+
+
Shares
बलिउड :

धुरन्धर २ : भारतमा पहिलो सप्ताहन्त ४२६ करोड नेट, विश्वभर ७०० करोड

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते १२:२९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड फिल्म ‘धुरन्धर : द रिभेन्ज’ ले चार दिनको विस्तारित सप्ताहन्तमा हिन्दीमा मात्र ४०६.४१ करोड भारु नेट कमाएको छ।
  • फिल्मले विश्वभर ७०० करोड भारुभन्दा बढी कमाइसकेको छ र बलिउड इतिहासकै सबैभन्दा ठूलो ओपनिङ विकेन्ड बनाएको छ।
  • ‘धुरन्धर २’ ले हिन्दी सिनेमा इतिहासमै दुई दिन लगातार १०० करोडभन्दा बढी कमाउने पहिलो फिल्म बनेको छ।

मुम्बई । बलिउड फिल्म ‘धुरन्धर : द रिभेन्ज’ बक्सअफिसमा धमाकेदार रूपमा अघि बढिरहेको छ । साढे चार दिनको लामो सप्ताहन्तमा भारतीय हलले जुन दृश्य देखे, त्यो असाधारण थियो ।

आदित्य धर र रणवीर सिंहको यो एक्सन फिल्मले पुराना सबै रेकर्ड तोड्दै नयाँ कीर्तिमान बनाएको छ । यसले यति ठूलो कमाइ गरेको छ कि, जुन पहिले असम्भवजस्तै मानिन्थ्यो ।

‘धुरन्धर २’ ले चार दिनको विस्तारित सप्ताहन्त (पेड प्रिभ्यू सहित) मा हिन्दीमा मात्र ४०६.४१ करोड भारु नेट कमाइ गरेको छ भने भारतभर सबै भाषामा कुल ४२६.११ करोड रुपैयाँ नेट कमाएको छ ।

यससँगै यो बलिउड इतिहासकै सबैभन्दा ठूलो ओपनिङ विकेन्ड बन्न पुगेको छ । तमिल डब संस्करणले ६.७० करोड भारु कमायो भने तेलुगु संस्करणबाट १२.३८ करोड भारु आएको छ ।

मलयालम र कन्नड संस्करणले ५० लाख भारु पनि पार गर्न सकेनन् । विश्वभर भने फिल्मले ७०० करोड भारुभन्दा बढी कमाइसकेको छ । यसले बलिउड फिल्ममध्ये सबैभन्दा ठूलो ओपनिङ विकेन्ड बनाएको छ भने भारतीय फिल्ममध्ये दोस्रो स्थानमा पुगेको छ । पहिलो स्थानमा भने ‘पुष्पा २ः द रुल’ छ ।

रिलिज भएको ४ दिनमै यो फिल्म यस वर्षकै सबैभन्दा ठूलो ब्लकबस्टर बनेको छ । यसअघि जनवरीमा सनी देओलको ‘बोर्डर २’ ले करिब ३२९ करोड भारु कमाएको थियो, जसलाई ‘धुरन्धर २’ ले उछिनेको छ । साथै, यो फिल्म ईदको अवसरमा रिलिज भएका फिल्ममध्ये सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । यसअघि यो रेकर्ड सलमान खानको सन् २०१५ को फिल्म ‘बजरंगी भाइजान’ (३२०.३४ करोड भारु) सँग थियो ।

यसका साथै, ‘धुरन्धर २’ मार्च महिनामा रिलिज भएको सबैभन्दा ठूलो बलिउड ब्लकबस्टर पनि बनेको छ । भारतीय फिल्ममध्ये मार्च महिनाको सबैभन्दा ठूलो रेकर्ड भने एसएस राजामौलीको ‘आरआरआर’ (७८२.२० करोड भारु) सँग छ, जसलाई ‘धुरन्धर २’ ले आगामी दिनमा सजिलै उछिन्ने अनुमान गरिएको छ ।

प्रिमियरदेखि नै ‘धुरन्धर २’ ले नयाँ रेकर्ड बनाउन थालेको थियो । मार्च १८ मा पेड प्रिमियरबाट मात्रै फिल्मले ४४ करोड भारु नेट कमायो, जुन अघिल्लो रेकर्ड ‘दे कर्ल हिम ओजी’ (२१ करोड रुपैयाँ) भन्दा दोब्बरभन्दा बढी हो । त्यसपछि बिहीबार पूर्ण रिलिजको पहिलो दिनमै हिन्दी संस्करणले ८०.५२ करोड भारु कमाउँदै सबैभन्दा ठूलो ओपनिङ डे रेकर्ड बनायो । शुक्रबार दोस्रो दिन पनि ७४.८१ करोड भारु नेट कमाउँदै नयाँ रेकर्ड कायम गर्‍यो ।

तेस्रो दिन शनिबार भने बक्स अफिसमा अहिलेसम्म नदेखिएको अवस्था देखियो । ‘धुरन्धर २’ ले हिन्दीमा मात्रै १०३.८७ करोड भारु नेट कमाउँदै एकै दिन १०० करोड पार गर्ने पहिलो बलिउड फिल्म बन्यो । त्यसको भोलिपल्ट आइतबार फेरि १०३.२१ करोड भारु कमाउँदै यही इतिहास दोहोर्‍यायो ।

हिन्दी सिनेमा इतिहासमै पहिलोपटक दुई दिन लगातार १०० करोडभन्दा बढी कमाइ भएको हो, जुन निकै असाधारण मानिन्छ । सप्ताहन्तको यो कमाइ पनि फिल्मको लक्ष्यको अगाडि सानो जस्तो देखिन्छ । रणवीर सिंह अभिनित यो फिल्मको गति अहिले पनि रोकिएको छैन र हप्ताभरि पनि यही लय जारी रहने अपेक्षा गरिएको छ ।

कामकाजी दिनमै करिब ५० करोड भारु कमाउने लक्ष्य राखिएको छ भने पहिलो सातामै हिन्दी संस्करणबाट करिब ६०० करोड भारु नेट कमाउने अनुमान गरिएको छ, जसले यसलाई सिने इतिहासमा अझ मजबुत बनाउने देखिन्छ ।

विदेशमा पनि उछाल

अनुमानअनुसार ‘धुरन्धर २’ ले अन्तर्राष्ट्रिय बजारबाट करिब २१ मिलियन अमेरिकी डलर (झण्डै १९९ करोड भारु) कमाएको छ । यससँगै फिल्मको विस्तारित ओपनिङ सप्ताहन्तमा विश्वभरको कुल कमाइ करिब ७०० करोड भारुभन्दा धेरै कमाइ पुगेको छ । हिन्दी फिल्मका लागि यो पनि अर्को ऐतिहासिक रेकर्ड मानिएको छ । वास्तविक तथ्यांक भने मंगलबार बिहान सार्वजनिक गरिने बताइएको छ ।

फिल्मले देखाएको प्रदर्शन हेर्दा यसको बक्स अफिस यात्रा लामो हुने देखिन्छ । विशेषगरी पहिलो सोमबार र त्यसपछिका कार्यदिनमा कस्तो प्रदर्शन गर्छ भन्ने कुरा महत्वपूर्ण हुनेछ । यदि अहिलेको जस्तै गति कायम रह्यो भने ‘धुरन्धर २’ ले चाँडै नै १००० करोड भारुको आँकडा पार गर्ने अनुमान गरिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?