइसकेपश्चात सामानुपातिक उम्मेदवारहरुलाई प्रमाणपत्र उपलब्ध गराउन बाँकी नै छ । यो कुराहरु सबै भएको हुनाले र फरक फरक साझेदारहरुको जिम्मेवारी अन्तर्गत पर्ने हुनाले म रास्वपाको प्रवक्ताले नै सबैको जिम्मेवारीको कुराहरु र उहाँहरुले कति समय लगाउन सक्नुहुन्छ भन्ने कुरा मैले यहीँ एकिन गरेर भन्न सक्दिनँ । हामी अन्दाज एउटा गर्न सक्छौं कि अझै १० दिन जस्तो लाग्ला भनेर ।
प्रतिक्रिया 4