News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड फिल्म ‘धुरन्धर : द रिभेन्ज’ बिहीबारदेखि नेपालसहित विश्वभर प्रदर्शनमा आउँदैछ र नेपालमा ३२५ शोज पाएको छ।
- फिल्मले पहिलो दिनमै नेपालमा १ करोड रुपैयाँ हाराहारीमा ओपनिङ गर्ने र हिन्दी फिल्ममध्ये सबैभन्दा ठूलो ओपनिङ गर्ने लक्ष्य राखेको छ।
- निर्देशक आदित्य धरलाई ‘धुरन्धर ३’ विकास गर्न जियो स्टुडियोले आग्रह गरेको छ भने उनले अर्को पौराणिक एक्सन फिल्म बनाउन इच्छुक रहेको बताइएको छ।
काठमाडौं । बलिउड फिल्म ‘धुरन्धर : द रिभेन्ज’ बिहीबारदेखि नेपालसहित विश्वभर प्रदर्शनमा आउँदैछ । यो फिल्मले नेपाली बक्सअफिसमा समेत आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।
फिल्मले बिहीबारको लागि नेपालमा ३२५ शोज पाएको छ । प्रमुख सहरका मुख्य मल्टिप्लेक्सस्थित हलमा तीव्र गतिमा एड्भान्स टिकट बिक्री भैरहेको देखिएको छ ।
ट्रेन्ड हेर्दा फिल्मले पहिलो दिनमै १ करोड रुपैयाँ हाराहारीमा ओपनिङ गर्ने देखिन्छ । पछिल्लो १ महिनायता सुक्खा देखिएको नेपाली हलमा यो फिल्मले दर्शक फर्काउने स्पष्ट देखिन्छ ।
फिल्मले पाएको शोज संख्या र देखिएको एड्भान्स टिकट विक्रीको प्रवृत्तिले त्यो पुष्टि हुन्छ । आदित्य धर निर्देशित यो स्पाइ-एक्सन फिल्मको पहिलो भागले नेपालमा कम्तीमा १० करोड ग्रस कमाएको थियो ।
फिल्मले भारतसहित उत्तर अमेरिकामा अग्रिम टिकट बिक्रीमा कीर्तिमान रचेको छ । ‘धुरन्धर’ को अघिल्लो भागको २८ करोडको प्रिभ्यू सेल्सलाई यसले ३०.८४ करोड भारु कमाउँदै उछिनेको छ ।
महाराष्ट्र, एनसीआर, कर्नाटक, गुजरात र तेलंगाना क्षेत्रबाट ‘प्रिभ्यू शो’मा क्रमशः ८.१८ करोड, ६.३१ करोड, ५.३० करोड, ३.०६ करोड र २.२२ करोड भारुको कमाइ भएको छ ।
यससँगै ‘धुरन्धर २’ टिकट काउन्टरमा यस्तो उपलब्धि हासिल गर्ने पहिलो बलिउड फ्रेन्चाइज फिल्म बनेको छ । दैनिक नयाँ कीर्तिमान बनाउँदै गएको यो फिल्म अब हिन्दी फिल्ममध्ये सबैभन्दा ठूलो ओपनिङ गर्ने लक्ष्यतर्फ अघि बढिरहेको छ ।
रणवीर सिंहका साथै ‘धुरन्धर २’मा आर माधवन (अजय सान्याल), अर्जुन रामपाल (मेजर इकबाल), सञ्जय दत्त (एसपी चौधरी अस्लम), राकेश बेदी (जमिल जमाली), डेनिस पान्डोर (उजैर बलोच) र सारा अर्जुन (यालिना जमाली) लगायतका कलाकारहरू पनि आफ्ना भूमिकामा पुनः देखिएका छन् ।
‘धुरन्धर २’ले पहिलो दिन र पहिलो सप्ताहन्तमै सबैभन्दा ठूलो ओपनिङ गर्ने अनुमान भइरहेका बेला जियो स्टुडियोले निर्देशक आदित्य धरलाई ‘धुरन्धर ३’ विकास गर्न आग्रह गरेको छ ।
यो फिल्मलाई दीर्घकालीन सिनेम्याटिक युनिभर्सको रूपमा विस्तार गर्नेमा स्टुडियो निकै उत्साहित देखिएको छ । तर, यस प्रस्तावमा धर सहमत भएका छन् वा छैनन् भन्ने अझै स्पष्ट भइसकेको छैन ।
‘धुरन्धर ३’ बन्ने वा नबन्ने विषय अझै स्पष्ट नभए पनि निर्देशक आदित्य धर भने जियो स्टुडियोका लागि आफ्नो अर्को फिल्म निर्देशन गर्न प्रतिबद्ध छन् । ‘उरी : द सर्जिकल स्ट्राइक’का निर्देशक धरले स्टुडियोसँग विशेष ‘फर्स्ट-लुक’ सम्झौता गरेका छन्, जसअनुसार उनले यस ब्यानरका लागि विभिन्न परियोजना विकास र निर्माण गर्नेछन् ।
धरले आफ्नो अर्को फिल्म के हुने भन्ने अझै तय गरेका छैनन् । तर, उनी रणवीर सिंहसँग फेरि सहकार्य गर्दै ठूलो स्तरको पौराणिक एक्सन फिल्म बनाउन इच्छुक रहेको बताइएको छ । यस फिल्मको स्क्रिप्टमा काम भने उनले यसै वर्षको अन्त्यतिरबाट सुरु गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4