+
+
Shares

मस्कोको पर्यटन मञ्चमा नेपाल प्रवर्द्धन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्डले मस्कोमा आयोजित एमआईटीटी २०२६ मा हिमालयन साहसिक पर्यटन, पदयात्रा, धार्मिक पर्यटन र सांस्कृतिक विविधता प्रस्तुत गरेको छ।
  • एमआईटीटी २०२६ मा ३० भन्दा बढी देशका पर्यटन व्यवसायी सहभागी थिए र करिब १६ हजार आगन्तुकले अवलोकन गरेको अनुमान गरिएको छ।
  • नेपाल र रूसबीच ७० वर्षको कूटनीतिक सम्बन्धको सन्दर्भमा पर्यटन सहकार्य विस्तार गर्न एमआईटीटी २०२६ महत्वपूर्ण भएको बोर्डले जनाएको छ।

१ चैत, काठमाडौं । नेपाल पर्यटन बोर्डले रूसको राजधानी मस्कोमा आयोजना गरेको प्रतिष्ठित पर्यटन मेला मस्को इन्टरनेसनल ट्राभल एन्ड टुरिजम् एक्जिविसन (एमआईटीटी) २०२६ मा नेपालको विविध पर्यटन सम्भावनालाई विश्वसामु प्रस्तुत गरिएको छ । मस्कोस्थित क्रोकस एक्स्पो सेन्टरमा मार्च ११ देखि १३ सम्म ३२ औँ संस्करणका रूपमा आयोजित एमआईटीटी–२०२६ मा ३० भन्दा बढी देशका पर्यटन गन्तव्य, सेवा प्रदायक र पर्यटन व्यवसायी सहभागी थिए ।

तीन दिनसम्म सञ्चालन भएको मेलामा करिब १६ हजारभन्दा बढी आगन्तुकले अवलोकन गरेको अनुमान गरिएको छ । यस प्रदर्शनीमा नेपाल पर्यटन बोर्डले निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालको पर्यटन अनुभवलाई समग्र रूपमा प्रस्तुत गरेको बोर्डका वरिष्ठ अधिकृत कविन्द्र भट्टले जानकारी दिए । उनका अनुसार सात निजी क्षेत्रका ट्राभल तथा टुर कम्पनीसहित सहभागी भएको बोर्ड नेतृत्वको टोलीले हिमालयन साहसिक पर्यटन, पदयात्रा, पर्वतारोहण, बौद्ध तथा हिन्दु धार्मिक पर्यटन, प्रकृति–आधारित अनुभव र सांस्कृतिक विविधतालाई प्रस्तुत गरेको छ ।

प्रदर्शनीमा राखिएको नेपाल पभेलियनमा नेपालबारे जानकारी लिन आउने आगन्तुकलाई हिमालयको अनुपम सौन्दर्य, लुम्बिनीको आध्यात्मिक शान्ति, साहसिक पदयात्रा मार्गहरू तथा नेपाली संस्कृतिको विविधताबारे विस्तृत जानकारी दिइएको थियो । नेपालको प्रतिनिधिमण्डलको नेतृत्व नेपाल पर्यटन बोर्डका कार्यसमिति सदस्य तथा अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले गरेका थिए । प्रतिनिधिमण्डलमा बोर्डका वरिष्ठ निर्देशक सन्तोष पन्त र वरिष्ठ अधिकृत भट्ट सहभागी थिए ।

मेलाको अवसरमा रूसी तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरूसँग छलफल तथा अन्तरक्रियाका क्रममा प्रतिनिधिमण्डलले नेपाललाई सुरक्षित, विविधतायुक्त र अविस्मरणीय पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गरेको थियो । प्रतिनिधिमण्डलका प्रमुख तिवारीले एमआईटीटी जस्ता अन्तर्राष्ट्रिय पर्यटन मेलाहरू नेपालको पर्यटन प्रवर्द्धनका लागि अत्यन्त महत्वपूर्ण भएको बताए । उनले भने, ‘रूसजस्तो ठूलो पर्यटन बजारमा नेपालका सम्भावनाहरू प्रस्तुत गर्ने अवसर मिल्यो। रूसी पर्यटक साहसिक यात्रा, हिमाली पदयात्रा र सांस्कृतिक अनुभवप्रति निकै आकर्षित हुन्छन्, जसले नेपालका लागि ठूलो सम्भावना देखाउँछ ।’

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक पन्तले रूसी बजारलाई नेपालको उदीयमान पर्यटन बजारका रूपमा उल्लेख गर्दै भने, ‘नेपाल प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा र आध्यात्मिक अनुभवले भरिएको गन्तव्य हो । रूसी पर्यटकहरू नयाँ र अनौठो गन्तव्यको खोजीमा रहने भएकाले नेपालको पर्यटन अनुभव उनीहरूका लागि अत्यन्त आकर्षक हुन सक्छ ।’ यस प्रदर्शनीमा निजी क्षेत्रका पर्यटन व्यवसायीहरूले एमआईटीटी–२०२६ रूसी बजारसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने प्रभावकारी अवसर बनेको प्रतिक्रिया दिएका छन् ।

यसैबीच रूसस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत महेश्‍वरमणी त्रिपाठीले नेपाली पभेलियनको अवलोकन गर्दै कार्यक्रमलाई सफल बनाउन सहजीकरण गर्नुका साथै नेपाल र रूसबीचको पर्यटन सहकार्यलाई अझ विस्तार गर्न यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरू महत्त्वपूर्ण हुने बताए ।

यस वर्ष नेपाल र रूसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदैछ । यही ऐतिहासिक सन्दर्भमा एमआईटीटी–२०२६ नेपालको सहभागिताले दुई देशबीच पर्यटन सहकार्यलाई अझ मजबुत बनाउने बोर्डका वरिष्ठ अधिकृतले बताएका छन् । उनले थपे, ‘मस्कोमा सम्पन्न एमआईटीटी–२०२६ नेपालको सहभागिताले रूसी पर्यटन बजारमा नेपालको उपस्थितिलाई अझ मजबुत बनाउने विश्वास हामीले लिएका छौं ।’

आगामी दिनमा पनि यस्ता अन्तर्राष्ट्रिय मञ्चमार्फत नेपालको पर्यटन सम्भावनालाई विश्वभर प्रवद्र्धन गर्दै लैजाने बोर्डको रणनीति, योजना र कार्यक्रमहरु रहेको उनले बताए । पर्यटन तथ्यांक अनुसार सन् २०२५ मा नेपाल भ्रमण गर्ने रूसी पर्यटकको संख्या १५ हजारभन्दा बढी पुगेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?